![](https://www.onlinekhabar.com/wp-content/uploads/2017/08/volentier-madam.jpg)
२ भदौ, डोटी । आदर्श गाउँपालिका-३ (साबिकको दलकालिकास्थान गाबिस-२ ऐली)की हरिना बिक महिला स्वास्थ्य स्वयंसेबिका भएको १८ बर्ष भयो । हरिनाले तीन बर्ष पहिले दहकालिकास्थान उपस्वास्थ्य चौकीबाट नेपाल टेलिकमको पि्रपेड सिम प्राप्त पाइन् । सिम लिँदै गर्दा उनले वितरणकर्तासँग सिमले मात्र के गर्ने ? भनेर सोध्दाम अर्को वर्ष सेट पाइने जानकारी पाएकी थिइन् ।
सेट पाउने आशामा हरिनाले सिम सिरानीमुनी जतन गरेर राखिन् । तर, तीन बर्ष बितिसक्दा पनि उनले मोवाइल सेट पाइनन् । उनले पाएको सिम पनि त्यतिकै रह्यो । ‘मोवाइल सेट पनि पाइन्छ भनेका थिए डाक्टर साहेवले’ त्यतिबेलाको कुरा सम्झदै उनी भन्छिन् ‘तीन बर्षसम्म पनि मोवाइल पाइएन ।’ अहिले पनि सिम जतन साथ राखेको उनी बताउँछिन् ।
गाउँमा स्वास्थ्यकर्मीहरुलाई डाक्टर भन्ने चलन छ ।
हरिनाको जस्तै आदर्श गाउँपालिका-७ कि डमरी किमाडीले पनि स्थानीय स्वास्थ्य संस्थाबाट सिम पाइन । उनले पनि अर्को बर्ष मोवाइल सेट पाउने आश्वासन पाएकी थिइन । मोवाईल सेटमा पाउने आशमा उनले केही समय सिम थन्काएर राखिन् । सेट पाउने छाँट नदेखिएपछि उनले त्यो सिम आफ्नो छोरीलाई दिइन । ‘मोवाईल नपाएपछि मैले सिम छोरीलाई दिएँ, अहिले छोरीले चलाउँदैछे’ डमरी भन्छिन् ‘कहिलेकाँही अस्पताल (स्वास्थ्य चौकी) बाट फोन आयो भने छोरीले नै उठाउँछे अनि मलाइ खवर गरिदिन्छे ।’
आदर्श-३ कि कमला रोकायालाई त उनले पाएको सिम चल्छ कि बन्द भइसक्यो भन्ने पनि जानकारी छैन । उनी अहिलेसम्म पनि मोवाइल चलाउँदिनन् । भन्छिन् ‘मलाइ मोवाइल चलाउन आउँदैन त्यसैले किनिन, उताबाट पनि दिएन अनि कसरी चलाउनु ?’
सरकारले स्वास्थ्यसम्वन्धी सूचनाहरु महिला स्वास्थ्य स्वयंसेबिका मार्फत समुदायमा पुर्याउन सजिलो होस् भन्नका लागि दिएका सिमहरु अधिकांश स्वास्थ्य स्वयंसेविकाहरुले उपयोगमा ल्याएका छैनन् । कसैले प्रयोगै नगरी थन्काएका छन भने कसैले आफन्तलाई प्रयोग गर्न दिएका छन ।
तर, सिम पाएको तीन बर्ष बित्दा समेत उनीहरुले मोबाइल सेट पाउने आशा मारेका छैनन् । आदर्श गाउँपालिका-४ की चन्दि्रका बिष्ट भन्छिन् ‘मैले त आफैं सेट किनेर चलाउँदैछु, तर सरकारले दिन्छु भनेपछि दिनु पर्ने हो ।’ सवै स्वयंसेबिकाहरुसंग मोवाइल सेट किन्न सक्ने आर्थिक हैसियत नभएको उनको भनाइ छ ।
मोवाइल दिने भन्ने कुरा नभएको बताउँछन जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख सतिस बिष्ट । ‘त्यो कसैले त्यत्तिकै भनेको होला’ बिष्ट भन्छन् ‘सिम मात्रै बितरण गरिएको हो, सेट दिने कुरा भएको होइन ।’
सुरुमा सेट सहित दिने भन्ने कुरा चलेको भएपनि बजेट धेरै लाग्ने भएर होला पछि सिम मात्रै बितरण गरिएको उनले बताए ।
१० मिनेट कुरा गर्यो भने संचित रकममा एक रुपैयाँ थप हुने सुबिधा सहितको सिम त्यतिबेला बितरण गरिएको बिष्ट बताउँछन । उनी भन्छन् ‘मन्त्रालय र नेपाल टेलिकमबीच भएको सहमतिका आधारमा यस्तो सुविधा भएको सिम देशैभरीका महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई बितरण गरिएको थियो ।’
सिमको अहिलेको अवस्था कस्तो छ भन्ने बिषयमा जानकारी नभएको बिष्ट बताउँछन् । सुरुमा सिम बितरण गर्दा एक सय रुपैयाँ संचित रकमसहित बितरण गरिएको थियो ।
Post a Comment