सडक तथा यातायात क्षेत्रमा चुनौती
गोरखा,
११ माघ
यस जिल्लामा सडक तथा यातायातका क्षेत्रमा चुनौती धेरै रहेको सरोकारवालाले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयको आयोजनामा गोरखा जिल्लाको यातायात तथा सडक व्यवस्थापनसम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रममा यो कुरा उठेको हो ।
अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कार्की, प्रहरी नायब उपरीक्षक रमेश थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक कुमार श्रेष्ठ, सडक विभाग गोरखाका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
अन्तक्र्रियामा यातायात व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, विभिन्न विद्यार्थी सङ्घसङ्गठनका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।
अन्तक्र्रियामा जिल्लाभित्रका यातायात तथा सडक व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल भएको थियो । छलफलमा बोल्ने अधिकांश वक्ताले जिल्लाको सडकको अवस्था राम्रो नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
सदरमुकामको सडक साँघुरो हुनाका साथै सडकपेटीमा अव्यवस्थित रूपमा थापिने पसलबारे चर्चा गरिएको थियो ।
अधिकांश वक्ताले सडक छेउमा निर्माण सामग्री थुपार्ने कार्यको पनि विरोध गरेका थिए । साथै उनीहरूले निर्माण सामग्री कतिबेला झार्ने र कति समयभित्रमा सो सामग्री हटाइसक्ने भन्ने बारेमा आवश्यक निर्देशन दिन पनि आग्रह गरेका थिए ।
अन्तक्र्रियामा उनीहरूले जिल्लाको पुरानो बसपार्क अव्यवस्थित तथा फोहर भएको र त्यसकोे तत्काल समाधान निकाल्न आग्रह गरेका थिए । नयाँ बसपार्क क्षेत्रमा बढ्दै गएको आपराधिक गतिविधिबारे पनि यातायात व्यवसायीले आवाज उठाएका थिए । त्यस्तै नयाँ बसपार्कमा बस राख्नसक्ने वातावरण निर्माण गर्न पनि उनीहरूले आग्रह गरे ।
जिल्लाका ग्रामीण भेगमा चल्ने यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखिएको र भाडादरमा एकरूपता नभएको बारेमा पनि चर्चा गरिएको थियो ।
यसका साथै भाडादरमा विद्यार्थीलाई छुट दिन पनि उनीहरूले माग गरेका थिए ।
Post a Comment