ओली र राष्ट्रिय सरकार
राजेन्द्र गौतम
मुलुक यतिबेला गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनहरुका कारण उत्पन्न विनाश र संकटको सामना गरिरहको छ । हाम्रो नियति पार्टी राज्यसत्ता र त्यसको नेतृत्वलाई कम्जोर बनाएर हिंसाका पक्षधर बलियो हुने, अधिनायकवादले शीर उठाउने, मुलुक यथास्थितिको चक्रव्युरोमा र प्रतिगमनमा फस्ने, राष्ट्रिय एकता खलबलिने गरी जातीय– क्षेत्रीय अतिवादलाई प्रश्रय दिने र राष्ट्रिय अस्मिता कमजोर बनाउने नै बन्यो ।
वैचारिक, राजनैतिक स्पष्टता बिनाको नेतृत्वका कारण आफै प्रताडित हुँदै आएको हाम्रो इतिहास हो । यतिबेला मुलुकको विनाश र संकटको सामना गर्दै, भूकम्पबाट पिडितहरुको उद्वार, राहत, पुनर्निर्माण र पुनर्वास गर्न नयाँ संविधानको निर्माण गरी द्वन्द्वको व्यवस्थापन र शान्तिको स्थापना गर्ने, सिंगो समाजको लोकतान्त्रीकरण गर्ने, जातीय–क्षेत्रीय अहंकार र संकीर्णताको प्रभाव समाप्त पार्दै खलबलिएको सामाजिक सद्भावलाई पूर्ण व्यवस्थित गर्ने दायित्व हाम्रो काँधमा छ । त्यसको लागि दृढ इच्छा शक्ति भएको गतिशील र वैचारिक रुपले स्पष्ट नेतृत्वको आवश्यकता पर्दछ । आजको सन्दर्भमा सबैलाई मान्य हुने केपी शर्मा ओलीको नेतृत्व अब अपरिहार्य भएकोछ ,उनकै नेतृत्वमा राष्ट्रिय सरकारको निर्माण नै हो ।
आज राष्ट्रले खोजेको नेतृत्व भनेको राष्ट्रिय एकतालाई अझ बलियो बनाउने,साामाजिक सद्भावलाई अझ गाढा पार्ने र जनतालाई सुविधा र समृद्धिको अवसर उपलव्ध गराउने गरी निर्धारित समयमा संंविधान निर्माण गर्न, कमजोर बनेको राष्ट्रियतालाई सुदृढ गर्ने र समृद्घ नेपालको निर्माणमा महत्वपूर्ण जग बसाल्ने अभिभारा पूरा गर्ने काम अब ओलीजीको काधमा आएको छ । केपी शर्मा ओलीले समाज, पार्टी र राज्यसत्ताको क्रान्तिकारी रुपान्तरणलाई आफ्नो अविचलित लक्ष्य र लोकतान्त्रिक बाटोलाई संझौताहिन मान्यताका रुपमा विकसित गरेका छन । यस्तो निष्ठा, निरन्तरता र वैचारिक स्पष्टता नै उनको नेतृत्व क्षमताका आधार हुन् ।
२. राष्ट्रिय सरकारका आधार
पहिलो,
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका निरन्तर आएको पराकम्पनहरुका कारण नेपालले अकल्पनीय विपत्तिको सामना गरिरहेको अवस्था हो यो । ८ हजारभन्दा बढीको ज्यान गएको, १७ हजारभन्दा बढी घाइते र अङ्गभङ्ग भएको, सयौं वेपत्ताको अवस्था, ३० औं लाख नागरिक वेघरबार भएको अवस्था छ । राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, सैनिक मुख्यालय, राष्ट्र बैंक, वीर अस्पताल, त्रिभुवन विष्वविद्यालय, राष्ट्रिय मानव अधिकार आयोगलगायत राज्यका मुख्य र मुख्य संरचना ध्वस्त भएको अवस्था छ ।
