मेरो वाचन गर्ने शैली
पुस्तक मात्रै नभई साहित्यिक अन्तरक्रिया, स्रष्टा भेटघाट, हस्ताक्षर लगायतका गतिविधिले प्रदर्शनी मार्गस्थित एक्जिबिसन हलको माहोल रचनात्मक बनिरहेको छ । शुक्रबारदेखि यहाँ जारी २० औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा आफूले चाहेका पुस्तक खोज्न पारखीहरू धाइरहेका छन् ।
प्रदर्शनीको चौथो दिन सोमबार अभिनेत्री गौरी मल्ल संग भेट भयो उहाले अध्ययनकै कारण आफूले कला क्षेत्रमा प्रवेश पाएको अनुभव सुनाउनु भयो
‘मेरो वाचन गर्ने शैली पनि राम्रो थियो,’ अनिल शाहसँगको अन्तरक्रियामा उनले भनिन्, ‘यतिसम्म कि कक्षामा सरहरूले सधैं नाटक र कथा पढ्न लगाउनुहुन्थ्यो । पढ्ने बानीले जीवनमा धेरै परिवर्तन ल्याउने रहेछ ।’
अध्ययनले आत्मविश्वास बढाउने र यही कारण आफूले पहिलो फिल्म ‘सन्तान’ मा काम गर्ने अवसर पाएको उनले खुलाइन् । ‘अनुहार त मेरो खासै राम्रो थिएन,’ उनले भनिन्, ‘तर आत्मविश्वासका साथ संवाद प्रस्तुत गर्दा म छानिएँ ।’
अहिलेसम्म पढेका कृतिमध्ये चाहिँ उनले रुसी साहित्यकार म्याक्सिम गोर्कीको उपन्यास ‘आमा’ सँगै ‘महाभारत’ को सन्दर्भ उक्काइन् । ‘महाभारतमा कृष्णको चरित्र र आमाको पावेलको चरित्रबाट म निकै प्रभावित छु,’ उनले भनिन् ।
आफ्ना सन्तानलाई यो वा त्यो किताब पढ भन्दै दबाब दिनुको सट्टा पहिले पढ्ने बानी बसाउनुपर्ने उनको सुझाव थियो । ‘बानी बसेपछि आफैं खोजीखोजी पढ्छन्,’ उनले भनिन् ।
उमेरले चार दशक नाघेकाले आफू चाहिँ यति बेला रमाइलोभन्दा पनि बिस्तारै आध्यात्मिक र खोजमूलक पुस्तकतिर रम्न थालेको उनले बताइन् ।
बैंकर शाहले पनि पढ्ने बानीकै कारण आफू बैकिङ क्षेत्रमा आएको बताए ।
बैंकर शाहले पनि पढ्ने बानीकै कारण आफू बैकिङ क्षेत्रमा आएको बताए ।
प्रदर्शनी स्थलमा स्वदेशी र विदेशी गरेर ६० भन्दा बढी प्रकाशक तथा वितरकहरूले एक सयभन्दा बढी स्टल राखेका छन् । ‘पढ्नलाई प्रेरणा’ नारा दिइएको प्रदर्शनी उत्साहजनक रहेको आयोजक ग्लोबल एक्स्पोजिसनका कार्यकारी निर्देशक सन्तोष छेत्रीले जनाए ।
‘आगन्तुकहरूको सुविधाका लागि सधैंझैं यसपालि पनि नाम चलेका विभिन्न विदेशी प्रकाशकहरूका किताब पनि राखेका छौं,’ निर्देशक छेत्रीले भने । उनका अनुसार अक्सफोर्ड, क्याम्ब्रिज, पेन्गुइन, रेन्डम बुकहाउस, टेलर एन्ड फ्रान्सेस, न्यु एज इन्टरनेसनलजस्ता विश्वमै चर्चित प्रकाशकका स्टल पनि छन् । ‘नेपाली प्रकाशकहरू त छुट्ने कुरै भएन,’ उनले भने, ‘साहित्य, संस्कृति, समाज, विज्ञान, दर्शन, बालबालिका, महिला, राजनीति, जीवनशैली, कला लगायत दर्जनौं विधाका पुस्तकहरू राखिएका छन् ।’
Post a Comment