0
हिराःसहाराको खोजीमा हिराः
चितवनको भरतपुरमा रहेको पुरानो मेडीकल कलेजको गेटमा भेटीएका एक युवा शारिरिक रुपमा अपाङ्ग छन् । उनी त्यहाँ फलफुल बेच्ने काम गर्छन । गरिबिका कारण पढ्न लेख्न नपाएका उनी कामको शिलशिलामा अपाङ्ग भए । अहिले उनी सहाराको खोजीमा छन् ।

                                                           –लक्ष्मी पौडेल
चितवनको भरतपुरमा रहेको पुरानो मेडीकलको गेटैमा पुग्दा दाहिने तर्फ एउटा फलफुलको निलो ठेला भेटीन्छ । २३÷२४ बर्षको युवा ग्राहकलाई फलफुल बेचीरहेका छन् । यसो हेर्दा एउटा हात छैन् । उनलाई नियालेर हेर्ने हो भने खुट्टा र शरीरभरीको घाउले जो कोहीलाई जिरीङ्ग बनाउँछ ।
“हात के भएको हो नी दाई ?”
“करेन्ट ले जलेर खायो ।”
“करेन्टले ?”
“हो, यो त हेर्दा केही देखीदैन तर जब मेरो कपडा खोलेर हेर्ने हो भने मान्छे तर्सीन्छन डराउछन् । शरीरै भरी घाउ नै घाउ छ, यो पछाडीको आङ्ग नै छैन् ।” यती भन्दा भन्दै उनका आखाँ टिलपिल भए । आँशु थाम्दै उनले भने, “नुहाउँन सक्दिन, सुत्न सक्दिन, धेरै पोल्छ, गाह्रो हुन्छ, एक्लै छु, कोहि छैन् । मम्मीको पनी मृत्युु भयो । यस्तै छ ।” उनले लामो सास फेरे ।
मलाई अब उनको सबै कहानी जान्ने मन भयो । आफै भावुक बन्दै थिए । अली कठोर बने र सोध्ने आँट गरेँ सबै कथा ।
नाम हिरा विक घर गोरखाको मनकामना २ मितेनीमा । गरिबीका कारण पढ्न लेख्न नपाएका उनको जीवन कहानी सुन्ने जो कोहीका आखाँ रसाउँछन् । उनले बाल्यकाल सम्झे, “धेरै गाह्रो भयो । गोरखामा एक त दलीत त्यसमाथी गरिब थियौ । हामीसंग सोचे झै पढ्ने हैसीयत पनि छंन् । त्यतीबेला सानैमा मैले त केहि सोच्न पनि सकिन । हामी ५ ५ भाई छोरा थियौ । म माहिलो छोरो दाई पछि को ठुलो म नै थिए ।”
उनले भन्दै गए, “मेरो दिमागमा के आयो आयो आफ्नै छोराछोरीले नगरे बाबाआमालाई कसले हेर्छ र ? भन्ने लाग्यो । मैले पैसाको अभाव भएपछि ५ कक्षा पढ्दा पढ्दै अर्काको घरमा काम गर्न थालेँ ।”
उनी बोल्दै गर्दा घरी घरी वाक्य रोकिन्थ्यो । उनी सकेसम्म आशुँ रोक्न खोजेको प्रष्टै हुन्थ्यो ।
२ पैसा कमाउन घर, होटेल देखी साहु महाजनको भाडाँ माझ्ने पोछा लगाउने कपडा धुने सम्म गरेका उनी जन्मजात अपाङ्ग भने होईनन् । उनले घर छोड्दाको क्षण सम्झे, “म त १२ बर्ष पनि पुगेको थिईन् । आफन्त पर्नेले नै पञ्जाव पुर्याए र त्यहाँ म अर्काको घरमा काम गर्थे । म सानो थिए । सबै काम गर्थे भाँडा माझ्थे, कपडा धुन्थे, पोछा लगाउँथे ।”
हिराले काम गर्दा घरकाले अचाक्ली हुने गरी गाली गरेको, पिटेको सम्झदै भन्छन्, “सानो सानो गल्तीमा पनी मलाई साह्रै नराम्रा शब्दले गाली गर्थे सुन्नै नसक्ने गरी । यती पिट्थे । म सहन नसकेर डाँको छोडेर रुन्थे ।” यसो भन्दा उनले अहिले सम्म रोकेको आसु बररर झर्यो । सटको बाहुलाले पुछे, ठेलामै फलफुल बेच्दै मलाई कहानी सुनाएका उनलाई सुन्ने अरु पनी जम्मा भैसकेका थिए । आशुँ नरोकिएपछि उनी केहिछिन बोल्दै बोलेनन् । म पनि अवाक भएँ । के गरुँ तर जान्ने मन थियो उनको हात कसरी गुम्यो ? शरीरभरी डरलाग्दा घाउ कसरी भए ? धेरै बेर पछि उनका आखाँ ओभानो भए ।
सोधे,
“चोट चाँही कसरी लागेको ?”
“क्याटरीङको काम गर्दा करेन्ट लागेर ।”
उनी पञ्जावमा सहनै नसकिने भएपछी भागेर नेपाल आएछन् । घर गएपछी फेरी देशमै कामको खोजीमा थिए । पहिले होटलमा काम पाएका उनी पछि पोखरामा एउटा क्याटरीङमा काम पाएछन् । त्यो पनि आफन्तले मिलाई दिएको । १६ बर्षको भएछन् हिरा ।
“एक दिन महायज्ञमा टेन्ट लगाउन जानुप¥यो । मंसिरको महिना जाडो थियो । गएर टेन्ट लगायौँ । सात दिन पछी महायज्ञ सकियो । टेन्ट फुकाउन म र डाईभर दाई गयौ । डाईभरलाई तलै राखेर म माथी गए । धेरे तलाको थियो घर । म जाडोले थुर थुर कामेको थिए ।” यसो भन्दा उनका ओठ काँपे ।

