आराफातलाई विष दिइएको हुन सक्ने निष्कर्ष

अराफातकी श्रीमति शुहाले नयां नतिजाले आराफातको हत्या गरिएको पुष्टि भएको बताएकी छन्
दिवंगत प्यालेष्टिनी नेता याशेर अराफातको शवका अंशहरुको परिक्षण गरेका स्वीटजरल्याण्डका वैज्ञानिकहरुले उनलाई विष दिइएको हुन सक्ने निष्कर्ष निकालेका छन्।
वैज्ञानिकहरुले भनेका छन् अराफातको हड्डीहरुमा उच्च मात्रामा पोलोनियम नामको रेडियो विकिरण पदार्थ देखिएको छ।
अराफातकी श्रीमति शुहाले, उक्त नतिजाहरुको आधारमा अराफातलाई हत्या गरिएको भन्ने अनुमानको पुष्टि भएको बताएकी छिन्।
उनले भनिन्, “मलाई फेरि उनको शोकमा रहेको जस्तो अनुभव भैरहेको छ। म स्तब्ध छु र आक्रोशित पनि।“
रहस्यमय
"मलाई फेरि उनको शोकमा रहेको जस्तो अनुभव भैरहेको छ। म स्तब्ध छु र आक्रोशित पनि"
शुहा, यासेर अराफातकी श्रीमति
प्यालेष्टिनी प्रशासनका अध्यक्ष याशेर अराफातको नौ बर्ष अघि प्यारिस स्थित एउटा अस्पतालमा रहस्यमय परिस्थिति माझ निधन भएको थियो।
मृत्यु हुनु एक महिन अघि मात्र उनी रमाल्लाह स्थित आफ्नो कार्यालय परिसरमा विरामी परेका थिए।
स्वीट्जरल्याण्डका वैज्ञानिकहरुले गरेका परिक्षणको नतिजाको एक प्रति उनकी श्रीमति शुहालाई उपलब्ध गराइएको थियो।
त्यसपछि प्रतिक्रिया जनाउंदै उनले आफ्ना पति विरुद्ध “स्तब्धकारी अपराध” गरिएको बताएकी छिन् तर उनले त्यसका लागि कसैलाई दोष भने दिएकी छैनन्।
उनले, अब आफ्नो श्रीमानको मृत्युका सम्बन्धमा अनुसन्धान गरिरहेको एउटा प्यालेष्टिनी कमिटिले त्यस्तो “अपराधका पछाडि रहेका बास्तविक व्यक्ति” लाई पत्ता लगाउनु पर्ने माग गरेकी छिन्।
प्रतिक्रिया

अराफातको समाधिस्थल गत वर्ष नोभेम्बरमा खुला गरिएको थियो
रमाल्लाहस्थित बीबीसी सम्बाददाता योलण्डे नेल भन्छिन्, प्यालेष्टिनी अधिकारीहरुले यस विषयमा आफ्नो प्रतिक्रिया आगामी दिनमा व्यक्त गर्ने जनाएका छन्।
इजरेलले लामो समयअघि देखि नै याशेर अराफातको मृत्युमा आफ्नो कुनै भूमिका नरहेको बताउंदै आएको छ।
इजरेली विदेश मन्त्रालयका एकजना प्रवक्ताले ती आरोपहरुलाई “वैज्ञानिक तथ्य भन्दा पनि काल्पनिक नाटक” भनेर खण्डन गरेका छन्।
उनले त्यस्तो परिक्षण गराउने काम “सम्बन्धित व्यक्तिहरुबाटै” भएकोले नयां वैज्ञानिक अनुसन्धान निष्पक्ष नभएको बताएका छन्।
परिक्षण
याशेर आराफातलाई विष दिइएको हुनसक्ने अनुमानका माझ गत बर्ष उनको शवलाई समाधिस्थलबाट बाहिर निकालेर परिक्षणहरु गरिएको थियो।
स्वीस वैज्ञानिकहरुले दुई बर्ष लगाएर याशेर अराफातको चिकित्सा अभिलेखहरु, उनले प्रयोग गरेका नीजी सामान र उनको शबबाट निकालिएका अंशहरुको अनुसान्धन गरेका थिए।
र तिनीहरुले एकसय आठ पृष्ठ लामो प्रतिवेदन तयार पारेका छन्।
यसैबीच फ्रान्स र रुसका वैज्ञानिकहरुले पनि गरिरहेका यस्तै अनुसन्धानको नतिजा भने आइसकेको छैन।
Post a Comment