0

 एकसिङ्गे गैँडा बर्दिया

gaihida
१९ फागुन
चितवन राष्ट्रिय निकुञ्जले एउटा गैँडा बर्दिया राष्ट्रिय निकुन्ज पठाएको छ ।
गैँडा खोजीमा खटिएका प्राविधिक टोलीले मङ्गलबार दिनभरको प्रयासमा एउटा मात्रै गैँडा नियन्त्रणमा लिन सफल भएपछि गएराति १० बजेतिर गैँडा बदिया पठाइएको हो ।
हचुवाको भरमा गैंडा स्थानान्तरण हुँदै
दुईवटा गैँडा पठाउने तयारी भए पनि सम्भव नभएपछि एउटा मात्रै पठाइएको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए। अहिले पठाइएको गैँडा निकुञ्जको सुकिभार क्षेत्रको भाले गैँडा हो ।
फागुन २३ भित्रमा २ भालेसहित पाँचवटा गैँडा पठाउने योजना सरकारको छ । “दिनभर प्रयास भयो, जङ्गल क्षेत्र भएको र गैँडा पनि हात्ती र मान्छे देखेपछि भाग्ने, आक्रामक हुने गरेकाले नियन्त्रणमा लिन मुस्किल प¥यो” – सूचना अधिकारी अर्यालले भने ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले प्राविधिक टोलीले सुकिभार जङ्गल नजिकै राप्ती नदी किनारमा डार्ट गरी बेहोस बनाएर भाले गैँडा नियन्त्रणमा लिएको जानकारी दिए ।
गैँडा देखेपछि हात्तीसहितको प्राविधिक टोलीले घेरेर समातेको हो । निकुञ्जका अनुसार गैंडा बर्दिया स्थानान्तरणका लागि निकुञ्जका ३६ वटा हात्ती र १ सय ५० जनशक्ति खटिएका थिए । गैँडा बोक्न र पठाउने यातायातका सामग्री तथा डार्ट गर्ने चिकित्सकीय सामग्रीसहित प्राविधिक टोली खटिएका छन् । निकुञ्जको सुकिभार क्षेत्रबाट तीनवटा पोथी र दुईवटा भाले गैँडालाई बर्दिया पठाइनेछ । बर्दिया छाडिने गैँडालाई रेडियो कलर जडान गरी त्यसको निगरानी गरिने जनाइएको छ ।
सरकारी निर्णयअनुसार आगामी तीनवर्षमा २५ वटा गैँडा बर्दिया पठाइने नीति रहेको छ । त्यस्तै, शुक्लाफाँटा आरक्षमा पाँचवटा गैँडा पठाइँदैछ । नेपालमा सन् १९८६ देखि गैँडा स्थानान्तरण थालिएको हो । हालसम्म बर्दियामा ८३ वटा र शुक्लाफाँटामा चारवटा गैँडा स्थानान्तरण गरिएका छन् ।
हालसम्म चितवन निकुञ्जमा ६०५, बर्दियामा २९, शुक्लाफाँटा आरक्षमा आठ र पर्सा वन्यजन्तु आरक्षमा तीन गरी नेपालमा कुल ६४५ गैँडाको सङ्ख्या रहेको छ ।

Post a Comment

 
Top