0

प्रचण्ड जति हुङ्कार गर्छन, त्यति खुंखार छैनन् !

Prachanda- डेरराज तमू
 – विश्व कम्युनिष्ट राजनीतिमा जब माओवादी क्रान्ति पुरानो भै सकेको ठानिन्दै थियो, नेपालमा भने एउटा कम्युनिष्टहरुको सानो समुह संसदीय राजनीतिलाई चटक्कै छोडेर शशस्त्र युद्धमा होमिने निर्णय गर्दै थिए l एउटा सानो झुण्डले शशस्त्र युद्ध गर्ने कुरा गर्दा तत्कालिन पार्टीहरुले र नेपाली जनताहरुले कति पनि पत्याएका थिएनन् तर भूमिगत भएर प्रचण्ड बाबुरामहरुले शशस्त्र युद्धको हुङ्कार गर्न छोडेनन् l नभन्दै १० वर्षको अन्तरालमा उनीहरुले त्यो शशस्त्र युद्ध मुलुक भर बिस्तार गरे l १७००० भन्दा बढीको ज्यान लिएर लगातार १० वर्ष शशस्त्र युद्ध गरेका पुर्व नेकपा मशालका महासचिव अन्तत संसदीय राजनीति गरि रहेका पार्टीहरुसंग युद्ध बिराम गरी १२ बुँधे सम्झौता मार्फत भूमिगत राजनीतिबाट खुल्ला राजनीतिमा पर्दापण भए l त्यसपछि लगत्तै सम्पन्न भएको संविधान सभाको निर्वाचनमा शशस्त्र युद्द भन्दा पहिले जिन्दगीमा एक पटक पनि संसद सम्म नभएका प्रचण्डको पार्टी नेकपा माओवादी सबै भन्दा ठुलो पार्टी बन्यो र उनि सिधै प्रधानमन्त्रि पनि भए l त्यो बेला सम्म प्रचण्डको हुङ्कार सुनेर यी मान्छे साँच्चै खुंखार रहेछन भन्ने मान्छेलाई लागेको थियो l
जब उनि खुल्ला राजनीतिमा प्रवेश गरे अनि उनि को हुन्, कस्ता छन्, कति क्षमता छ आदि सबै कुराहरु एक पछि अर्को गर्दै खुल्न थाल्यो l उनि एक पछि अर्को गर्दै अनुभव हिन नेताको रुपमा स्थापित हुन थाले l सबैलाई थाहा हुन थाल्यो कि प्रचण्ड गर्जन सक्ने तर गाँज्न नसक्ने बाघ हुन्, उनको हुङ्कार जति सुनिन्छ त्यति खुंखार छैनन् भन्ने घटना क्रमले प्रमाणित गर्दै लान थाल्यो l भारतमा घुम्न गएको सोझा नेपालीलाई कुनै ठगले अग्ला घरहरुको तला गन्न पैसा लाग्छ भनेछन l उनले पनि आफुलाई बाठो साबित गर्न १०० ताला गनी सकेको तर ५० तला मात्र गनेको भनेर त्यतिको मात्रै पैसा तिरेछन l
प्रचण्ड पनि १०० तला गनेर ५० तलाको पैसा मात्रै तिरें भनेर मख्ख पर्दै हुङ्कार छोड्ने नेताको रुपमा सबैले चिन्न थालेका छन् l पहिलो संविधान सभामा हस्ताक्षर गरेर दुइ तिहाई सभासदहरुले समर्थन गर्दा पनि आफ्नै पार्टीको मुद्धा स्थापित गरी संविधान जारी गर्न नसक्ने अनि दोश्रो संविधान सभाको घोषणा गरेर निकै चतुर भएँ भन्ने जस्तो ५० तले बठ्याईमा मख्ख परे l जब दोश्रो संविधान सभामा तेस्रो पार्टी बने अनि मात्रै थाहा भयो कि त्यो ५० तलाको पैसा पनि वास्तवमा तिर्नै नपर्ने पो रहेछ l तला गनेको पैसा नै नलाग्ने रहेछ l
एमाले, कांग्रेसका ठगहरुले उनलाई थाङ्ग्नामा सुताएका रहेछन l भूमिगत शशस्त्र युद्ध अवधि भरमा १० वर्ष सम्म प्राक्टिस गरेको पहिचान, संघियता, गणतन्त्र र धर्म निरपेक्षताको मुद्धा स्थापित गर्न उनलाई अहिले फलामको चिउरा चपाए भन्दा कठिन भै रहेको छ l आन्तरिम संविधानमा पहिचान र संघियताको मुद्धा स्थापित गर्न उनलाई मधेश आन्दोलन, जनजाति आन्दोलन, थारु आन्दोलनले सघाएर मात्रै त्यहा सम्म आई पुग्न नाक जोगायो l अन्तरिम संविधान सम्म त नाक जोगियो तर नया संविधानमा ति मुद्धाहरु स्थापित गर्न सकिन्न भन्ने उनलाई लागी सकेको कुरा भर्खरै ४ पार्टीको बीच १६ बुँधे सम्झौता गर्नुले प्रष्ट हुन्छ l भर्खरै मात्रै संविधान मर्स्यौदा उपसमितिले संविधान सभा सचिवालयमा दर्ता गरेको संविधानको