यसरी बनेको थियो सिंहदरबार
पुरुषोत्तमशमशेर जबरा
श्री ३ चन्द्रशमशेरले प्रधानमन्त्री भएपछि स्व. श्री ३ वीरशमशेरको सेतो दरबार र लाल दरबारहरु खरिद गर्नका निमित्त आफुले भन्न नसकी डिल्लीशमशेर थापा र माहिला पण्डित काशीनाथ आचार्य दीक्षितहरुद्वारा भन्न पठाए । तेजशमशेरले आफ्नो लालदरबार विषयमा ‘महाराजमा चाहिए लागोस् टक्र्याउँछु तर मुमाज्यु (श्री ३ कान्छी बडामहारानी तोपकुमारी देवी) लाई कहाँ राखूँ ?’ भनी प्रश्न गरी पठाए ।गेहेन्द्रशमशेरले चाहिँ आफ्नो सेतो दरबार विषयमा ‘महाराजले मैले चाहेको मोल बक्सन सकिबक्सन्छ कि बक्सदैन पहिले सो बुझी आओ’ भनी दुवैजनालाई फिर्ता गरी पठाए । श्री ३ चन्द्रले सेतो दरबार र लाल दरबार लिने आँट गर्न सकेनन् ।
त्यसपछि जीतशमशरेको लाजिम्पाट दरबार (हाल शंकर होटल) र रुद्रशमशेरको चारबुर्जा दरबार (हाल निर्वाचन आयोग भवन) हरु जम्मा ६/६ लाख रुपैयाँ दिई खरिद गर्ने कुरा हुँदा यी दुवैजनाले महाराजमा चाहिए लागोस् जो निगाहा भनेकाले श्री ३ चन्द्रले उपरोक्त दुवै दरबारहरु खरिद गर्ने भए, तर इन्जिनियर कुमार नरसिंह राणा र इन्जिनियर कर्णेल किशोरनरसिंह राणाहरुले ‘महाराज ! यिनी सोझाहरुको किन चित्त दुखाइबक्सन्छ हुकुम भए वर्षदिनमै महाराज लायकको नयाँ दरबार तयार गर्दछौं ।’ भनेकाले उपरोक्त दरबारहरु खरिद नगरी सिंहदरबार निर्माण कार्य शुरु भयो ।
१९६० साल फागुनमा सिंहदरबार तैयार भयो, पुरश्चरण, कोटी होम, रुद्री इत्यादि अनेक कर्मकाण्ड गराइ श्री घ चन्द्रले आफ्नो पुरानो थापाथली दरबार सिंहमहल (हाल नेपाल राष्ट्र बैंकको थापाथली शाखा) बाट सिंहदरबार सरे । सिंहदरबार बन्न सुरु गर्नुअगावै श्री ३ चन्द्रले प्राइम मिनिष्टर बस्न लायकको ठीकैको दरबार बनाउनुपर्ला भनेका थिए तर पछि बनाउँदा बनाउँदै त्यो दरबार भयंकर ठूलो बन्यो ।
सिंहदरबार जे जत्रो बनेपनि त्यस समयमा श्री ३ चन्द्रको पचास लाख रुपैयाँभन्दा बढी खर्च सो दरबारको निर्माणमा लागेन भन्ने अनुमान तत्कालीन दोश्रा जनरलपछि फिल्ड मार्शल रुद्रशमशेरको अनुमान छ । कारण काठ काठमाडौ नजिक ‘छरिया’ को जंगल जुन जंगलमा स्व. श्री ३ जंगले वि.सं १९१७ तदनुसार सन् १९६० मा अनेक प्रकारका अहिंस्रक जनावरहरु र चराहरु त्यस जंगलमा छोडी गोकर्ण, नागार्जुन वन झैं रेखदेख गरी संरक्षण पुर्याइराखेका थिए सो वन साफ हुने गरी लकडी ओसारे ।
चन्द्रशमशेरको पैसा पर्यो भने खाली कीला काँटा, फलामे छड, फलामे सत्तरी, दलीन इत्यादि जुन भारतबाट खरिद गर्नुपर्दथ्यो र सो सामानको भन्सार पनि कत्ति पर्दैनथ्यो, तसर्थ श्री ३ चन्द्रले यस सिंहदरबार निर्माणार्थ पचास लाख रुपैयाँभन्दा बढी खर्च गरेका छैनन् ।
दरबार बनिसकेपछि एक दिन चन्द्रशमशेरले सो विशाल सिंहदरबारको निरीक्षण गर्दै जेठी बडामहारानी लोकभक्त लक्ष्मीदेवीसँग दरबारको कौसीमा पुगे । चन्द्रशमशेरले कौसीबाट ‘बागदरबार’ देखेकाले औल्याउँदै ‘ऊ बागदरबार’ भनी लोकभक्तलाई देखाए । लोकभक्त लक्ष्मीले ‘महाराज ! त्यो बागदरबार हो भने यो दरबारलाई सिंहदरबार भन्न कसो होला ?’ भनेर प्रश्न गरिन् । चन्द्रशमशेरले मुसुक्क हाँस्दै सो नयाँ दरबारको नाम ‘सिंहदरबार’ राखिदिए ।
Post a Comment