डा. केसीको माग सम्बोधन नगरिएकामा निर्देशक डा. कोइराला असन्तुष्ट
८ माघ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक प्रा.डा. भगवान कोइरालाले सोही अस्पतालका प्रा.डा. गोविन्द केसीको मागलाई सम्बोधन गर्न सम्बन्धित निकायबाट ढिलाइ भइरहेकामा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि डा केसीले तेस्रो पटक अनशनमा बस्नुभएको आज १२ दिन भइसकेको छ । यसबीचमा विभिन्न तहबाट अनशन अन्त्य गर्ने प्रयास भएपनि आफ्नो मागलाई सम्बोधन नगरेको भन्दै डा. केसीले अनशन अन्त्य गर्न मानिरहनु भएको छैन ।
अस्पतालका निर्देशक डा. कोइरालाले रासससँगको कुराकानीमा भन्नुभयो, “डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । अस्पतालमा काम गर्ने वातावरण धमिलिन थालिसक्यो, यस्तो अवस्थामा सबैले अनशनको विषयलाई थप गम्भीरतापूर्वक लिन म सम्बन्धित निकायसँग आग्रह गर्दछु ।”
डा. केसीको मागमा समर्थन जनाउँदै आज पनि अस्पतालका आवासीय तथा अध्ययनरत चिकित्सक तथा प्राविधिकले अस्पतालको हातमा प्रदर्शन गरिरहेका छन् ।
दक्षिण एसियाकै उत्कृष्ट चिकित्सा शिक्षाका लागि कहलिएको सो अस्पतालमा चलेका आन्दोलनमध्ये यो नै सबैभन्दा लामो ठहरिन पुगेको छ । दैनिक रुपमा एकहजार ८०० भन्दा बढी बिरामी यहाँ सेवा लिन आउने गर्दछन् ।
निर्देशक डा. कोइरालाले भन्नुभयो – अस्पतालमा यस्तो अवस्था आउनु विडम्बना हो, म यस्तो अवस्थामा कसरी काम गरुँ, चिन्ता लागिरहेको छ ।
छिटोभन्दा छिटो मागको सम्बोधन नगरिए आफू निर्देशक पदमा नबस्ने पनि उहाँले बताउनुभयो ।
तपाईंले पदबाट राजिनामा दिनुभएको हो भन्ने जिज्ञासामा निर्देशक डा. कोइरालाले भन्नुभयो – अहिलेसम्म दिएको छैन तर यही परिस्थिति लम्बिदै जाने हो भने राजीनामा दिन्छु ।
अस्पतालमा भएको आन्दोलनका कारण सेवा लिन आउने बिरामीहरु अस्पतालमा आउन छाडेका छन् । आवासीय चिकित्सकले मङ्गलबार सामूहिक राजिनामासमेत दिइसकेका छन् ।
यसैबीच एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्च्यिुसन नेपालले शिक्षण अस्पतालमा आमरण अनशनमा बस्नुभएका डा. केसीको जीवन रक्षाका लागि संवेदनशील भई पहल गरिदिन सम्पूर्ण त्रिवि पदाधिकारी नेपाल सरकार, स्वास्थ्यकर्मी तथा देशवासीसँग अपिल गरेको छ ।
संस्थाले डा. केसीको अनशनप्रति ऐक्यबद्धता पनि जनाएको छ ।
Post a Comment