0

सिडियोले सेना परिचालन गर्न सक्ने रेग्मीको संकेत

 मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले चुनाव बहिस्कार गर्नेहरुसँग कुनै पनि हालतमा सम्झौता नगर्ने र जस्तो परिस्थिति आउँछ त्यसको सामना गर्ने बताउनुभएको छ । उहाँले चुनावका बेला जिल्ला सुरक्षा समिति अन्तरगत प्रमुख जिल्ला अधिकारीले समेत सेना परिचालन गर्न सक्ने व्यवस्था मिलाइएको जनाऊ दिनुभएको छ ।
khilraj-Regmi
नेकपा-माओवादीले पत्रकार सम्मेलन गरेर सरकारको सामना गर्न तयार रहेको चेतावनी दिएकै दिन अध्यक्ष रेग्मीले चुनाव बिथोल्नेहरुविरुद्ध कडा चेतावनी दिनुभएको हो । ‘जहाँसम्म नेपाली सेना सुरक्षा व्यवस्थामा खटिएको कुरा हो त्यो पनि संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले पारित गरेर राष्ट्रपतिबाट स्वीकृत भइसकेपछि निर्वाचन प्रयोजनार्थ कार्यान्वयनमा आएको हो ।’
अध्यक्ष रेग्मीले मंगलबार सरकारी सञ्चारमाध्यमहरुलाई संयुक्तरुपमा अन्तरवार्ता दिँदै भन्नुभयो- ‘केन्द्रीय सुरक्षा समितिदेखि लिएर क्षेत्रीय सुरक्षा समिति र जिल्लामा सबैलाई व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति हुन्छ । त्यसबाट अनुगमन गरेर एकीकृत रूपमा समन्वय र सहकार्यमा कुन कुरालाई कसरी सम्बोधन गर्नुपर्छ सहभागितात्मक अवधारणाबाट निर्वाचनमा सुरक्षाको व्यवस्थापन भएको छ ।’
चुनाव बहिस्कार गर्नेहरुविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै अध्यक्ष रेग्मीले भन्नुभयो-’सुरक्षा र सरकारको व्यवस्थापन भनेको परिस्थिति जस्तो आउँछ, त्यस्तै किसिमले संवोधन गर्दै अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । बढीभन्दा बढी ८०/९० प्रतिशत नेपाली जनताको इच्छा र आकाँक्षालाई हामीले अन्यथा हुन दिन हुँदैन र त्यसलाई कुल्चने अधिकार कसैलाई पनि छैन ।’
अध्यक्ष रेग्मीले चुनावमा अवरोध गर्नेलाई कडा कारवाही गरिने बताउँदै भन्नुभयो- ‘निर्वाचनमा सहभागी हुने नुहने उसको स्वतन्त्रताको कुरा हो । तर, कसैको मताधिकारमा अवरोध खडा गर्ने, देशमा अशान्ति र असुरक्षा मच्चाउने त्यस्तो काम कुनै पनि हालतमा क्षम्य हुँदैन, त्यसलाई कुनै पनि हालतमा सरकारले कानुनी दायरामा ल्याउन पछि पर्दैन ।’

Post a Comment

 
Top