विनाशकारी महाभूकम्प पश्चातको पुनर्निर्माणमा रसायनमुक्त समाजको परिकल्पना
हामीले जानी नजानिकन बिगत कयौ वर्ष देखिन हानिकरक रसायनको सेवन गर्दै आईरहेका छौ । विश्वव्यापी रुपमा भएको राष्ट्रिय तथा अन्र्तराष्ट्रीय स्तरका अध्ययनले मानव जीवनमा दैनिक उपभोग्य वस्तुमा रसायनको मिश्रण रहने पुष्ठी गरिसकेको छ । यस्तै विभिन्न समयमा भएका अध्ययन अनुसन्धान तथा सरकारी अनुगमन टोलिको तथ्यांक अनुसार विभिन्न सामग्री जस्तै पेन्ट, खाध्य सामग्री, वालवालिकाको खेलौना, कस्मेटिक्स, स्वास्थ्य सेवा आदिमा बिभिन्न हानिकारक रसायनको प्रयोग हुदै आईरहेको छ । यसै सन्दर्भमा जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्रले बिगत १० वर्ष देखिन अध्ययन अनुसन्धानका कार्यहरु गर्दै आईरहेको छ ।
जनस्वास्थ्य तथा बातावरण प्रर्वद्धन केन्द्रको अध्ययन अनुसार :
:: सन २०१२ मा कस्मेटिक्स (लिपस्टिक) मा गरिएको अध्ययन अनुसार लेडको मात्रा ३० पि. पि. एम. देखिन १४५ पि. पि. एम. सम्म पाइएको तथा सो लिपस्टिक बिशेष गरी नारी वर्गले प्रयोग गर्ने हुदा जन्मने बच्चालाई समेत असर गर्ने तथ्य फेला परेको थियो ।
:: सन २०१२ मा छाला गोरो बनाउने क्रिममा गरिएको अध्ययन अनुसार सत प्रतिशत नमुनामा मर्करीको मात्रा पाइएको तथा सो न्युनतम ०.०२५ mg /k g तथा अधिकतम रुपमा ०.५२१ mg /k g सम्म पाइएको थियो ।
:: सन २०१२ मा गर गहनामा गरिएको अध्ययन अनुसार लेडको मात्रा २८ पि. पि. एम. देखिन अत्यधिक रुपमा ७७५५०० पि. पि. एम. सम्म पाइएको थियो ।
:: वालवालिकाको खेलौनामा सन २०१३ मा गरिएको अध्ययन अनुसार ५४ प्रतिशत खेलौनामा विभिन्न हानिकारक रसायन जस्तै लेड, मर्करी, क्याड्मियम, क्रोमियम तथा ब्रोमिन पाइएको थियो ।
:: सन २०१४ मा घर तथा विद्यालय कक्षाकोठा भित्रको धुलोमा सम्पन्न गरिएको अध्ययन अनुसार सत प्रतिशत बिद्यालयको कक्षा कोठाभित्रको वातावरणमा लेडको मात्रा अत्यधिक मात्रामा पाइएको थियो ।
:: सन २०१५ मा गरिएको अध्ययन अनुसार नेपाली बजारमा बिक्री वितरण हुने रङ्गको ८९ प्रतिशत नमुनामा लेडको मात्रा नेपाली मापदण्ड ९० पि. पि. एम. भन्दा बढि भएकोले बिक्रि वितरण गर्न अयोग्य रहेको तथ्य फेला परेको छ ।
:: वार्षिक रुपमा १००० टन भन्दा बढी हानिकारक रसायन एस्बेस्टसको भौतिक सम्रचना निर्माणका निम्ती आयात हुदै आइरहेको तथ्यांक भन्सार विभागको अभिलेखालयमा दाखिला भएको छ ।
:: त्यस्तै बिजुली खपत गर्ने भनेर सरकारी स्तरबाटनै प्रचारप्रसार गरिएको सि एफ एल चिम फुट्नाले अत्यधिक मात्रामा मर्करीको प्रवेश वातावरण तथा मानव स्वास्थ्यमा हुने गरेको पाइएको छ ।
यसरी सर्सर्ती हेर्दा हामीले दैनिक रुपमा उपभोग गर्दै आईरहेको तर कहिल्यै वास्ता नगरेको वस्तुहरुको मातहात बाट विभिन्न हानिकरक रसायनको सेवन गर्दै आईरहेको छौ । यि रसायनहरु छालाको माध्यमबाट, श्वास प्रश्वास लिदा तथा खाना सेवन गर्दा मानव शरीरमा प्रवेश गर्दछन । यि रसायनहरु जनस्वास्थ्य तथा वातावरणको हिसावले अत्यन्त हानिकारक रसायन मानिन्छ । यस्ता रसायनले बिशेषगरी वालवालिकाको स्वास्थ्यमा युवा तथा बयोवृद्धको भन्दा बढी नकारात्मक प्रभाव पार्दछ । यस्ता रसायनले सुन्ने र हेर्ने शक्तिमा ह्रास ल्याउनुको साथै बच्चाहरुको बौद्घिक एवं शारीरिक विकासमा समेत असर गर्दछ । यि रसायनले हाम्रो शरीरको रोगसँग लड्ने क्षमताको सबैखाले प्राकृतिक बाधा जस्तैः गर्भनाल, मष्तिस्क रक्त कोशिका तथा छालालाई पार गरेर हाम्रो शरीरलाई हानी पुयाउँदछ । यसका अन्य असरहरुमा रिसाउने, लजाउने, काप्ने, हेर्ने र सुन्ने शक्तिमा नकारात्मक परिवर्तनको साथै स्मरण शक्ति सम्बन्धी समस्या, वाकवाक लाग्ने, रक्तचाप तथा छातिको धडकन बढ्ने, छालामा दाग तथा आँखा पाल्ने जस्ता रोगहरु देखापर्दछ ।
