0

भूकम्प, पहाड र हामी

भूकम्प, पहाड र हामी


भूकम्पको पहरा भत्केर
छोप्यो सुन्दर गाउँ
खेल्दै गरेका जीवनका रहर
चेप्यो ढुङ्गा र माटोले
उडायो दिवासपना
आफ्नै आँसुको कोशीले
हे भूकम्प !
तिमीले पुर्‍यौ साना नानीहरू
दूध पिलाउँदै गरेका न्यानो आमाहरू
यो वज्र किन मेरै आँगनमा ?
दौडिँदैछन् मानिसहरू
बचेका खोज्दै माटोमुनि आफन्त
माटोमा हराएका लाशहरू
आधा टाउको उठाएका लाशहरू
दुःखको यस आँधीबेरीमा
उडदैछ ऐतिहासिक महल र देवलका टाउकाहरू
भासिँदैछन् शिशमहल
यो कालो वज्रले अझै कति सास छिन्नेछ ?
प्रकृतिको निरङ्कुश प्रहारले
किन कुटिरहेको छ निर्दोष मासु
कि पार्टी पापको सजाय हो ?
कि भ्रष्टाचारीको मृत्युदण्ड ?
संसारको सुन्दर उद्यानमा
किन घस्रिँदैछ भयानक सरिसृप र
डस्दैछ भोका आङ्ग ?
सेतो श्रीपेचको फेदबाट
किन पहाड हल्लिएर फुट्दैछ र
निस्किँदैछ नरसिंह ?
हिरण्यकश्यपुको घडा भरिएर
निस्किने नरसिंह नंग्राले
किन चिर्दैछ प्रल्हादको छाती ?
विपतको यो महाघडीमा
उठनुछ कर्मठ हातहरू
बाँधिनुछ फुटेका मनहरू
जोड्नुछ टुटेका पहाडहरू
विस्मयकारी सोचले बन्दैन छानो
छानोमुनिका हामी पनि जोडिँदैनौ
संसारले हात हल्लाइरहेको छ
सहयोगको हात बटुलेर कसरी उमार्ने जीवन
सोच्नु छ,
सोच्नु छ काला पहाडको मैदानमा
उडी हिँड्ने जीवनको गीत
हेर्दाहेर्दै मेरै घरले खोस्यो मेरो परिवार
हेर्दाहेर्दै भत्केर झर्‍यो मेरो इतिहास
धुजाधुजा भएको छ सांस्कृतिक धरोहर
इतिहासका पानाहरू खाली छन्
ऐतिहासिक सहरमा कालको धुलो उड्दैछ
महामारी फैलिने भूतले पन्छिँदैछन् जीवन
यो महाविनाश कसरी हेरूँ ?
मतिर आउँदै गरेको नानी
माटोमा छिरेको कसरी हेरूँ ?
नासियो नासियो गाउँको सौन्दर्य नासियो
गाउँको हाँस्ने गाउने फूलहरू नासियो
संसारलाई हाँसेर हेर्ने हिमाल नासियो
अनियन्त्रणको महाप्रलयमा नियन्त्रण बटल्नु छ
अधैर्यको बाढीपैरोमा धैर्यहरू सँगाल्नु छ
थाम्नु छ प्रलयको आकाश
माटो मन्थनको यस सृष्टिमा
मनु भएर जन्मिनु छ र तार्नु छ संसार
सानो संसार डुबिरहेको छ मन्थनमा
अझै मन्थनिनेछ केही काल
आऊ हामी जीवनको डुङ्गामा चढेर
सजाएर भग्नावशेषहरू
सृष्टिको अनुपम बगैंचा बनाउन
तरौं यो महाकाल
भग्नावशेष रूँगेर चल्दैन जीवन
विपतलाई पुजा गरेर पनि चल्दैन डुङ्गा
हामी बचेकाहरू एउटै अगेना वरिपरि
गीत गाउँदै जीवनको उज्यालो ताप्नुपर्छ
भूकम्पको चोक्टासँगै अँध्यारोलाई
पुर्नुपर्छ मानसिक चिहानमा
फूलको गीत गाउन सकेनौ भने
सेतो हिमाल हेर्न सकेनौ भने
अँध्यारोको फेदमा चुटिने छ सास
हामी त सासले ताजा भएको मान्छे
मृत्यु जितेर बचेको मान्छे
हिमाल र पहाडजस्तै काँध मिलाएर बाँच्न जान्नुपर्छ ।

Post a Comment

 
Top