0
भारतले युद्ध खोजिरहेको छ, स्वाभिमानी नेपाली एकताबद्व भएर लड्नुपर्छः महासचिव पोखरेल
२१ कात्तिक 
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अघोषित नाकाबन्दी गरेर भारतले नेपालसँग युद्ध गर्न खोजेको बताउनुभएको छ ।
शनिबार सत्य साई टोल सुधार समिति टोखाको सम्मान समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अघोषित नाकाबन्दी गरेर छिमेकी देश भारतले युद्ध खोजेको बताउनुभएको हो । उहाँले भन्नुभयो- ‘हामीलाई तीनतिरबाट घेरेको छिमेकी देश भारतले जुन किसिमले संविधान, सरकार निर्माणमा हस्तक्षेप गर्न खोज्यो, त्यो नेपालमा स्वाभिमानी राजनीतिक दलले मानेनन् । जसकारण नाकाबन्दीसम्म गर्यो । जुन युद्धमा मात्रै गरिन्छ ।’
भारतले नेपालमा नाकाबन्दी गरेर घाँटी थिच्न प्रयास गरेपनि अहिले स्वाभिमानी जनताको राष्ट्रिय एकताले असफल पारिदिएको उहाँको भनाई छ । राष्ट्रिय एकतालाई थप मजबुद बनाएर युद्ध खोजेको भारतविरुद्ध लड्नपनि तयार हुनुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो ।
‘हामीले भारत, चीन र अमेरिकाजस्ता छिमेकीका लागि संविधान बनाएका होइन्’ उहाँले भन्नुभयो- ‘नेपाली जनताका प्रतिनिधीले बनाएको संविधान आफूले भनेअनुसार भएन भन्दैमा भारतले हिसाब किताब गरेर अहिले संविधान कार्यान्वयनमा बाधा गर्न नाकाबन्दी गरेको तथा मधेसी दललाई सहयोग गरेको हो । त्यसकारण अब स्वाभिमानी राष्ट्रवादी नेपाली एकताबद्ध हुनुपर्छ र परिस्थितीको सामना गर्न तयार हुनुपर्छ ।’
महासचिव पोखरेलले छिमेकीले गरेको थिचोमिचोलाई अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने भन्दै भारतलाई नैतिक संकटमा पार्नुपर्ने धारणा राख्नुभयो ।

Post a Comment

 
Top