भीभीआईपीको सुरक्षा :अङ्गरक्षकको भूमिका के हो ?
भीभीआईपीको अर्थ भेरीभेरी इम्पोर्टेन्ट पर्सन अर्थात् धेरैधेरै महत्वपूर्ण व्यक्ति भन्ने हुन्छ । हामीकहाँ यस्ता धेरै र धेरैधेरै महत्वपूर्ण व्यक्तिहरूले अङ्गरक्षक र पीएसओहरू प्राप्त गर्ने गर्छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमनत्री, मन्त्रीहरू, संवैधानिक अङ्गका प्रमुखलगायतका व्यक्तित्वहरू यसमा पर्छन् । नेपाली बृहत् शब्दकोशका अनुसार, अङ्गरक्षकको अर्थ ‘कसैको जीउज्यानको रक्षा गर्ने व्यक्ति, उच्च पदमा बस्ने विशेष महत्वपूर्ण व्यक्तिहरूको सुरक्षाका निम्ति सधैँ साथमा रहने गरी तैनाथ गरिएको प्रहरी वा सैनिक वा सैनिकको समूह, आठपहरिया’ भन्ने हुन्छ । अङ्गरक्षक भन्नासाथ स्वाभाविकै रूपले ओहोदा हेरेर सैनिक या प्रहरी नै हुने गर्छन् । उनीहरूको काम, कर्तव्य ती विशेष व्यक्तिहरूको रक्षा गर्नु हो । आफ्नो ज्यान दिएर पनि भीआईपीलाई बचाउनु उनीहरूको कर्तव्यभित्र पर्छ । अङ्गरक्षकहरूले आफ्नो ज्यान जोखिममा राखेर भीआईपीलाई बचाएका अनेक दृष्टान्त छन् । यसप्रकारका सुविधा लिने विशेष व्यक्तिहरूले पनि निर्वाह गर्ने भूमिका पनि विशिष्ट प्रकारकै हुने अपेक्षा राखिएका कारण भीआईपीहरूले तलमाथि गरे अङ्गरक्षकले के गर्ने ? भन्ने कुरा कहीँ कतै उल्लेख गर्ने गरिएको छैन । हामीकहाँ भीभीआईपीको सुरक्षा कसरी दिने भनेर तालिम दिने युनिट तीनवटै सुरक्षा क्षेत्रमा छ, तर यसरी सुरक्षा दिइएका या दिनुपर्ने व्यक्ति स्वयम्ले आपराधिक, कानुनविरोधी या अमर्यादित क्रियाकलाप गरेमा के गर्ने भन्ने कुरातिर भने ध्यान दिइएको छैन । भीभीआईपीले अमर्यादित कार्य गर्दैनन् भन्ने मान्यताले यस्ता विषयतिर ध्यान नदिइएको हो भन्न सकिन्छ । तर, केही दिनअघि कृषिमन्त्रीको हैसियतमा रहेका बेला सार्वजनिक स्थलमा एक मन्त्रीले जे–जस्तो क्रियाकलाप गरे त्यस घटनाले अब अङ्गरक्षकको भूमिका या भनौँ काम, कर्तव्य, अधिकारका बारेमा चर्चा गर्नैपर्ने परिस्थितिको सिर्जना भएको छ ।
सोही घटनालाई हेरौँ, धान रोप्ने कार्यक्रमको उद्घाटन गर्दै मन्त्रीज्यू हिलोमा पसे । नेपाली सेनाको बर्दी लगाएका ती अङ्गरक्षक मन्त्रीसँगै हिलोमा पस्ने कि बाहिरै बसेर हेर्ने ? सुरक्षित स्थानमा भाषण गर्दा या स–साना बैठकहरूमा समेत मन्त्रीका पछि उभ्याइने गरिएका ती अङ्गरक्षकहरूले सार्वजनिक स्थलमा (जहाँ जो पनि आउन सक्छन् र जे पनि हुन सक्छ) भीभीआईपीले