यसकारण आवश्यक छ पशुपंक्षी विकास मन्त्रालय
डा. केशवप्रसाद प्रेमी

जब कृषि विकास मन्त्रालयअन्तर्गत पशु विकास कार्यक्रमलाई पनि राखियो, त्यसपछि नै पशु विकासको उँधोगति सुरु भएको हो । किनभने पशुविकास क्षेत्रको आवाज नै त्यो मन्त्रालयले सुनेन, अन्यत्र आवाज उठाउने ठाउँ पनि थिएन । उदेक लाग्दो कुरा त के छ भने कृषि विकास मन्त्रालयको एक सय ४८ दरबन्दीमध्ये पशुसेवा सम्बन्धी दरबन्दी जम्मा ४ वटा मात्र थियो । १ जना सहसचिवको पनि दरबन्दी नभएपछि धेरै प्रयासमा एकजना सहसचिवको दरबन्दी सिर्जना भएको थियो ।
पशु विकासको लागि जति स्रोत र साधनको आवश्यकता पथ्र्यो, हाम्रो योगदान अनुसार हामीले कहिल्यै त्यो स्रोत र साधन पाएनौं । पशु विकासले आफ्नो हिसाबले योजना तर्जुमा, नीति निर्माण गर्ने, वैदेशिक योजना ल्याउने स्वतन्त्रता कहिल्यै पनि पाएन । समग्र पशुसेवाकर्मीका साथसाथै पशुसेवामा लाग्ने अपार किसानको समूहहरु , व्यवसायिक पशुपालकका किसानका संघसंगठनहरुले छुट्टै पशुविकास मन्त्रालयको आवाज त उठाए तर, यसको सुनुवाई भने कहिल्यै भएन ।
अहिले पशु विकास मन्त्रालय बनाएपछि समय ठीक भएन भन्ने कुरा आइरहेको छ । समय ठीक भयो या भएन भन्ने कुरा म भन्न चाहन्नँ । तर, पशु विकास मन्त्रालयचाहिँ सम्पूर्ण राजनीतिक दलको पनि एजेन्डा थियो । एकपटक नेपाली कांग्रेसका नेता चक्र बास्तोला, जो अहिले अस्वस्थ हुनुहुन्छ, ले कृषि मन्त्री हुँदो यो मन्त्रालय बनाउनु पर्ने कुरा उठाउनु भएको थियो । एमाओवादी महासचिव कृष्णबहादुर महराले पनि पशुविकास मन्त्रालयको आवश्यकता औंल्याउँदै धेरै सम्भावना हुँदाहुँदै पनि छुट्टै मन्त्रालय नहुँदा पशु विकास मन्त्रालयले अपेक्षित गति लिन नसकेको कुरा सार्वजनिक कार्यक्रममा नै गर्नुभएको थियो ।
अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पशु सेवा तथा पंक्षी मन्त्रालय बनेपछि पशुकर्मीहरुको चासोले समेटिने अवसर पाएको छ । यसमा राजनीतिक निर्णय होला के होला, यसमा मेरो भन्नु केही छैन । तर, यहाँनिर यो देशको आवश्यकता अनुसार भएको छ भन्न हिच्किचाउनु हुँदैन ।
कृषि आफैंमा ठूलो क्षेत्र छ, यसको अरु विकल्प नै हुन सक्दैन । कृषिले पशुविकासलाई पनि समेट्न खोज्दा दुवै क्षेत्रको विकासले गति पाउन सकेको थिएन । अब पशु र कृषि छुट्टिएपछि दुवैले आआफ्नै तरिकाले नीति निर्माण, योजना तर्जुमा र कार्यक्रम अगाडि बढाउने मौका पाएका छन् । पशुले पनि अब स्वतन्त्र भएर नीति निर्माण गर्न सक्नेछ ।
अहिले मन्त्रालय टुक्राएको भनेर विरोध भइरहेको छ । अरु मन्त्रालय टुक्राउँदाको कुरा मलाई थाहा भएन, तर कृषि विकास मन्त्रालय टुक्राएर भने सरकारले निकै राम्रो काम गरेको छ, किसानको हितमा कदम चालेको छ । अब पशुकर्मी र किसानको माग अनुसार कार्यक्रम लगेर पशुविकासलाई यो देशको अर्थतन्त्रको मूलआधार र किसानको जिविकोपार्जनको मूल आधारको रुपमा हामी स्थापित गराउँछौं ।
अहिले मन्त्रालय टुक्राएको भनेर विरोध भइरहेको छ । अरु मन्त्रालय टुक्राउँदाको कुरा मलाई थाहा भएन, तर कृषि विकास मन्त्रालय टुक्राएर भने सरकारले निकै राम्रो काम गरेको छ, किसानको हितमा कदम चालेको छ । अब पशुकर्मी र किसानको माग अनुसार कार्यक्रम लगेर पशुविकासलाई यो देशको अर्थतन्त्रको मूलआधार र किसानको जिविकोपार्जनको मूल आधारको रुपमा हामी स्थापित गराउँछौं ।