यस वर्षको विश्व वातावरण दिवसको नारा रहेको छ “7 billion dreams , one planet , consume with care “ । अर्थात, यस ग्रहमा ७ बिलियन जनसंख्या जीवनयापन गर्दै छन भने श्रोत सिमित रहेकोले दिन प्रतिदिन मानवीय उपभोगको निम्ती घट्दै गैरहेका छन । तसर्थ कुनै पनि वस्तुलाई उपभोग गर्दा यसले अन्य प्राणीलाई के कस्तो असर पर्न सक्छ त्यो ध्यानमा राखेर मात्रा उपभोग गरौ । हामीले आवश्यकता भन्दा धेरै उपभोग गरेको खण्डमा यो फोहर मात्र बन्नेछ भने सोही समयमा अन्यत्र भोकै वस्नु पर्ने अवस्था सिर्जना भैरहेको हुनसक्नेछ ।
गत बैशाख १२ गतेको बिनाशकारी महाभुकम्पबाट मानव जीवन तथा भौतिक सम्रचनामा मात्र असर नपरी वातावरणमा समेत व्यापक असर गरेको छ । सो प्राकृतिक प्रकोपका कारण प्लास्टिक, दाउरा, धुलो, कागज, लत्ताकपडा सँगै बिद्युतिय उपकरणको फोहरको रुपमा कयौ टन उत्सर्जन भएको छ । यस क्रममा रसायन मिसिएको दैनिक उपभोग्य वस्तु समेत सो प्रकोपबाट बातावरणमा ठोस तथा तरल फोहर एम्व हावाको माध्यमले मिसिन पुगेका छन । उक्त रसायन एक पटक वातावरणमा मिसिसकेपछी रुप बद्लिरहने तर पूर्ण रुपमा कहिल्यै नाश नहुने तथा एक स्थान बाट अर्को स्थानमा स्थानान्तरन गर्ने प्रवृतिका हुन्छन । यसलाई गहिराइमा बुझ्दा, बिनाशकारी महाभुकमको समयमा विभिन्न हानिकारक रसायनको उत्सर्जन नेपालमा भएता पनि दिर्घकालिन रुपमा यसको असर भनेको विश्वव्यापी रुपमै पृथ्वीमा जीवनयापन गर्ने सम्पूर्ण प्राणीलाई पर्न पुगेको छ ।
देशमा अहिले भौतिक सम्रचनाको पुर्ननिर्माण कार्य सम्पन्न भैरहेको अवस्थामा रसायनयुक्त वस्तु जस्तै लेड मिश्रित पेन्ट, मर्करी मिश्रित सि. एफ. एल्. तथा क्यान्सरजन्य रसायन भनेर चिनिने ऐस्वेस्टसको प्रयोगलाई निरुत्साहित गर्दै सोको मानव स्वास्थ्यलाई हानि नगर्ने रसायनमुक्त वैकल्पिक वस्तुहरुको प्रयोगलाई जोड दिई आउँदो दिनमा नेपाललाई रसायनबाट सुरक्षित राष्ट्र निर्माण गरि मानव स्वास्थ्य तथा वातावरण सम्रक्षणको हिसावले अन्य विकसित राष्ट्रसँगै अघि बढ्नुुपर्दछ । यस विनासकारी महाभुकम्पलाई एक मौका सम्झेर सम्पूर्ण जनसमुदाय तथा संघसंस्था हातेमालो गर्दै देश विकासका निम्ति पुर्ननिर्माण कार्यसँगै वातावरण सम्रक्षणलाई समेत अघि बढाउनुपर्दछ ।
भुकम्पिय महाप्रलयको बेला भवन र सम्रचनाहरु भत्केर बनेको फोहरमा पहिले रङ्गाएको सम्रचनाहरुमा भएको पेन्टहरुमा लेड (सिसा)यूक्त फोहर धुलो र कुनै घर भवन र सम्रचनाहरु यदी ऐस्वेस्टसले छाएको भए ती ऐस्वेस्टसयूक्त फोहरको उचित वातवारणमैत्री फोहर व्यवस्थापन पनि गर्न गराउनु पर्ने हुन्छ । नेपाल सरकारको मापदण्ड र निर्णय अनुसार लेडयूक्त पेन्ट र ऐस्वेस्टसको आयात, उत्पादन, विक्रिवितरण तथा प्रयोग पुर्ण रुपेन बन्द गर्नु गराउनु पर्दछ र भुकम्पबाट श्रृजीत मानविय तथा वातावरणको द्रिस्टिकोनले हानिकारक रसायन लेडयूक्त तथा ऐस्वेस्टसयूक्त फोहरको उचित वातवारणमैत्री फोहर व्यवस्थापन गर्न पनि आग्रह गरीन्छ । पुनर्निर्माणमा लेडयूक्त पेन्ट र एस्वेस्टसको प्रयोग पुर्णतया रोकी सुरक्षित संरचनाहरु बनाउनु पर्दछ ।
Post a Comment