दुई सय हेरालु

२१ माघ
जिल्लाको ग्रामीण सडक मर्मतसम्हारका लागि १९३ हेरालु परिचालन गरिएको छ ।
ग्रामीण सडकको नियमितरुपमा मर्मत तथा रेखदेख गर्नका लागि जिविस र ग्रामीण पहुँच कार्यक्रमले सडक हेरालु परिचलान गरेको हो । सडक मर्मतका लागि परिचालन गरिएका हेरालुले जिल्लाका पहिलो प्राथमिकताका ३२ सडकको २९२ किलोमिटर सडकमा नियमित मर्मत गर्दै आएका छन् । सडक मर्मत समूह बनाएर उनीहरुलाई नियमित मर्मतको काममा परिचालन गरिएको ग्रामीण पहुँच कार्यक्रमका जिल्ला संयोजक कमल रेग्मीले जानकारी दिनुभयो ।
“जथाभावीरुपमा सडक खन्ने तर मर्मत नगर्दा सडकको नाम निसानसमेत मेटिन थालेकाले सडक मर्मत समूहलाई काममा लगाएका हौँ”, संयोजक रेग्मीले भन्नुभयो–“सानो मर्मतको अभावमा सवारी नचल्ने र सडकको अवस्था बिग्रनबाट रोक्न हेरालुको काम प्रभावकारी हुन्छ ।” खनिएका सडकको अवस्था बिग्रन नदिने र यथावस्थामा राखेर सञ्चालन गर्नका लागि मर्मत समूहको प्रभावकारिता रहने उहाँको भनाइ छ ।
बर्खायाममा पनि नियमितरुपमा यातयातका साधन चलाउन सकिने र यात्रुको चाप बढी भएका ग्रामीण सडक मर्मतका लागि मर्मत समूह परिचालन गरिएको छ । हिउँदमा समेत सामान्य मर्मतको अभावमा अधिकांश समय सडक बन्द हुने गर्छ । सडक मर्मत समूहले नियमित मर्मत र रेखदेखका काम गर्नेछन् । समूहका सदस्यले आफ्नो क्षेत्रभित्र पर्ने सडकमा पहिरो हटाउने र मर्मतको काम गर्ने, नाली खन्ने, नाली सफा गर्ने भएका छन् ।
समूहका सदस्यले सडक मर्मत गर्दा डेढ किलोमिटर क्षेत्र हेर्ने गरी व्यवस्था मिलाइएको छ । उनीहरुले गरेको कामका आधारमा भुक्तानी दिइने र मर्मतको अनुगमन हुने भएकाले यो मर्मत समूहलाई आकस्मिक मर्मतको कामसमेत जिम्मा दिइएको रेग्मीले बताउनुभयो । सानातिना पहिरो पन्छाउने, नाली सफा गर्ने भएकाले वर्षाले सडकको क्षति कम हुनेछ । गत वर्षदेखि नै उनीहरुलाई जिल्लामा मुख्य सडकमा परिचालन गरिँदै आएको छ ।
यसैबीच, सडक मर्मतका लागि राखिएका हेरालुका लागि एकदिने पुनः ताजकी तालिम सम्पन्न भएको छ । जिल्लाको पहिलो कलस्टरमा पर्ने सातवटा सडक मर्मतका लागि राखिएका ३७ जनाका लागि तालिम दिइएको हो । उनीहरुलाई सडकमा काम गर्दा अपनाउनुपर्ने सावधानी, काम गरेबापत पाइने सेवासुविधा, कामको प्रकृतिलगायत काम गर्ने समय लगायतका विषयमा जानकारी गराउँदै नियमितरुपमा कार्यदक्षता र क्षमता बढाउने उद्देश्यले तालिम दिइएको हो ।
Post a Comment