उदयपुर सिमेन्ट उद्योग १७ करोड घाटामा
२१ कात्तिक
तीन महिनादेखि निरन्तर तराई बन्द तथा डेढ महिना यता आएर भारतले गरेको सीमा नाकाबन्दीको कारण देश कै ठूलो उदयपुर सिमेन्ट उद्योग १७ करोड रुपैयाँ घाटामा गएको छ ।
उदयपुर जिल्लाको जलजलेमा अवस्थित सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगमा कच्चा पदार्थ ढुवानी बन्द भएको कारण सिमेन्ट उत्पादन हुन नसक्दा रु १७ करोड घाटामा गएको सिमेन्ट उद्योगका प्रशासनले बताएको छ ।
भदौ महिनादेखि असोज १५ सम्म उद्योगमा पहिला नै ढुवानी गरेर डिपोजिट गरिएका कच्चा पदार्थ राखिएको कारण केही सिमेन्ट उत्पादन हुँदै आएको थियो ।
त्यसपछि कच्चा पदार्थ नै सकिएपछि अहिले उद्योगमा सिमेन्ट उत्पादन ठप्प भएर उद्योग नै बन्द भएको उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताउनुभयो ।
कच्चा पदार्थ ढुवानीको अभावमा सिमेन्ट उत्पादन बन्द भएपछि उद्योगमा आवद्ध झण्डै पाँच सय कर्मचारीलाई अहिले तलब व्यवस्थापन गर्न जटिल समस्या भएको छ ।
उद्योगका अन्य कच्चा पदार्थ स्थानीयस्तरबाट नै उपलब्ध हुने भएता पनि कोईला र डिजलको अभावको कारण नै उद्योग बन्द भएको उद्योग प्रशासनले बताएको छ ।
उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न दैनिक दुई हजार लिटर डिजल र सय टन कोईला अर्थात आठ गाडी कोइला चाहिने तर ती कच्चा पदार्थ भारतले एकपक्षियरुपले नेपालको सीमा नाका बन्द गरेको कारण आपुर्ति हुन नसक्दा उद्योगमा उत्पादन बन्द भएको हो ।
सिमेन्ट उद्योग सञ्चालनमा मात्र मासिक तीन करोड रुपैयाँ खर्च हुने गरेको छ । प्रतिदिन आठसय टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उदयपुर सिमेन्ट उद्योग लै दैनिक छ सय टन सिमेन्ट उत्पादन गर्दै आएको थियो ।
Post a Comment