0
शव फेला पर्नेक्रम बढ्दो
 ११ असार
 दाङमा बेवारिसे शव फेला पर्ने क्रम बढेको छ । केही महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा गरी पाँच शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । केही दिनअघि मात्रै लमहीको अजम्बरी सामुदायिक वनमा एक पुरुषको शव फेला परेपछि तुलसीपुर र लमही क्षेत्रमा पहिचान हुन नसकेको शवको सङ्ख्या ५ पुगेका छन् ।
पछिल्लो पटक फेला परेको शवको अहिलेसम्म सनाखत नभएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो । शव नजिकै भेटिएको झोलाभित्र कम्बल, लगाउने कपडा, दारीकाट्ने मेसिन, रेलको टिकट, बुटवलबाट लमहीसम्मको बसको टिकट फेला परेको तर टिकटमा नाम स्पष्ट नभएकाले पहिचान नभएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।
यसअघि लमही घोराही सडकखण्डको मसोटको जङ्गलमा एक महिलाको कङ्काल भेटिएको थियो । त्यसैगरी केही महिना पहिल्यै तुलसीपुर नगरपालिकास्थित महालक्ष्मी सामुदायिक वनमा पनि गुप्ताङ्ग काटेको अवस्थामा एक पुरुषको शव नग्न अवस्थामा फेला परेको थियो ।
त्यस्तै गएको वैशाख २१ गते पनि शीतलपुरस्थित बबई नदी छेउमा एक पुरुषको शव बालुवाले पुरेको अबस्थामा फेला परेको थियो भने केही दिनअघि तुलसीपुर नगरपालिका–९ को दोघरेमा पनि एक पुरुषको शव भेटिएको थियो । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले शव पहिचान हुन नसक्नु नै सबैभन्दा ठूलो चुनौतीको रुपमा देखा परेको भन्दै यसको कारण पत्ता लगाउन अध्ययन गरिरहेको बताउनुभयो ।

Post a Comment

 
Top