उनी भन्दै थिए,  “१८ फिट भन्दा पनि लामो त्यो फलामको डन्डी मैले डाईभरलाई तल पास गर्दै थिए । एकदम जाडो हुस्सु लागेको जाडो निकै थियो । म काँप्दै थिए जाडोले । खै कती पास गरीसकेको थिए त्यो याद छैन् । दुई तिन वटा डन्डी बाकीँ थियो । अचानक त्यो फलाम बिजुली करेन्टमा ठोक्किएछ । करेन्ट लाग्यो ।”
उनले यो कहाली लाग्दो घटना सुनाउदै थिए । उनका आँखा बाट थाहै नपाई आसु झरीरहेको थियो। ओठ काँपीरहेका थिए । उनी सम्हालीएर भन्दै थिए ।
“”जब म करेन्टले पुरै जले अरे मलाई थाहा भएन म पुरै जलेको थिए रे पछि सुनेको जिउको कपडा पनि पुरै जलेको थियो रे । शरीर पनि पुरै ।”
१६ बर्षमा बल्ल बल्ल पाएको क्याटरीङको जागीरले उनको जिवन नै उल्टो घुमाईदियो ।
भनीन्छ, ओरालो लागेको मृग लाई बाच्छाले नी खेद्छ । कुनै बेला सद्धे हुँदा काम लगाईदिनेले समेत अपाङ्ग भैसकेपछी वेवास्ता गरेको तितो यर्थाथ उनीसंग छ । यस्तो बेला न त परिवारले हेर्छ न त समाजले नै ।
उनले भने, “जसले मलाई जागीर लगाईदिनुभएको थियो जो संग म काम गर्थे । उहाँले नै मलाई जिवन दिनुभयो । भनम न अरु भएको भए सायद डाक्टरलाई नै सुई लगाएर मार्न लगाउथे होला । तर उहाँले बचाउनु भयो तर यहाँ सम्म ल्याएर अहिले वास्ता गर्नुभएन साह्रै मन मर्दो रैछ । उहाँलाई कैले काहीँ मैले दाई के छ भने भने पनि तँ को हो र ? मत चिन्दिन भन्नुहुन्छ । वास्ता गर्नुुहन्न ।” उनको वाक्य रोकियो ।
सम्हालीन खोजे पनी उनको नाक बजेको र सुक्क सुँक्क गरेको प्रष्ट सुनीन्थ्यो । नेपालमा अपाङ्गको हक हितका लागी स्वयंम सरकार र खोलीएका थुप्रै संस्था लेयस्ता हिराहरुकोनाममा राजनीती गरीरहेका छन् ।
उनले सम्झीन्छन ति दिन जतीबेला उनी अपाङ्गलाई दिईने भत्ता लिन जाँदा उनलाई तिमिजस्ता मान्छेले त गरेर खानी हो भत्ता मिल्दैन भनेर फर्काए । पटक पटक यसरी फकाईएपछी उनी भत्ताको आसा मारेर बसे । आस पनि छैन उनलाई ।हिरा वि.क एउटा प्रतिनीधी पात्र हुन् । समाजमा यस्ता थुप्रै अपाङ्ग छन् जो अपहेलीत भएर बाँचीरहेका छन् ।
समाजमा कष्टकर जिवन बिताईरहेका अपाङहरु प्रती उनीहरुको ध्यान कैले जाने ? आज सम्म एउटा ब्यक्ती हिराको सामु आएर म तलाई सहयोग गर्छु भनेको छैन । उनी अहिलेपनि सहाराको खोजीमा छन् । सहयोगको याचना गरीरहेका छन् ।



Post a Comment

 
Top