0

 हतियारसहित एक पक्राउ 

 प्रतिबन्धित लागुऔषध र हतियारसहित एक जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भण्डारा गाविस–५ बस्ने २५ वर्षीय राम सेढाँईं रहेका छन् ।
प्रहरीका अनुसार गए राति २ः३० बजेको समयमा नारायणगढको पुल्चोकबाट उनलाई पक्राउ गरिएको हो । उनको साथबाट कटुवा पेस्तोल दुई थान, सोमा लाग्ने गोली चार राउण्ड र लागुऔषध लोराजेपाम २८ ट्याब्लेटसमेत बरामद गरिएको छ ।
सेढाँईं यसअघि पनि धनमाल डाँका गरेको अभियोगमा कटुवा पेस्तोलसहित पक्राउ परी छ वर्ष कैद भुक्तान र रु एक लाख ६६ हजार जरिवाना तिरी गत चैत ४ गते झुम्का कारागार सुनसरीबाट रिहा भएका हुन् । उनले २०६६ जेठ २७ गते राति चितवनको कविलास गाविस–४ सत्रकिलोमा पदममाया गुरुङको घरबाट रु एक लाख ७४ हजार बराबरको धनमाल डाँका गरी भाग्ने क्रममा प्रहरीले पक्राउ गरेका थिए ।
अभियुक्त सेढाँईंलाई लागुऔषध नियन्त्रण ऐन २०३३ र हातहतियार खरखजाना ऐन २०१९ अन्तर्गत छुट्टाछुट्टै मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय चितवनका सहायक प्रवक्ता प्रहरी निरीक्षक रविनबाबु रेग्मीले बताउनुभयो ।
यसैगरी, अपहरण तथा शरीरबन्धक मुद्दामा २०६७ साउन ३१ गते नौ वर्ष कैद र रु ५० हजार जरिवाना तोकेपछि फरार एक अपराधी पक्राउ परेका छन् । सहायक प्रवक्ता रेग्मीका अनुसार साविक बघौडा गाविस–६ बस्ने ५७ वर्षीय पाहुन पावेलाई यही पुस २६ गते निजकै घरबाट पक्राउ गरी अदालतमा बुझाइएको छ ।

Post a Comment

 
Top