राजा महेन्द्रसंग विहे गर्न नमानेकि जंगबहादुरकि नातिनी भुवन वृद्धाश्रममा

उहाँको दाबीअनुसार परिवारले सम्झाएको मानेर तत्कालीन राजदरबारको प्रस्ताव स्वीकार गरेको भए सम्भवतः गणतन्त्र नेपालका नागरिकले अहिले उहाँलाई ‘पूर्वमुमा बडामहारानी’ भनेर बोलाउँथे होलान् । जीवनको उत्तरार्द्धमा उहाँले सुखसयलकै जिन्दगी बिताइरहनुभएको हुन्थ्यो होला । तर, यौवनावस्थामा गरेको एउटा कठोर निर्णयले ८८ वर्षीया भुवन राणालाई अहिले वृद्धाश्रममा थन्किन बाध्य बनाएको छ । जंगबहादुरकी पनातिनी भुवन अहिले कोटेश्वरस्थित निःसहाय सेवा केन्द्रमा जीवन बिताइरहनुभएको छ ।
अहिले पनि उनको बोलीचालीमा उतिबेलाकै राणा परिवारको रवाफ छ । तर, दरबारकी बुहारी बन्ने प्रस्ताव अस्वीकार गरेको उहाँको कुरा अहिले मानिसले सितिमिति पत्याउनै गाह्रो मान्छन् । भुवन आफूलाई जंगबहादुरका सन्तान दाबी गर्ने थीरजंग राणा र उनकी पत्नी महालक्ष्मीकी जेठी सन्तान हुनुहुन्छ । उहाँ खिचापोखरीको घरमा उहाँ जन्मनुभएको हो । आमाबुवा र चार भाइबहिनी गरी ६ जनाको परिवार थियो । भुवनका बुवा त्यतिबेला बडाहाकिम हुनुहुन्थ्यो । भुवनको स्याहार सुसारका लागि छुट्टै सुसारे थिइन् । त्यस्तो सुखसयलमा हुर्किएकी भुवनलाईर् अहिले वृद्धाश्रम ‘जेल’ जस्तै भएको छ ।
उमेर छँदा भुवन निकै सुन्दरी हुनुहुन्थ्यो रे । त्यसमाथि राणा परिवारकी छोरी । सबैको आकर्षण हुने नै भयो । तत्कालीन शाहवंशीय राजाहरूसित उहाँको परिवारको साइनो सम्बन्ध छँदै थियो । त्यसैले राजदरबारमा जाने र राजपरिवारका सदस्य उहाँको घरमा आउने क्रम चलिरहन्थ्यो । यही क्रममा तत्कालीन युवराज महेन्द्रले उहाँलाई मन पराउनुभयो । त्यसपछि दरबारबाटै आफूलाई बिहेको प्रस्ताव आएको उहाँ बताउनुहुन्छ । ’विसं १९९५ सालतिरको कुरा हो । म १५ वर्षकी थिएँ । युवराज महेन्द्रले मलाई मन पराएका रहेछन् । बिहेको प्रस्ताव आयो,’ हल्का मुस्कुराउँदै भुवनले आफ्नो जवानीका कुरा खोल्नुभयो, ‘उमेरमा त साह्रै राम्री थिएँ नि, अहिले पो बूढी भएँ, त्यसमाथि त्यसबेला राणाकी छोरी भन्ने हुन्थ्यो ।’
परिवारले नै कर गर्दा पनि युवराजसित बिहे गर्न किन मान्नुभएन ? जिज्ञासामा भुवनले भन्नुभयो, ‘अरूको बिहे देखेर मलाई मनै लागेन । राजा महेन्द्र मात्रै हो र ? माग्न त कति आए कति, तर मलाई बिहे गर्न मनै लागेन ।’ परिवारले सम्झाउनुका साथै निकै दबाब दिए पनि जबरजस्ती बिहे गर्न नसकेको उहाँले बताउनुभयो, ‘कसैको कुरा सुनिनँ मैले, जबरजस्ती बिहे गरिदिन कसैले सकेनन् ।’ वृद्धाश्रमको आश्रयमा दिन बिताइरहेकी भुवनलाई विगतको निर्णय सम्झेर अहिले ठूलो पछुतो नलागे पनि उल्लास पनि छैन । ‘सपनाजस्तै लाग्छ, विगत सम्झिदा त । यस्तो (वृद्घाश्रम) मा आएर बस्छु भन्ने कसले सोचेको थियो र ? कर्म यस्तै रै’छ, के गर्ने,’ आफैलाई सान्त्वना दिने प्रयास गर्दै उहाँ भन्नुहुन्छ ।
