गर्भपतन गराउनेको सङ्ख्या बढ्दै
वैशाख २
– कानुनीरुपमा १२ सातासम्मको गर्भपतन गर्न पाउने व्यवस्था भएपछि ताप्लेजुङमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
नेपालको वर्तमान कानुन तथा ऐेनले तीन महिना अर्थात् १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेपछि गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयको एक तथ्याङ्कअनुसार पछिल्लो छ महिनाको अवधिमा २३८ जना महिलाले गर्भपतन गराएका छन् । उक्त सङ्ख्या चालु आवको साउनदेखि पुस मसान्तसम्मको हो । यस अवधिमा गर्भपतन गराउनेमध्ये २० वर्षभन्दा माथिको उमेरका २१८ र २० वर्षभन्दा मुनिका २० जना रहेको बताइएको छ ।
गत आवमा ३७४ जना महिलाले गर्भपतन गराएका थिए । तीमध्ये ३४३ जना २० वर्ष माथिका र ३१ जना २० वर्ष मुनिका रहेका छन् ।
कार्यालयका अनुसार गतवर्ष जिल्ला अस्पतालमा सुरक्षित गर्भपतन गराउन आउने महिलामध्ये २२७ जनाले पिल्स, डिपोजस्ता छोटो समयको परिवार नियोजनका साधन प्रयोग गरेका थिए । यस्तै, लामो समयका लागि प्रयोग गरिने परिवार नियोजनका साधन इम्प्लान्ट र आइयुसिडी सेवा लिनेको सङ्ख्या ३२ रहेको जनाइएको छ ।
कानुनीरुपमा नै सुरक्षित गर्भपतन गराउन पाउने व्यवस्था गरिएपछि सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या केही वर्षयता बर्सेनि बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।
न्यून चेतनास्तर तथा असुरक्षित यौन सम्पर्कका कारण अनिश्चित गर्भधारण गरेका महिलाले गर्भपतन गर्ने गरेको बताइएको छ ।
ताप्लेजुङमा जिल्ला अस्पतालमात्रै कानुनीरुपमा गर्भपतन गराउने आधिकारिक संस्थाका रुपमा मान्यता पाएको संस्था हो तर कतिपय किशोरीले जिल्लामा रहेका निजी क्लिनिक तथा मेडिकलमा समेत लुकीछिपी अवैधरुपमा असुरक्षित गर्भपतन गराउने गरेको बताइएको छ । वैधानिक तथा मान्यता प्राप्त स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउन पाइने विषयको जानकारी उनीहरुमा हुँदाहुँदै पनि बेइज्जती हुने डरले असुरक्षित र अवैध गर्भपतन गर्ने गरेको बताइन्छ ।
यसरी जिल्ला अस्पतालमा सुरक्षित र वैधानिक गर्भपतन गराउनेले सस्तो शुल्कमा सेवा लिएका हुन्छन् भने निजी क्लिनिक तथा मेडिकलमा महँगो शुल्क तिरेर गर्भपतन गराउने गरेको बताइएको छ । अवैध यौन सम्पर्कबाट रहन गएको गर्भपतन गराउने धेरै रहेको अनुमान गरिएपनि उनीहरुले गोप्यरुपमा गर्भपतन गराउने भएकाले सङ्ख्या यकिन नभएको बताइएको छ ।
Post a Comment