0

चुनावै नजित्दै ५ करोडको माला !w

कमल पराजुली


 कात्तिक १५ –

 २०६४ सालको संविधानसभाको चुनावमा विजयी भएपछि तत्कालिन नेकपा माओवादीले काठमाडौंमा निकालेको विजयी जुलुसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अनुहार मालाले पुरै छोपिएको थियो ।

चुनाव जित्ने अरु नेताहरुले पनि यसैगरी फूलमाला र अबीरजात्रा गरेर विजय जुलुस निकाल्ने गर्छन् । तर यसपटक भने यो दृष्य चुनावी प्रचारकै बेला देख्न पाइएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्रै होइन, अहिले सबै उम्मेदवार गलाभरी माला लगाएर जनताका घरदैलोमा भोट माग्न पुगेका छन् ।ठूला नेता गाउँमा आउँदा फूलमालाले स्वागत गर्नु स्वभाविक पनि हो । तर कति उम्मेदवारलाई भने गाउँमा नपुग्दै कार्यकर्ताले बाटोमै फूलमाला लगाइदिने गर्छन् । यसपटक संविधानभा चुनावमा ६ हजार ३ सय जना उम्मेदवार छन् । एउटा उम्मेदवारले चुनाव प्रचारका क्रममा एकदिनमा कम्तिमा पाँचवटासम्म माला लगाउने गरेको देखिन्छ । अहिले एउटा मालाको बजारमा ५० रुपैयाँ भन्दा धेरै नै पर्छ । यसैलाई हिसाब गर्दा पनि चुनाव प्रचारको एक महिनाको अवधिमा उम्मेदवारले करिब पाँच करोडको त माला मात्रै लगाउनेछन् ।यो माला अधिकांश भारतबाटै ल्याइएको फूलबाट बनाइने भएकोले चुनावका लागि आउने मालाका लागि मात्रै यति धेरै पैसा भारत जाने भएको हो । तिहारको समय सबैभन्दा धेरै फूल र मालाको कारोबार हुने समय हो । तर यसपटक चुनाव समेत परेको र उम्मेदवारहरुमा प्रचारकै क्रममा विजयी भैसके जसरी अबिर र माला लगाउने होड चलेपछि यतिबेला फूल व्यापारीलाई भ्याईनभ्याई छ । तिहारको लागि भनेर तयार गरेको माला उम्मेदवारका लागि पनि नपुगेपछि अहिले व्यापारीले धमाधम भारतबाट फूल आयात गरिरहेका छन् ।
अघिल्ला वर्षहरुमा तिहारको बेला सयपत्री र गोदावरीका ५ करोडको माला विक्रि हुन्थ्यो । तर यसपटक यतिले त उम्मेदवारलाई पनि नपुग्ने व्यवसायीहरुको भनाइ छ । ‘यसपटक तिहारमा स्वदेशी फूलले तिहारको माग करिब करिब धान्ने ठानिएको थियो,  तर उमेदवारले सबै माला भ्याईसके’ नेपाल फ्लोरिकल्चर एसोसिएसनका उपाध्यक्ष कुमारकसजु श्रेष्ठले भन्नुभयो, ‘ भारतबाट ल्याएर भएपनि माग पूरा गरिरहेका छौं ।’ चुनाव प्रचारका क्रममा उमेदवारहरुले खादा लगाएर जनतालाई हात जोड्दै हिडेको दृष्य यसअघिका चुनावमा देखिन्थ्यो । तर अहिले बिल्कुलै फरक देखिएको छ । चुनाव जित्ने सम्भावना ठानिएका उम्मेदवारदेखि ससाना पार्टी र स्वतन्त्र उम्मेदवारहरु समेत रातै अबीर र गलाभरी माला लगाएर प्रचारमा हिँडिरहेका छन् । यसले चुनाव प्रचारमा फेरिएको शैलीलाई मात्रै देखाएको छैन,  पुष्प ब्यापारीहरु पनि उत्साहित छन् ।
‘औपचारिक कार्यक्रमदेखि यस्ता चुनाव प्रचारसम्ममा कपडाकै खादा प्रयोग गर्ने चलन थियो’ नेपाल फ्लोरिकल्चर एसोसिएसनका उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अहिले त जहाँ पनि मालाकै प्रयोग बढेको छ, यो हाम्रो लागि खुसीको कुरा हो ।’

Post a Comment

 
Top