0

गिद्ध संरक्षणका प्रयास


Save-Vulture
लोपोन्मुख अवस्थामा रहेको डङ्गर प्रजातिको गिद्ध संरक्षणका लागि चितवनदेखि पश्चिमको कञ्चनपुरसम्म एकै साथ सर्भेक्षण सुरु गरिएको छ ।
नेपाल पक्षी संरक्षण सङ्घले १० दिन अघिदेखि चितवनदेखि कञ्चनपुरमा एकै साथ सर्भेक्षणको काम सुरु गरेको हो ।
डङ्गर प्रजातिको गिद्धको सङ्ख्या यकिन गर्न, अवस्थाका बारेमा अनुसन्धान गर्न र संरक्षण कार्यलाई अगाडि बढाउनका लागि सर्भेको कार्यलाई एकै साथ सुरु गरेका हौँ पक्षी सङ्घका गिद्ध संरक्षण अधिकृत खडानन्द पौडेलले भन्नुभयो–“यस कार्यबाट लोप हुन लागेको डङ्गर प्रजातिको गिद्ध संरक्षण गर्न टेवा पुग्छ ।”
सन् २०१० देखि सङ्घले प्रत्येक वर्ष गिद्धको वास्तविक स्थितिबारे जानकारी सङ्कलन गर्न  निरन्तर रुपमा सर्भेको कार्यलाई निरन्तरता दिँदै आएको छ । सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा लगायतका जिल्लामा समेत पहिलोपटक सर्भेको कार्य गरिएको अधिकृत पौडेलले राससलाई बताउनुभयो । हाल रुकुम, सल्यान, रोल्पा र अर्घाखाँची जिल्लामा गिद्धको सर्भेको कार्य भइरहेको छ ।
गत वर्षको सर्भेका क्रममा देशभरिमा डङ्गर प्रजातिका गिद्धको सङ्ख्या ४३ रहेको पाइएको थियो । “हाल सर्वसाधारणमा गिद्ध संरक्षणप्रति चासो बढ्दै गएकाले संरक्षणको कार्य हुन थालेपछि देशभरिमा भइरहेको सर्भेको नतिजाअनुसार डङ्गर प्रजातिको गिद्धको सङ्ख्यामा बढोत्तरी भएको पाएका छौँ”–संरक्षण अधिकृत पौडेलले भन्नुभयो । सर्भेका क्रममा कञ्चनपुरमा मात्रै डङ्गर प्रजातिका गिद्धका १२ वटा गुँड फेला परेका छन् ।
गिद्ध संरक्षणसम्बन्धी सर्वसाधारणमा जनचेतनाको स्तरमा वृद्धिसँगै गिद्धले गुँड लगाउने सिमल, सखुवालगायतका रूख स्थानीयले संरक्षण गर्न थालेपछि गिद्ध संरक्षणमा टेवा पुगेको उहाँले बताउनुभयो । “पाँच वर्षअघि दक्षिण एसियामा ९९.९ प्रतिशत गिद्ध लोप हुने अवस्थामा पुगेका थिए”– अधिकृत पौडेलले भन्नुभयो–“गिद्ध संरक्षणको क्षेत्रमा क्रियाशील संरक्षणकर्मीको अथक प्रयासका कारण गिद्धको सङ्ख्या बढ्न थालेको छ ।” पशुहरुमा दुखाइ कम गर्न प्रयोग हुने गिद्धका लागि हानिकारक मानिएको डाइक्लोफेनेक औषधिको प्रयोगमा कमीले गर्दा गिद्ध संरक्षणमा टेवा पुगेको उहाँको भनाइ छ ।
गिद्ध संरक्षण अधिकृत पौडेलका अनुसार नेपालमा नौ प्रजातिका गिद्ध मात्रै पाइने गरेका छन् । जसमध्ये चारवटा प्रजातिका गिद्ध अति सङ्कटापन्न र एकवटा सङ्कटापन्न अवस्थामा रहेका छन् । विश्वमा २३ प्रजातिका गिद्ध पाइने गरेका छन् । 

Post a Comment

 
Top