पशु विकास मन्त्रालय छुट्टै चाहिने अर्को कारण पनि छ । त्यो के भने पशु स्वास्थको अर्को ठूलो क्षेत्र पनि छ । पशु स्वास्थ्यको जनस्वास्थसँग पनि सम्बन्ध छ । कतिपय रोग यस्ता छन्, जुन पशुबाट मानिसमा सर्छन् । विगत १० वर्षको आँकडा हेर्ने हो भने करिब ७५ प्रतिशत महामारीका रुपमा लाग्ने पशुरोगहरु महामारीका रुपमा मानिसमा सरेको छ । हामीले स्वास्थ मन्त्रालयसँग तालमेल गरेर जनस्वास्थ संरक्षणको काम गर्नुपरिरहेको हुन्छ, तर मन्त्रालय नहुँदा समस्या भइरहेको थियो ।
पशु सेवा तथा पशुपंक्षी मन्त्रालयको विरोध गरिरहँदा हामीले अन्तर्राष्ट्रिय अभ्यासलाई पनि हेर्दा राम्रो हुन्छ । अफ्रिकाका हरेक देशमा पशु तथा मत्स्यविकास मन्त्रालय छ । पाकिस्तान, बंगलादेशमा पनि छुट्टै मन्त्रालय छ । मलेसिया, इन्डोनेसिया, अफ्रिकाका सबै मुलुक र युरोपका केही देशले पनि यस्तो मन्त्रालयको व्यवस्था गरेका छन् ।
यो मन्त्रालय फुटाएपछि खर्च बढ्ने भन्ने कुरा आइरहेको छ, तर फुट्दा हुने खर्च भन्दा कैयौं गुना फाइदा यसले राज्यलाई मिल्छ । पशुपालन व्यावसायिकरण र औद्योगिकरण भइरहेको छ, यस्तो बेला विशिष्ट प्रकारको सेवाको आवश्यकता हुन्छ । तर, खुलेर जनताको घरदैलोमा लाने र व्यवसायीकरण र औद्योगिकरणमा टेवा पुर्याउने मौका यसअघि छुट्टै मन्त्रालय नहुँदा मिलेको थिएन । अब यसलाई हामी सदुपयोग गर्छौं । आउँदा दिनमा मन्त्रालय संख्या घटाउने भन्ने कुरा आएको छ, तर, यसलाई कृषिमा नगाभी निरन्तरता दिनु जरुरी छ ।
कृषि विकास र पशु विकास मन्त्रालय अलग गर्न किन पनि आवश्यक छ भने यी मन्त्रालयको काम गर्ने शैली र म्यान्डेट आ–आफ्नै छन् । हामीले काम गर्दा न कृषिका लाई हाम्रो प्राविधिक चाहिन्छ, न पशुलाई कृषिका प्राविधिक चाहिन्छ । मैले काम गर्ने क्रममा बितेका एक वर्षमा कहिल्यै पनि मेरो कामका लागि कृषिका महानिर्देशकको सहयोग लिन आवश्यक भएन, उहाँले पनि मसँग कुनै सहयोग माग्नु परेको छैन ।
हाम्रो कमन भनेको किसान मात्र हो । किसान त सबैका कमन हुन्छन् । किसान कमन भए भन्दैमा मन्त्रालय एउटै हुनुपर्छ भन्ने कुरा सत प्रतिशत गलत छ । त्यसो त किसान धेरै कुरामा कमन हुन सक्छन् । त्यसो भए के सबै काम कृषि मन्त्रालयले गर्ने गरेर एउटै मन्त्रालय बनाएर देश चल्छ त ?

समग्र कृषि क्षेत्रमा एउटा मात्र आत्मनिर्भर क्षेत्र भनेको पंक्षी क्षेत्र हो । पोल्टीमा हामी अन्डा, मासु, किसानलाई चाहिने चल्लामा पनि आत्मनिर्भर छौं । ग्रयाण्ड प्यारेन्टको पनि फर्म छ । करिब ६० अर्ब रुपैयाँ यहाँ लगानी भएको छ । १ लाखले यसबाट नै रोजगारी पाइरहेका छन् । अहिले डेरी व्यवसायीकरण भएको क्षेत्र मध्ये एक हो । विदेश छाडेर यसमा भविष्य खोज्ने उत्तिकै छन् । बंगुर पालनले पनि उत्तिकै व्यावसायिकता पक्डिरहेको छ । यत्तिका मान्छे निर्भर भएको र लगानी भएको क्षेत्रका लागि लक्षित गरेर पशु पंक्षी विकास मन्त्रालय बनाइनु कसरी नाजायज हुन्छ ? ।सबैले गम्भीरतापूर्वक सोचेर यसको निरन्तरताका लागि भूमिका खेल्नु सबैको हितमा हुनेछ ।
यो मन्त्रालय अलग्गै बनेपछि स्रोत र साधनको विनियोजन पनि त्यही किसिमले हुन्छ । आवश्यकतामा आधारित भएर वैदेशिक आयोजनाहरुको पनि माग र डिजाइन गर्छौं । यो मन्त्रालयले काम थालेपछि यसमा कायापलट हुने मैले देखेको छु । सम्भावनाको गफ गरेर होइन , यसलाई हामी यथार्थतामा परिणत गरेर देखाउँछौं ।
Post a Comment