
आधुनिक नेपालको एकीकरण श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट भएको तथ्य ‘डिलिट’ गर्न नसकिने भएकोले हुनसक्छ– उक्त ऐतिहासिक घटनालाई ‘डिस्टोर’ गर्ने प्रयासचाहिँ यो दशकभित्र सर्वाधिक आक्रामक तवरमा भयो, हुँदै छ । चङ्गेज खाँ (जसलाई गेङ्गेज पनि भनिन्छ) जस्ता ‘बीभत्स व्यक्ति’ले मङ्गोलियालाई पु-याएको योगदानलाई करिब आठ सय वर्ष अस्वीकार गरेर बिताएको मङ्गोलियाले यही दशकमा चङ्गेजलाई राष्ट्रिय विभूतिको दर्जा दिने निर्णय गर्नु र व्यक्तिविशेषले प्रधानमन्त्री बन्नका लागि सञ्चालन गरेको हिंसात्मक युद्धमा बगेको भन्दा धेरै कम रगत बगाएर राष्ट्र एकीकरण गर्ने पृथ्वीनारायण शाहले पु-याएको योगदानलाई मेट्न र उनको भूमिकाको अपव्याख्या गर्ने काम नेपालमा हुनु एउटा रोचक तर दुःखद् संयोग हो । चङ्गेज, जसले गरेको हिंसा, अन्याय र अत्याचारबारे पढ्दा उनले देशका लागि पु-याएको योगदान गौण महसुस हुन्छ, आसुरी प्रवृत्तिका त्यस्ता व्यक्तिलाई शताब्दी–शताब्दीसम्म संसारले घृणा ग-यो र मङ्गोलियाले आफ्नो राष्ट्र निर्माणमा योगदान पु-याएको जान्दाजान्दै पनि आठ शताब्दीसम्म उनलाई सम्मान दिन चाहेन । मङ्गोलियाभित्रैका अनेकौँ जातीय समूहलाई काबुमा लिन उनले हजारौँ–हजारको हत्या गरेका थिए । घरमूली हुन आफ्ना दाजुभाइको समेत हत्या गरेका खानले ताउचिउट सेनालाई मारेपछि सेनापतिलाई जिउँदै उमालेका थिए । त्यस्ता राक्षसी व्यक्तिले समेत अन्ततः करिब पाँच वर्षअघि मात्र राष्ट्रिय विभूतिको दर्जा पाए, उनका बाँकी अपराधकर्मलाई विस्मृतिमा राखेर देश एकीकरण गरेकै कारण खाँको योगदानको अति उच्च मूल्याङ्कन ग-यो मङ्गोलियाले । हामीले सगरमाथा चढेर सकुशल फर्कन नसकेका कारण एक आरोहीलाई राष्ट्रिय विभूति बनाइदियौँ । कुन्नि कति सालमा, कुन्नि कति जनालाई कुन्नि कति ऋणबाट मुक्त गराइदिएका थिए रे भन्ने हल्ला÷चर्चाका आधारमा पनि हामीले कसैलाई राष्ट्रिय विभूति घोषणा गरिदियौ । राष्ट्र एकीकरणका निम्ति मैदानमै उत्रेर लडाइँको अगुवाइ गर्नुभन्दा लडाइँका लागि हतियार खरिद गर्न ‘चन्दा उठाउनुपर्छ’ भनेर सुझाव दिनुलाई महान् योगदान ठान्यौँ र पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिक ढालेर बिसे नगर्चीलाई ठड्यायौँ । नेपाली हुनुभन्दा तामाङ, मगर, नेवार, गुरुङ, राई, लिम्बू, क्षेत्री, ब्राह्मण आदि जातीय र मधेसी आदि क्षेत्रीय समुदायका मानिस हुनु गौरवको विषय भएको पाठ यही दशकमा पढाइयो र हामीले खुब मज्जाले त्यस्तो पाठ पढ्यौँ÷पढ्दै छौँ । धर्मलाई अफिम ठान्नेहरूले देशलाई धर्मनिरपेक्ष बनाउँदै गरिब एवम् अशिक्षित नेपालीको धर्म परिवर्तन गराउने अभियानलाई दिनदहाडै मलजल गरेको पनि यसै दशकभित्र हामीले देख्यौँ । ०६३ को राजनीतिक परिवर्तनपश्चात् नेपाली इतिहासका सर्वाधिक नालायक र खराब मानिसका रूपमा पृथ्वीनारायण शाहलाई प्रमाणित गर्ने दबाबपूर्ण प्रयास भयो र हामीमध्ये कैयनले त्यस्तो प्रयासमा सक्रिय सहभागिता पनि जनायौँ । परिवर्तनपछिका सुरुवाती वर्षहरूमा परिस्थिति यस्तो बनाइयो कि नेपाल नामक मुलुकको एकीकरण गरेर पृथ्वीनारायण शाहले कहिल्यै माफी दिन नसकिने स्तरको अपराध गरेका हुन् । ब्रिटिस साम्राज्यमा कहिल्यै घाम नअस्ताएका बेला हिमालको काखमा एउटा बेग्लै बलियो देश स्थापना गरेर पृथ्वीनारायणले साम्राज्यवादीहरूलाई ‘धोखा’ दिएकै हुन्, त्यसनिम्ति उनलाई धोखेबाज भनिदिनुपर्ने हो भने भनौँ । देश एकीकरण गर्नुभन्दा सत्ता प्राप्तिका लागि आफ्नै देशवासी साधारण नागरिकको हत्या गर्नु धेरै महान् कार्य हो भन्ने ‘ज्ञान’ राजनीतिक दलका मठाधीशहरूबाट भइरहँदा लाग्थ्यो– नेपालमा राम्रो गर्नेको भलो कहिल्यै नहोस् भनी सतीले दिएको श्राप वास्तवमा पटक–पटक कार्यान्वयन भइरहेको छ । एउटा निराश र असफल पुत्रले पितालाई दोषी देख्छ र सक्ने जति गाली गर्दै भन्ने गर्छ, ‘मेरा बाबु गलत हुन्, उनलाई म कहिल्यै ठीक मानिस हुन् भन्न सक्दिनँ, किनकि उनले मलाई जन्माए । नजन्माएका भए आज मैले दुःख पाउने नै थिइनँ ।’ हो, हामीले पृथ्वीनारायण शाहलाई पनि त्यसैगरी गाली ग-यौँ र भन्यौँ, ‘यो नेपाल एकीकरण गरेर तिनले अपराध नै गरेका हुन्, बाइसे–चौबिसे राज्य नै रहन दिएका भए हामीले नेपाली भनेर चिनिनुपर्ने थिएन र नेपाल भनेर यो लाम्चो भूमिको रक्षा गरिरहनुपर्ने पनि थिएन ।’ देशको एकीकरणलगत्तै पृथ्वीले ‘मेरा साना दुःखले आज्र्याको (बनाएको) मुलुक होइन, चार वर्ण छत्तीस जातको फूलबारी हो सबैलाई चेतना भया’ भन्दै जनतालाई सधैँ मिलेर बस्न आह्वान गरे । बगैँचामा आ–आफ्ना सुगन्धसहित फुलिरहेका हामी दुई मुठी माटोको गमलामा उभिएर अर्काको घरको शोभा बढाउन तयार भयौँ, बगैँचाको सुन्दरता बढाउन होइन । पृथ्वीनारायण शाहले नेपाल दुई ढुङ्गाबीचको तरुल हो भन्ने उपमा दिएर यो तरुलको रक्षा गरौँ भन्ने सन्देश नेपाल भूमिका सबै सन्ततिलाई दिएका हुन् । दुई मजबुत ढुङ्गाबीचको तरुल हो यसलाई जसरी भए पनि जोगाउनुपर्छ भन्ने पृथ्वीले दिएको सन्देशको अर्थ पनि हामी वीर नेपालीले अर्कै ढङ्गले लगायौँ । दुई ढुङ्गाबीचको तरुल हो यसलाई खानुपर्छ र जसले, जसरी जतापट्टिबाट भए पनि खानैपर्छ भन्ने बुझाइअनुरूपको व्यवहार ०६३ को परिवर्तनपछि राजनीतिक तहबाट भयो, भइरहेको छ । पृथ्वीनारायणको लडाइँ देश एकीकरणका लागि मात्र थिएन, यस भूक्षेत्रलाई एउटा मजबुत किल्लाको रूपमा विकास गरी तात्कालिक साम्राज्यवादी ब्रिटिसको कोपभाजनमा पर्नबाट हिमालदेखि तराईसम्म बसोबास गर्ने जनताको