त्यसप्रकारका कार्य गर्न थालेपछि के गर्ने ? प्रश्न हिलोको मात्र होइन, आफूले सुरक्षा दिइरहेका ती विशेष व्यक्तिले महिलाहरूलाई अँगालो मार्दै हिँडे, उनले त्यहाँ थप दुव्र्यवहार गरेका भए ती अङ्गरक्षकले छुट्याउने कि चुपचाप हेरेर बस्ने ? यस्ता घटना भविष्यमा पनि नहोलान् भन्न सकिन्न । विशेष पदमा रहेका कुनै व्यक्तिले आपराधिक क्रियाकलाप गरेको खण्डमा बर्दी लगाएको सुरक्षाकर्मीको भूमिका के हुने ? यो प्रश्नको उत्तर सम्बन्धित पक्षले अब खोज्नैपर्छ । आपराधिक या अमर्यादित क्रियाकलाप नहुँदानहुँदै पनि कागताली परेर या चिना राम्रो भएर विशेष व्यक्ति बन्न पुगेका, तर आफ्नो स्थानको गरिमालाई चिन्न नसकेका व्यक्तिहरूबाट अप्ठ्यारा कार्यहरू हुन सक्छन् । जस्तो, अहिले कृषीमन्त्री हिलोमा गाडिए, भोलि वनमन्त्री रूख चढ्लान्, अङ्गरक्षक उनी लड्लान् कि भनेर रूख चढ्ने कि बाहिरै बस्ने ? यस्ता कार्य गर्दा भीभीआईपीहरू घाइते भए या तिनको मृत्यु भए जिम्मेवार को हुने ? यदि जे गरे पनि चुपचाप बस्ने हो भने पीएसओ या अङ्गरक्षकको के काम?
मुलपानी घटनालाई लिएर कतिले अहिले मिडियालाई गाली गरेको सुनिएको छ । कुनै पनि सार्वजनिक व्यक्तिले सार्वजनिक स्थलमा त्यसप्रकारको व्यवहार गर्छ भने त्यो मिडियाका लागि समाचार हो । नेपालको मात्र होइन विश्वका कुनै पनि मिडियाका लागि मन्त्रीजस्तो गरिमामय पदमा रहेका व्यक्तिको त्यसप्रकारको गैरजिम्मेवार कार्य समाचार हो । दृश्यमा देखिएका महिलाको कुनै दोष छैन न त उनीहरूलाई कसैले दोषी नै ठानेको छ । उहाँहरूको दोष त टेलिभिजन क्यामेराले कैद गरेका ती दृश्यहरू हेर्दैनहेरी कसैले यसो भन भनेर सिकाएका भरमा मिडिया र अरूलाई गाली गर्दै हिँड्नु हो । नेपाली समाजमा आफ्नै छोराले त आमालाई अँगालो मारेर आशीर्वाद माग्दैन, बाहिरको मान्छे आएर के आशीर्वाद माग्ला ? मन्त्री भनिएका व्यक्तिले एक्कासि अँगालो मार्दा तर्सिएर उसलाई धकेलेका महिलाहरूलाई आफूले धकेल्दै गरेका ती दृश्यहरू देखाइएको छैन । तिनलाई बोल्न लगाइएको झुटले महिलालाई जहाँ पनि, जस्तोसुकै घटनामा पनि कति सजिलै प्रयोग गर्न सकिन्छ भन्नेबाहेक अर्को सन्देश दिएको छैन । ती दृश्यमा पनि मन्त्रीका अङ्गरक्षकले मन्त्रीलाई हेरिरहेका मात्र देखिन्छन् । भोलि यीभन्दा अमर्यादित काम भीभीआईपीबाट भए भने बर्दी लगाएका सुरक्षाकर्मीको भूमिका के हुने ? तिनले प्रतिकार गर्ने कि सलाम ठोक्ने ?
Post a Comment