0

एनसेलको १० वटा वेस स्टेसनमा अज्ञात समूहद्वारा आगजनी

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सल्यान, दाङ, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ, बाग्लुङ र गोरखा जिल्लामा रहेका कम्पनीको १० वटा वेस स्टेसनमा केही अज्ञात समूहले जेठ २९ गते बिहान आगो लगाई दूरसञ्चार पूर्वाधारमा भौतिक क्षति पुर्याएको घटनाले आफू स्तब्ध र दुःखी भएको जनाएको छ।
आगजनीबाट क्षति पुग्नाले ती जिल्लाका ग्रामीण क्षेत्रका करिब २ लाख ५० हजार ग्राहकलाई प्रत्यक्ष रूपमा र अन्य ठाउँबाट त्यहाँ रहेका आफन्तसँग सम्पर्क गर्ने थुप्रै व्यक्तिलाई सञ्चार सम्पर्क विहीन बनाएको एनसेलले जनाएको छ। यसले नागरिकको सञ्चारमा पहुँच तथा प्रयोगको आधारभूत अधिकार कुण्ठित हुनपुगेको कम्पनीको ठहर छ।
‘जनसमुदायलाई सञ्चारजस्तो अत्यावश्यक सेवा प्रदान गर्ने अति महत्त्वपूर्ण मोबाइल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानुनी तथा गम्भीर अपराध हो। एनसेल सम्बद्ध सबैलाई यस्तो कार्य नगर्न नगराउन हार्दिक अनुरोध गर्दछ,’ एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनले भन्नुभयो।
साथै, अत्यावश्यक सेवा ऐनले समेत नागरिकको अत्यावश्यक सेवाको रूपमा लिएको सञ्चार सेवाको निर्वाध सञ्चालनका लागि सहयोग गर्न सम्बन्धित सबै निकायमा एनसेलले अनुरोध गरेको छ। ‘हामी क्षतिको विवरण प्राप्त गर्ने क्रममा रहेका छौं, त्यसैले के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन,’ भट्टचनले भन्नुभयो। यस अप्रत्यासित घटनाबाट सेवा अवरुद्ध भई ग्राहकमा पर्न गएको असुविधाप्रति एनसेलले क्षमा मागेको छ। यथासक्य छिटो नेटवर्क पुनस्र्थापना गरी सेवा सुचारु गर्न कम्पनी प्रयत्नशील रहेको जनाउँदै, एनसेलले ग्राहकसँग धैर्य आग्रह गरेको छ। ‘हामी आफ्ना १ करोड ४० लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्न सक्ने यस्ता दुर्घटनाप्रति चनाखो रहन सबैलाई अनुरोध गर्दछौं,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भन्नुभयो।

Post a Comment

 
Top