राजपरिवारसँग सम्बन्ध राख्ने गोल्छा परिवारमा विद्रोह

असोज २० गते एमालेको समानुपातिक उम्मेदवारी अस्वीकार गर्दै जिल्ला निर्वाचन कार्यालयमा पत्र लेखेकी विराटनगरकी धनाढ्य गोल्छा परिवारकी राजलक्ष्मी गोल्छाले एमालेकै उम्मेदवारी स्वीकादै आइतबार विज्ञप्ति निकालिन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट समेत उनको बन्दसूची परेको थियो।
आफू एमालेको आधिकारीक उम्मेदवार भन्दै उनले निर्वाचन आयोग र सम्बन्धित पार्टीहरू समेतलाई बोदार्थ लेखेकी छिन्। विज्ञप्तिमा उनले राप्रपा नेपाललाई 'सम्मान गर्दै समावेश गरेकोमा धन्यवाद' भनेकी छिन्।
एमालेमा लाग्नुको स्पष्ट कारण खुलाउन नसकेकी उनले आफ्नो राजनीतिक आस्था र विचार पार्टीमा नभएर नेपाल र नेपालीमा रहेको बताएकी छिन्। आफू दल खोज्दै हिँडेको नभएर एमालेले सहयात्री बनाएको उनको दाबी छ।
'एकै व्यक्ति दुई दलको तानातानमा कसरी परिन्?,' एमाले केन्द्रले सिधै सिफारिस गरेकी गोल्छालाई 'विचारधारा मिल्ने' भन्दै राप्रपा नेपालले सिफारिस गरेको स्थानीय कार्यकर्ताले भने। राप्रपाका स्थानीय कार्यकर्ताका अनुसार राजपरिवार र पूर्वयुवराज्ञी हिमानी साहसँग निकट रहेकी हुनाले राजासहितको प्रजातन्त्रको पक्षमा लडेको दलले राजलक्ष्मीलाई समानुपातिक उम्मेदवार बनाउन चाहेको थियो।
'उहाँ राजपरिवारसँग नजिक रहँदै आउनुभएको मान्छे हो,' राप्रपा नेपालका जिल्ला अध्यक्ष डम्बर कार्कीले भने, 'हाम्रो चुनावी नारा पनि राजतन्त्रको पक्षमा छ, उहाँले सहयोग गर्छु भनेर बचन दिएपछि हामीले बन्दसूचीमा नाम राख्यौं।' एमालेका जिल्ला अध्यक्ष महेश रेग्मी केन्द्रबाट सिधै सिफारिसमा परेको हुनाले राजलक्ष्मीबारे थाहा छैन।
तर एमालेमा उनले तीन करोड रूपैयाँ खर्च गर्न सहमत भएको हल्ला छ। गोल्छा भन्छिन्, 'मेरोमात्र हैन, सबै उद्योगी व्यापारीले पार्टीलाई पैसा दिने सर्तमा समानुपातिक उम्मेदवार बन्न तयार भए भन्ने हल्ला छ।' संविधान लेख्नुपर्ने ठाउँमा पुग्न लागेकी गोल्छा समाजसेवाको लागि 'प्लेटफर्म'को रूपमा राजनीतिमा प्रवेश गरेको बताउँछिन्।
गोल्छा परिवारको चारपुस्ते इतिहास पल्टाउँदा उनीहरू राजपरिवारसँग निकट छन्। राजलक्ष्मी आफैं हिमानीसँग नजिक छिन्। 'हिमानी सरकार पनि राजस्थानकै हो म पनि,' 'गणतन्त्रवादी' दलकी यी उम्मेदवारले भनिन्, 'राजपरिवारसँग राजनीतिक हैन, पारिवारीक सम्बन्ध हो मेरो।' हिमानी एक सालअघि विराटनगर आउँदा उनले गोल्छा हाउसै पुर्याइन्। हिमानीको भान्सा राजलक्ष्मीकै घरमा भयो।
