0
सुआहारले बदलेको जिन्दगी

प्रयास लिम्बू  ताप्लेजुङमा करिव तीन वर्ष अघिदेखि सञ्चालित एकीकृत पोषण कार्यक्रम (सुआहारा) ले ताप्लेजुङ नगरपालिकाकी एक महिलालाई व्यवसायी बनाएको छ । ताप्लेजुङ नगरपालिका ७ की तुलामाया गुरुङलाई व्यवसायी बनाएको हो ।
सुआहारा कार्यक्रमले सुनौला हजार दिने आमा (गर्भ रहेर बच्चा दुई वर्ष पुगुन्जेलसम्मको अवधि) का लागि वितरण गरेको पाँच वटा कुखुराको सहायताले गुरुङलाई व्यवसायी बनाएको हो । उनले कार्यक्रमबाट प्राप्त कुखुराबाट चल्ला उत्पादन गरी हाल व्यवसायिक रुपमा कुखुरा पालन सुरु गरेकी छन् । सुआहाराले उपलब्ध गराएको गिरीराज जातको पाँच वटा कुखुराबाट उनले चल्ला उत्पादन गराउँदै हिजोआज गिरीराज कुखुरा फर्म संचालन गरेकी छन् ।
सन् २०१२ बाट जिल्लामा आफ्नो क्रियाकलाप गर्दै आएको सुआहारा कार्यक्रमले सुरुमा गाँउका सुनौला हजार दिने आमा तथा महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई घरायसी खाद्यान्न उत्पादन सम्बन्धि तालिम प्रदान गरेको थियो । सुरुको तालिममै सहभागी भएकी तुलामायाले कुखुरा पाउने वित्तिकै स्थानीय जातको कुखुराभन्दा गिरीराज ठूलो र धेरै फाइदा दिने खालको पाएपछि व्यवसायिक सोच बनाएर कुखुरा पालन सुरु गरेको बताइन् ।
सुआहारा कार्यक्रमले पाँच दिने नमूना कृषक तथा छ दिने कुखुरा उत्पादन सम्बन्धी तालिम दिएपछि कुखुरा पालन गर्ने ज्ञान बढ्नुको साथै अझ व्यवस्थित कुखुरा पालन व्यवसाय गर्ने सोच आएको गुरुङले बताइन्  । हाल फर्मका कुखुराले दिएको अण्डा र मासु बिक्री गरेबापत खर्च कटाएर मासिक १० देखि १५ हजार रुपियाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ ।
यता तुलामायाको प्रगति देखेर समुदायका अन्य पनि प्रभावित भएका छन् । समुदायमा अन्य आमाहरुले पनि कुखुरा पाएको तर कुखुरापालन गर्ने तरिका नअपनाउँदा कतिपयका कुखुराहरु राम्रो नफस्टाएको पनि गुरुङले बताइन् । उनका अनुसार कुखुरालाई उचित दानापानी र उचित औषधी उपचारको जरुरत पर्छ । कुखुरामा लाग्ने रोगहरुको निदान गर्न रानीखेतको खोप लगाउन अनिवार्य हुने उनले बताइन् ।
पोथीले चल्ला कोरलेको सात दिन, ३० दिन र ४२ दिनमा रानीखेत विरुद्धको खोप दिने र हरेक महिना जुकाको औषधी खुवाएमा कुखुराको मृत्युदर कम हुने साथै छिटो फस्टाउने गरेको अनुभव उनले सुनाइन् । यस्तै कुखुराका साना चल्ला जोगाउनु उत्तिनै महत्वपूर्ण हुन्छ, उनले भनीन् ‘सानो चल्लालाई छुट्टै राखेर विषेश हेरचार गरिएन भने मर्ने सम्भावना प्रवल हुन्छ ।’ हिउँदमा भन्दा वर्खा सिजनमा कुखुरा जोगाउन मुश्किल पर्ने उनले बताइन् । प्रायः गिरीराज कुखुरामा सेतो सुली छेर्ने, रातो छेर्ने, खुट्टा नटेक्ने तथा झोक्राउने जस्ता समस्या देखिने गरेको पनि गुरुङले अनुभव सुनाइन् ।

Post a Comment

 
Top