0
सहमतिको सरकारको नेतृत्व गर्न  तयार२६ जेठ 
 
कृषि विकास मन्त्री हरिबोल गजुरेलले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न नेकपा (माओवादी केन्द्र) तयार रहेको बताउनुभएको छ । 
 
आज बिहान पर्वतका सरकारी कार्यालयका प्रमुखसँगको भेटघाट कार्यक्रममा मन्त्री गजुरेलले नेकपा (एमाले)सँगको सहमतिअनुसार अबको सरकारको नेतृत्व माअ‍ोवादीले गर्ने र अब बन्ने सरकार राष्ट्रिय सहमतिको हुने दाबी गर्नुभयो । 
 
उहाँले सरकारका बारेमा नेपाली काँग्रेस र एमाले पनि सकारात्मक भएकाले अब केही समयमै राष्ट्रिय सहमतिको सरकार निर्माण हुन्छ भन्नुभयो । मन्त्री गजुरेलले संविधानको सफल कार्यान्वयनका लागि पनि राष्ट्रिय सहमतिको सरकारको विकल्प नरहेको बताउँदै नेपाली काँग्रेस, एमाले वा माओवादी जुनसुकै दलको नेतृत्वमा भएपनि हुनुपर्ने बताउनुभयो । 
 
माओवादी केन्द्रका नेतासमेत रहेका गजुरेलले राष्ट्रिय सरकारको विषयमा सहमति भयो भने नेतृत्व लिन पनि तयार छौँ, छाड्न पनि तयार छाँै भन्ने सकारात्मक भनाइ भएकाले राष्ट्रिय सहमतिको सरकार बन्ने निश्चित भइसकेको बताउनुभयो । 
 
उहाँले मधेसवादी दलका समस्या वार्तामार्फत हल गरेर अबको २० महिनाभित्र संविधानको सफल कार्यान्वयन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
 
उहाँले बाँकी २० महिनाभित्र संविधानको कार्यान्वयन, स्थानीय निकायको निर्वाचन, प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने काम सम्पन्न गर्नका लागि पनि अब सबै दल एकै ठाउँमा उभिनुपर्ने बताउनुभयो । दलहरु एकै ठाउँमा नहुँदा मुलुकले अग्रगति लिन नसकेको उहाँले दाबी गर्नुभयो ।

Post a Comment

 
Top