अर्मलामा फेरि भ्वाङ
गोकुल बानियाँ,
२६ असार
विज्ञको सुझावलाई ख्यालै नगरी खेत रोपेपछि पोखरा उपमहानगरपालिका वडानम्बर २८ (साविकको अर्मला गाविस ) मा फेरि जमिन भासिने क्रम सुरु भएको छ । स्थानियका अनुसार पछिल्लो एक महिनामा झण्डै एक दर्जन साना ठुला भ्वाङ परेका छन् ।
रोपेपछिल्लो एक महिनामा एक दर्जन भ्वाङ, विज्ञको सुझाब नमान्दा रोपेको खेत पनि भासियो
खेतको बिचमा भासिएको छ भने बाझो रहेको जमिनमा पनि ठुलठुला भ्वाङ परेको छ । १९ महिना अघि २०७० मसिर पहिलो साताबाट सुरु भएको जमिन भासिने क्रम बिचमा रोकिएपनि पुन ः ंबल्झिएको हो ।
सो क्षेत्र उच्च जोखिममा रहेकाले कम्तिमा पाँच बर्ष पानी भण्डारण नगर्न र खेत नरोप्न प्राविधिक अध्ययन टोलीले सुझाएपनि स्थानियले बेवास्ता गरेको अर्मला दैवि प्रकोप बिपद् ब्यबस्थापन सरोकार समितिका अध्यक्ष लिलाधर आचार्यले बताए । ‘विज्ञको सुझावलाई अबज्ञा गर्दा पुन भासिन थालेको छ, उनले भने ‘ रोपेको खेतको बिचमा दुई स्थानमा भ्वाङ परेको छ । ’
तत्कालिन समयमा प्रकोप अध्ययनको लागि गृह मन्त्रालयद्धारा गठित ७ सदस्यिय बिषेशज्ञ टोलीले अर्मलामा तत्काल खेत रोप्न नहुने, ठूला भौतिक संरचना बनाउन नहुने, पानी भण्डारण गर्न नहुने, स्थानिय सडकमा ठूला गाडीहरु गुडाउन नहुने लगायतका सुझाब दिएको थियो । विषेशज्ञ टोलीको सुझाव कार्यन्वयन नहुदा समस्या बढेको आचार्यले बताए ।
झण्डै एक बर्षपछि गत असोजबाट फिल्टर भएर बग्न थालेको पानी पुन कमेरे माटो सहित बग्न थालेको छ । सो क्षेत्रमा यसअघि गरिएको जियोफिजिकल सर्भेले पाँच स्थानमा रहेका भूमिगत पानीको मुलमा निकास नभएसम्म समस्या नसुल्झने निश्कर्ष निकालेको थियो । अहिले सोहि भूमिगत पानीले भ्वाङ पर्ने क्रम बढाउदै लगेको छ ।
झण्डै तीन सय रोपनी क्षेत्रफलमा दुई सय भ्वाङ तत्कालिन समयमा पुरिएको थियो । भ्वाङ पुरिएका कतिपय स्थानमा अहिले खेत रोपिएको छ । भूगर्भबिद्हरुको अध्ययन टोलिले सो क्षेत्रलाई १५ बर्ष अघिनै कमजोर भूबनोट क्षेत्रको रुपमा घोषणा गरी ठुला भौतिक संरचना नबनाउन सुझाब दिएको थियो ।
प्रकोप नियन्त्रणको लागि गृहमन्त्रालयबाट १५ लाख, प्रधानमन्त्री राहत कोषबाट २० लाख तथा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट ११ लाख र सरकारी बजेट एक करोड ९ लाख रुपैया गरी झण्डै दुई करोड सो क्षेत्रमा खर्च भैसकेको छ । नियन्त्रणको उपाय स्वरुप स्थानिय काली खोलामा दुई वटा चेक ड्याम बनाईएको छ भने भ्वाङ परेको स्थानमा पानीको निकासको लागि क्यासेट ड्रेन बनाईएको छ ।
Post a Comment