0

बालक अपहरण गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ 

महोत्तरीको भटौलिया गाविस–२ बस्ने रवीन्द्र महासेठका आठ वर्षीय छोरा जेनिस भन्ने चिरञ्जीवी महासेठलाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भटौलिया–३ बस्ने लक्ष्मी साहका छोरा १९ वर्षीय अनिसकुमार साह, वडा नं २ बस्ने उमेश साहका छोरा २१ वर्षीय सुधीरकुमार साह र वडा नं १ बस्ने तसलिम अन्सारीका छोरा १८ वर्षीय साविर अन्सारी रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुभएको छ ।
पक्राउ परेका तीनै जनाले शनिबार राति करिब ७ बजेको समयमा बालक महासेठलाई अपरहण गरी छिमेकी गाविस एकडारा–७ स्थित रुपनारायण साहको गहुँ खेतमा लगी उनको नाक, मुख थिची कर्तव्य गरी मारेर गाडेको उनीहरुले स्वीकार गरेका छन् । उनीहरुले सो काम पैसाका लागि गरेको पनि स्वीकारेका छन् । प्रहरीले बालक महासेठको शव गएराति १२ बजे सो गहुँ खेतबाट फेला पारेको थियो ।
प्रहरीले बालक अपहरण गरी हत्या गरेको आरोपमा तीनै जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
यस घटनामा अरु पनि संलग्न रहेको हुनसक्ने आशङ्कामा प्रहरीले थप पाँच जनालाई पक्राउ गरे पनि उनीहरु दोषी नदेखिएको भन्दै उनीहरुलाई छाडेका छन् भने अरुलाई पक्राउ गर्न सकिने प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

Post a Comment

 
Top