स्वाभिमान र मौलिक पहिचान रक्षाका खातिर पनि थियो । पृथ्वीले त्यसप्रकारको अग्रसरता नलिएको भए आज नेपाल भन्ने मुलुक विश्वमानचित्रमा कतै अङ्कित हुने थियो भनी विश्वास गर्न सकिँदैन । छिमेकी मित्रराष्ट्र भारतमा अस्तित्वमा रहेका राजा÷महाराजाहरूले पनि एकजुट भएर ब्रिटिसहरूसँग मुकाबिला गरेका भए सम्भवतः भारतले त्यति लामो समयसम्म पराधीन भएर रहनुपर्ने थिएन । हिन्दुस्थानमा इसाईधर्मी शासकहरूले आफ्नो हैकम र प्रभाव बढाउँदै लगेको त्यस समयमा यस क्षेत्रलाई उनीहरूबाट जोगाउन कस्सिएका पृथ्वीनारायणले भनेका थिए, ‘असली हिन्दुस्तानी हामी भयौँ ।’ हिन्दुस्तान–हिन्दुस्तानका रूपमा नरहेपछि उनको त्यस्तो अभिव्यक्ति प्रकट भएको थियो ।
कुनै पनि व्यक्ति कुनै जातिविशेषको हुनुमा उसको आफ्नै योगदान शून्यबराबर हुन्छ । कोही पनि मानिस रोजेर कुनै जातीय या क्षेत्रीय समुदायमा पैदा भएको हुँदैन । बिनायोगदान बनेको पहिचानमा गौरव गर्नु र त्यसको रक्षा गर्नुलाई महान् कार्यको संज्ञा दिँदै मानिसलाई यहाँ एकीकरणविरुद्ध बोल्न हुटहुटी लगाइएको छ । तर, पृथ्वीनारायण शाहले क्रिस्तानीहरूको शासनबाट यहाँका आदिवासी–अनादीवासीहरूको पहिचान जोगाउन निर्वाह गरेको भूमिकालाई चाहिँ ‘साम्राज्यवादी’ विशेषण दिइँदै छ । त्यसबेला पृथ्वीनारायणले साम्राज्यवादी क्रियाकलाप गरेका भए ब्रिटिस क्रिस्तानले गरेकोचाहिँ के थियो त भन्ने प्रश्न कसैले नगरेको देख्दा लाग्छ– हामी नेपाली मनबिनाका नेपाली रहेछौँ, त्यसैले देशको एकीकरण गर्नेजस्तो महान् ऐतिहासिक कार्य गर्ने राष्ट्रभक्त योद्धाको अपमान गर्न हामी रातारात तयार भयौँ र राष्ट्रिय एकता दिवसलाई स्मरण गर्न पनि छाडिदियौँ । देशमा केही नेपाली बाँकी छन् र राज्यसत्तामा रहनेहरूमा नेपालप्रति तिलबराबर भए पनि गौरवभाव छ भने पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा पुनस्र्थापना गरौँ, होइन भने साढे दुई शताब्दीभन्दा अघि हुँदै नभएको यस आकारको नेपाल अहिले छ र भोलि हुनुपर्छ भन्ने पनि नठान्दा भइहाल्यो । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीजस्ता पदहरूको तुलनामा देश महत्वपूर्ण नहुनसक्छ हाम्रा नेताहरूका लागि, नेपाली भएरै बाँच्न र मर्न चाहने करोडौँका निम्ति नेताभन्दा देश अतुलनीय रूपमै महत्वपूर्ण छ । गाडी चढ्नेहरूले गाडीका आविष्कारकभन्दा आफूलाई महान् ठाने भन्दैमा नेपाल बनाउनेभन्दा नेपालको नाममा खानेहरूलाई महान् मान्न सकिएन । त्यसैले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मान्यता दिएर शासकहरूले देशप्रति शून्य प्रतिशतभन्दा माथिको ममता छ भन्ने प्रमाणित गरिदियून्– अहिलेलाई यो नै देशका निम्ति ठूलो योगदान दिएको ठहरिनेछ ।
Post a Comment