पोखरा संसारकै सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य
विश्वका २० पर्यटकीय गन्तव्यमध्ये पोखरा उत्कृष्ट सूचीमा रहेको फोब्र्सको ठहर छ। त्यसै गरी काठमाडौं उपत्यकालाई विश्वकै सस्तो पर्यटकीय गन्तव्यको ७औं सूचीमा सूचीकृत गरिएको छ। उक्त अखबारले प्रतिदिन १५ डलर ८४ सेन्ट अर्थात् १६ सय ९० रुपियाँमा पोखरा घुम्न सकिने तथ्य सार्वजनिक गरेको छ। काठमाडौंका लागि १९ डलर ७६ सेन्ट अर्थात् २ हजार १ सय ७ रुपियाँमा काठमाडौं घुम्न सकिने सो अखबारको ठहर छ।
अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमयका दरलाई आधार मानेर फोब्र्सले खर्चसहितको पर्यटकीय गन्तव्य सार्वजनिक गरेको हो। सो अखबारले सस्तो उत्कृष्ट शहरको दोस्रो सूचीमा भियतनामको हनोई, तेस्रोमा भियतनामकै होची मिन्ह शहर, चौथोमा भारतको गोवा, पाँचौंमा थाइल्यान्डको चियाङ माई तथा छैटौंमा लाओसको भियन सियन भएको जनाएको छ। त्यसै गरी २०औं उत्कृष्ट सस्तो पर्यटकीय गन्तव्यका रूपमा थाइल्यान्डको बैंककलाई सूचीकृत गरिएको छ। प्रतिदिन २५ डलर ६४ सेन्ट अर्थात् २ हजार ७ सय ३३ रुपियाँमा बैंकक घुम्न सकिने फोब्र्सको ठहर छ।
फोब्र्सले मुलुकका दुई वटा पर्यटकीय गन्तव्य समेटेर सार्वजनिक गरेको पछिल्लो खबरसँगै मुलुकका पर्यटन व्यवसायी उत्साहित भएका छन्। नेपाल घुम्न चाहने निम्न र मध्यमवर्गका पर्यटकका लागि यसलाई सुखद खवरका रूपमा लिनुपर्ने पर्यटनकर्मी बताउँछन्। फोब्र्सले सस्तो पर्यटकीय गन्तव्यका रूपमा नेपालका पर्यटकीय क्षेत्र समेट्नु नेपालको समग्र पर्यटन क्षेत्रका लागि निकै उत्साहप्रद खबर भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी बताउनुहुन्छ। ‘सस्तो गन्तव्य भनिए पनि पक्कै पनि गुणस्तर नभएको भन्न खोजिएको होइन’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘उत्कृष्ट र महत्त्वपूर्ण गन्तव्यका रूपमा हामीले बुझ्नुपर्छ।’
गतवर्षको भूकम्प र सीमानाका अवरोधले थलिएको नेपालको पर्यटन क्षेत्रलाई फोब्र्सको सूचनाले गतिलो टेवा मिल्ने उहाँको तर्क छ। भूकम्पपछि केही नेपाल भ्रमण गरेर फर्किएका पर्यटकहरूबाट ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश सम्प्रेषण भइरहेको जोशीको दाबी छ। ‘भूकम्पपछि पनि नेपालले पर्यटन प्रवद्र्धनका गतिविधि गर्दै आएको छ’, उहाँले भन्नुभयो– ‘हामीले विगत ६⁄७ महिनाको अवधिमा विभिन्न मुलुकका ६० भन्दा बढी सञ्चारकर्मीलाई नेपाल बोलाएर नेपालबारेको सत्य तथ्य खबर दिएका छौं।’ भूकम्पअघि वार्षिक ८ लाखभन्दा बढी पर्यटक नेपाल आउने गरेकोमा भूकम्पपछि त्यो दर घटेर ५ लाखका हाराहारीमा सीमित भएको थियो।
प्रसिद्ध पत्रिकाले पोखरा जस्तो पर्यटकीय क्षेत्रलाई उत्कृष्टको सूचीमा सूचीकृत गरेको खबरले समग्र पर्यटन क्षेत्रलाई ऊर्जा थपिएको पश्चिमाञ्चल क्षेत्रीय होटल संघ, पोखराका अध्यक्ष भरतराज पराजुली बताउनुभयो। ‘यस्तो सन्देशसँगै फेरि पनि पोखराको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्कने विश्वास लिएका छौं’ –उहाँले भन्नुभयो।
Post a Comment