हजारौं विद्यालय भवनहरु भत्किएका, लाखौं विद्यार्थीहरुको भविस्य जोखिममा परेको अवस्था छ । नेपालको पहिचानका रुपमा स्थापित र विश्व सम्पदामा सुचिकृत महत्वपुर्ण ऐतिहासिक–सांस्कृतिक धरोहरहरुको विनाशका कारण भौतिक र भावनात्मक रुपमा समेत अपूरणीय क्षति भएको अवस्था छ ।
यो परिस्थितिमा यसको व्यवस्थापन, पूनर्निर्माण र पुनर्वास गरी सशस्त्र द्वन्द र संक्रमणकाललाई व्यवस्थापन गर्दै शान्ति, स्थायित्व र समृद्घिको दिशामा अगाडि बढ्न एउटा पार्टी विशेष, व्यक्ति विशेषबाट सम्भव छैन । त्यसका निम्ति एउटा स्पष्ट वैचारिक सोच, दृढ सङ्कल्प र निर्णय शक्ति भएको नेताको नेतृत्त्वमा राष्ट्रिय सत्ताको अपरिहार्यता महसुस भएको अवस्था छ । त्यस कारण कत्ति पनि विलम्ब नगरी चुनौतिलाई सम्भावनामा, प्रतिकुलतालाई अनुकुलतामा, विध्वशंलाई सृजनामा र विनाशलार्ई नवनिर्माणमा बदल्ने सङ्कल्पका साथ अगाडि बढ्नुको विकल्प हामीसँग छैन। त्यसका लागि पनि राष्ट्रिय सरकार अपरिहार्य छ ।
दोस्रो,
निर्धारीत समयभित्रै लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्ने, यतिबेला नेपालका प्रमुख राजनीतिक दलहरुको मुख्य राजनीतिक कार्यभार भनेको नयाँ संविधान निर्माण गरी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र संक्रमणकाललाई समाप्त गर्ने नै हो । सबैले यस कामलाई उच्च प्राथमिकतामा राखेको अवस्था छ । यसलाई ठीक ढङ्गले कार्यान्वयन गर्न पनि राष्ट्रिय सरकार अपरीहार्य छ ।
तेस्रो
राष्ट्रिय हितको सुरक्षा गर्दै राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र स्वभिमानलाई सुदृढ गर्न पनि राष्ट्रिय सरकारको अपरीहार्यता छ ।
चौथो,
अविलम्ब स्थानीय निकायको निर्वाचन र लोकतन्त्रको विस्तार गर्न लामो समयदेखि जनप्रतिनिधिविहिन स्थानीय निकायहरुलाई क्रियाशील र जनउत्तरदायी बनाउन अविलम्ब स्थानीय निकायको निर्वाचन अपरीहार्य छ । त्यसका लागि पनि राष्ट्रिय सरकार अपरीहार्य छ ।
पाचौं,
नयाँ राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्र निर्माणको दिशा निर्धारण, विनाशका मुख्य क्षेत्रहरुको पहिचान र मुल आर्थिक नितिहरुको सम्बन्धमा राजनीतिक सहमति निर्माण गर्न पनि राष्ट्रिय सरकार अपरीहार्य रहेको अवस्था छ।
यतिबेला कसको नाममा के के आधारमा राष्ट्रिय सरकारको आवश्यकता छ भनेर अनावश्यक विवाद र झमेला गर्नु भन्दा तथ्य र आवश्यकताले हामीलाई एक ठाउँमा आएर चुनौतीको सामना गर्न र त्यसलाई अवसरमा बदल्न आवहान गरेकोअवस्था छ ।
संकटको यस घडीमा नेपाली जनतामा आपसी सहयोग, सद्भाव र एकताको अभूतपूर्व भावना विकसित गर्दै चुनौतिलाई सम्भावनामा, प्रतिकुलतालाई अनुकुलतामा, विध्वंसलाई सिर्जनामा र विनाशलाई नवनिर्माणमा बदल्ने संकल्पका साथ राष्ट्रिय सरकारको निर्माण गर्दै अगाडि बढौं ।
Post a Comment