मर्स्यौदामा अपरिवर्तनीय प्रावधान र परिवर्तनशील प्रावधान राखिएको छ l अपरिवर्तनीय प्रावधानहरुमा राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र जनतामा निहित सार्वभौम सत्तालाई समेटिएको छ जुन २०४७ को संविधानमा पनि थियो भने शान्तिपूर्ण जनादेशको आधारमा परिवर्तनशील प्रावधानको रुपमा संघियता, गणतन्त्र र धर्म निरपेक्षतालाई राखिएको छ l परिवर्तनशील प्रावधानहरु व्यबश्थापिका संसदको २/३ तिहाई बहुमत द्वारा छिनो फानो गर्ने भनिएको छ l अहिले कै संविधान सभा नया संविधान जारी भए पश्चात व्यबश्थापिका संसदमा परिणत हुने अन्तरिम संविधानमा ब्यबश्था छ l बर्तमान संविधान सभामा कांग्रेस र एमाले मिले पछि सजिलै २/३ बहुमत पुग्दछ l
अन्तरिम सविधानको प्रस्तावनामा संविधानका सबै ब्यबश्थाहरु सहमतिय प्रणाली अनुसार टुंगो लगाईने छ भनिएको छ तर अन्तरिम संविधान खारेज भई नया संविधान जारी भए पछि त्यो सहमतीय प्रावधान पनि हट्ने छ l त्यस पश्चात कांग्रेस र एमालेले २/३ बहुमतको बलमा सबै अग्रगामी परिवर्तनका मुद्धाहरु पहिचान, संघियता, गणतन्त्र र धर्म निरपेक्षतालाई उल्टाई दिनेछन l नामकरण र सिमाङ्ग्कनको कुरा पनि ब्यबश्थापिका संसदको २/३ बहुमत अनुसार नै टुंगो लगाईनेछ l यसो भएको खण्डमा नेकपा एमाओवादीको उपलब्धी सुन्य हुनेछ l जति पनि एमाओवादीको मुद्धाहरु छन् ति सबै त परिवर्तनशील प्रावधानको रुपमा मर्स्यौदामा राखिएको छ l व्यबश्थापिकामा परिणत हुने संसदमा मत परिणाम कांग्रेस र एमालेको पक्षमा छ l अनि त प्रचण्ड र एमावोवादीको प्राण पखेरु भुतुक्कै जानेछ l एमाओवादीको साथ् साथ् गच्छेदार पनि सति जान वाध्य हुनेछन l जसरि १६ बुँधे सहमति पश्चात जनजाति, मधेशी, मुस्लिम, दलित र अन्य वर्गीय, क्षेत्रीय, लैंगिक रुपमा उत्पीडित समुदायले स्याबासी र धन्यवाद दिनु पर्छ भनेर हुङ्कार छाड्दैछन, आफुलाई खुंखार भएको भन्ने ठान्दैछन, कांग्रेस, एमालेले फेरी पनि उनलाई थाङ्ग्ना मै सुताएको प्रमाणित हुने छ l प्रचन्डले आफ्नै पार्टीको मुद्धा स्थापित गराउने काम गर्नुको सट्टा उत्पीडितहरुको मुद्धा उठाएर ति समुदायहरुलाई गुण लगाएको भन्ने जुन सोच पछिल्लो समय उनमा विकाश भएको देखिएकोछ र धन्यवाद र स्यबासी पाउनु पर्ने माग गरेका छन त्यो हैसियत पनि गुमाउने छन् l यदि घरको तला गनेको पैसा लाग्दैन भन्ने प्रचण्डलाई थाहा हुँदा हुँदै उनले यो सम्झौता गरेका हुन् भने, ५० तलाको पैसा तिरेको नाटक गरेका हुन् भने उनि इतिहाँस कै असफल, गद्धार र आत्मा समर्पणवादी नेताको रुपमा गनिने छन् l
उनि यो देशका सारा उत्पीडित जनताहरु र आफ्नै पार्टीका १० वर्ष शशस्त्र युद्ध गर्ने लडाकुहरुको लागी विश्वासघाती साबित हुनेछन l प्रचण्ड अहिले पनि या त आफु निकै चतुर भएको र १६ बुँधे सहमति मार्फत कांग्रेस, एमालेलाई ५/६ प्रदेश बाट ८ प्रदेशमा पुर्याएको उपलब्धि देखेर मख्ख छन या उनि नियतबस नै विश्वासघात र गद्दारी गर्न तम्सिएका छन् l पहिचान र संघियताको सवालमा उनलाई छोडेर अलग मोर्चा बन्दि शुरु हुनु उनको लागी र एमावोवादी पार्टीको लागी निकै घातक सिद्ध हुनेछ l वर्तमान राष्ट्रिय राजनीतिमा एमावोवादीको अस्तित्व र प्राण नै यी अग्रगामी मुद्धाहरुले धानेको छ भन्दा अतियुक्ति नहोला l प्रचण्ड जती हुङ्कार गर्छन, समय संगै उनि त्यति खुंखार छैनन् भन्ने प्रमाणित हुँदैछ l

Post a Comment

 
Top