राप्रपा नेपालको जिल्लास्तरको कुनै पनि नेतालाई चिन्दै नचिन्ने बताउने गोल्छा आफ्नो नाम स्वविवेकले हालेको दाबी गर्छिन्। 'राप्रपाको को छ यहाँ आधिकारीक व्यक्ति मलाई त्यो पनि थाहा भएन,' गोल्छाले भनिन्, 'मेरो अनुमति नै नलिइकन नाम हालेछन्।' राप्रपा जिल्ला अध्यक्ष कार्की भने अनुमति नै बिना हालेको नाम निर्वाचन आयोगले कसरी स्वीकार्छ? भन्छन्। 'उहाँ खै कसरी एमाले बन्नुभयो थाहा भएन,' उनले भने, 'हामीले त पैसोसैसो पनि मागेका थिएनौं।'
आफ्नै हस्ताक्षरले निर्वाचन कार्यालयमा लेखेको चिठ्ठीमा गोल्छाले 'चलखेल' भएको दाबी गछिर्न्। गोल्छा हाउसबाट उनको अनुमतिबिना कसले चिठ्ठी लेख्न सक्छ? 'कसैले चलखेल गर्यो, मैले चिठ्ठी लेखेकै हैन,' उनी भन्छिन्, 'मैले थुप्रै कागजमा सही गरेर विदेश गएकी थिएँ, कसैले त्यस्तो चिठ्ठी पठाइदिएछन्।'
राजतन्त्रमा, हिन्दु राष्ट्र र गणतन्त्रको पक्षमा राख्ने विचारधारा धेरै फरक छ। राजपरिवार निकट मान्छे कसरी गणतान्त्रिक दलमा पुगियो त? गोल्छा भन्छिन्, 'म कुनै विचारधारा बोकेर राजनीतिमा लागेकी हैन, राजपरिवारसँग त हाम्रो पूरानो सम्बन्ध हो, उम्मेदवारी मेरो प्लेटफर्म हो।' मारवाडी समुदायका छोरीमान्छे कोही पनि बाहिर ननिस्केको बताउने गोल्छा आफूले त्यसलाई तोड्न खोजेको बताउँछिन्।
राप्रपाको दाबीअनुसार एमालेले भन्दा पहिले राप्रपाले राजलक्ष्मी राप्रपाको उम्मेदवार बन्न तयार भएकी हुन्। उनलाई एमालेको जिल्ला कमिटीले कहिल्यै सिफारिस गरेको थिएन। जिल्लाको सिफारिसमा परेका जगदीश राठी, ताराचन्द खेतान र श्रीनिवास सारडा कसैले एमालेबाट नाम निकाल्न सकेनन्, अन्त्यमा राजलक्ष्मी परिन्।
एमाले राजनीति कुनै राजनीतिक विचार वा योगदान नरहेको व्यक्ति सिफारिसमा परेको भन्दै एमाले जिल्लास्तरमा गोल्छाको उम्मेदवारीले असन्तुष्टि जन्माएको छ। 'एमालेमा लामो समयदेखि योगदान गरेका व्यक्तिलाई गोल्छाको उम्मेदवारीले निराश पार्दिएको छ,' एमाले जिल्ला सदस्य पारूल क्षेत्रीले भने, 'अस्वीकार गरेर चिठ्ठी लेख्दालेख्दै पनि नाम राखिएको छ।'
लामो समयदेखि राजपरिवारसँग नजिकको सम्बन्ध रहेको भन्ने गरिएका गोल्छा परिवारमा अहिले विद्रोह आएजस्तै भएको छ। उनका देवर राजकुमार गोल्छा एमाओवादीका समानुपातिक उम्मेदवार बनेका छन्।


यसअघि उनले सभासद् अश्विकार गर्दै एमालेलाई लेखेको पत्र यस्तो छ

Post a Comment