0

लुकिछिपी निर्वाचन भाँड्ने देखिएः रेग्मी


Khil Raj Regmi
 
कार्तिक १५ -
 मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले निर्वाचन भाँड्नेहरु लुकिछिपी घटना घटाउन सक्रिय रहेको बताएका छन् ।
'निर्वाचनप्रति अनावश्यक संशय वा अविश्वास पैदा गराउने कार्यमा केही समूह वा व्यक्तिहरुले लुकीछिपी घटना घटाउने वा केही सार्वजनिक स्थानहरुमा अवरोध, व्यवधान वा बाधा गर्न खोजेको पनि देखिन आएको छ,' राजधानीमा शुक्रबार भएको एक कार्यक्रममा उनले भने, 'यस्ता कार्यहरु समाजविरोधी गैर राजनीतिक चरित्रका कानून प्रतिकूल हुन् । जसलाई सरकारको सुरक्षा संयन्त्र र प्रशासनिक निगरानीबाट नियन्त्रण गरी रहेको छ र गर्ने प्रयास भइरहेको छ ।'
रेग्मीले कुनै स्थानमा अवरोध वा अप्ठेराहरु श्रृजना गर्नसक्ने अवस्थालाई सतर्कताका साथ निगरानी राख्दै कुनैपनि प्रकारको घटना हुन नदिन निवारणात्मक उपायहरु पनि सरकारले अवलम्बन गरेको बताए ।
'कसैको मताधिकारलाई प्रभाव पार्नेगरी कुनैपनि नाम वा समूहबाट हुने कार्य प्रचलित कानूनी व्यवस्था प्रतिकूल हुने भएकाले त्यस्तो अवस्थामा सरकारका अधिकारप्राप्त निकायहरुले कानूनबमोजिम कारबाही अघि बढाउने भएकाले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सञ्चालन हुन दिन सबैसँग आग्रह पनि गर्दछु ।'
रेग्मीले वर्तमान सरकार आगामी मंसिर ४ गतेका लागि निर्धारित संविधानसभा निर्वाचन गराउन दृढतापूर्वक लागेको उल्लेख गरे । 'निर्वाचन सरकारको नामबाट परिचित यस सरकारले आजका दिनसम्म आइपुग्दा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार, सुरक्षा व्यवस्थापन, निर्वाचनमैत्री वातावरण निर्माण तथा आम जनसमुदायमा निर्वाचनप्रति उत्साह र आकर्षण श्रृजना गराउन गरेका सबै कार्यमा सफल हुँदै अहिले सरकार जनताको मताधिकार सुनिश्चित गर्ने कार्यमा सक्रिय रहेको छ,' उनले भने ।

Post a Comment

 
Top