आम नेपालीले विरलै पाउने सुखसयलमा उहाँका दिन बितेका थिए । जीवनको उत्तरार्द्ध वृद्धाश्रममा बिताउनुपर्नेछ भन्ने त कल्पनामा समेत थिएन । ‘सुती-सुती नोकर चाकरलाई कँजाएर खान्थेँ,’ भुवनले विगत सम्झँदै भन्नुभयो ‘मेरो छुट्टै सुसारे थियो, परिवारका मान्छेपिच्छे सुसारे थिए । केही काम गर्नु पर्दैनथ्यो । सबै काम उनीहरूले नै गर्थे ।’ त्यस्तो सुखसयलमा हुर्किएकी भुवनलाईर् अहिले वृद्धाश्रममा बेलाबेला विरक्त लाग्छ, आफ्नै जीवन देखेर । मानिससित खुलेर कुरा गर्न पनि मन लाग्दैन । ‘कसैसँग खुलेर कुरा गर्न पनि मन लाग्दैन, कतिबेला त रुनमात्रै मन लाग्छ,’ कुरा गर्दै जाँदा उहाँको गह भरिन थाले । परेलीछेउसम्मै आँशु टिलपिल भयो । फेरि आफँैलाई सान्त्वना दिँदै उहाँले भन्नुभयो ‘यो उमेरमा अरू उपाय पनि त छै्रन नि अब । त्यही भएर जसोतसो यहीँ बसेकी छु ।’
कहिलेकाहीँ उमेरमा घरजम गरेको भए हुन्थ्यो जस्तो पनि लाग्छ उहाँलाई । तर, छोराछोरी, नातिनातिना भएकाको पनि बेहाल देखेर चित्त बुझाउनुहुन्छ । अहिले भने बिहे नगरेर राम्रै गरेजस्तो लाग्छ रे । किनभने छोराछोरी भएका राम्रा घरका वृद्धवृद्धा पनि उहाँसँगै आश्रममा छन् । आफूले पाएको ‘दिव्यज्ञान’झै उहाँ सुनाउँनुहुन्छ- ‘छोराछोरी भए पनि सुख त पाइने रहेन छ नि । बेलामा कति माग्न आए-आए, अहिले केको पछुतो मान्नु र ? बरु ठिकै गरेछु, छोराछोरी भए पनि पाल्ने रहेनछन्, यहाँ छोराछोरी भएका राम्रै घरका पनि धेरै महिला छन् ।’
भुवनलाई शरीर काँप्ने समस्या छ । त्यसैले आफै खाना खान सक्नुहुन्न । भान्छे शान्ता लामिछानेले उहाँलाई खाना खुवाइदिने गर्नुहुन्छ । राणा परिवारकी छोरी भएको रवाफ अहिले पनि भुवनमा छ । भान्छे लामिछानेको बुझाइमा भुवनको अलि छुच्चो स्वभाव छ । अरूलाई कँजाएर खानुपर्छ भन्ने भावना अझै उहाँको मनबाट हट्न सकेको छैन । ‘यहाँ पनि कसैसँग मिल्न सक्दिनन्, हामीलाई खाना खुवाउने बेला निकै समस्या हुन्छ,’ लामिछानेले भन्नुभयो, ‘राणा परिवारकी छोरी हुँ, मभन्दा अरू कोही बलियो छैन भन्ने व्यवहार भुवनले हामीसित पनि देखाउनुहुन्छ ।’
८८ वर्षकी भुवनलाई आमा भनेर कसैले सम्बोधन गरे औधी रिस उठ्छ । राणा परिवारकी अविवाहित उनलाई सबैले ‘मै’साप’ भनेको मनपर्छ । उहाँ बसेको आश्रममा पनि सबैले उहाँलाई त्यही भनेर बोलाउँछन् । ‘सबैले उनलाई मै’साप नै भन्नुपर्छ, अरू सम्बोधन गरे अपमान गरेजस्तो महसुस गर्नुहुन्छ,’ लामिछानेले सुनाउनुभयो ।
Post a Comment