प्रचण्ड पीडा :: कपिल काफ्ले
शीर्षकको ‘प्रचण्ड’ बहुचर्चित नेता पुष्पकमल दाहालकै लागि हो । उनी बहुपक्षीय पीडामा छन्, त्यसैले ‘प्रचण्ड पीडा’ शीर्षक जुराइएको हो ।
प्रभावशाली दलका प्रतिभावान नेता प्रचण्डलाई के पीडा पर्नसक्छ र ? पाठकलाई यस्तै लागिरहेको हुनसक्छ, तर द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्ने प्रचण्डमा मानसिक पीडा बढी छ । दश वर्षे सशस्त्र विद्रोहले चितवनका सर्वहारालाई काठमाडौं लाजिम्पाटमा भौतिक समृद्धिका साथ स्थापित गराए पनि मन समृद्ध हुन सकेको छैन । मानसिक पीडा पनि द्वन्द्वात्मक भौतिकवादकै उपज हो भन्ने सत्य यस लेखकलाई भन्दा बढी प्रचण्डलाई नै थाहा छ ।
द्वन्द्वात्मक भौतिकवादका विषयमा भाषण गर्न जति स्वादिलो हुन्छ, यसलाई भोग्न त्यति नै पीडादायक । त्यसमाथि द्वन्द्वका पात्रहरु आफ्नै छोराछोरी र नातिनातिना पर्न थालेपछि पीडा नबढ्ने कुरा भएन । आपूmले जीवनमा सीतापति रामको चरित्र निर्वाह गर्दै पत्नीव्रताको ‘इमेज’ देखाए पनि परिवारमा छोराछोरीले त्यस धर्मको पालना गरेनन् । छोराछोरीको पहिलो प्रेम वा विवाह सफल भएन । त्यसका कठोर दृष्टान्त एक मात्र सुपुत्र प्रकाश दाहाल बन्नु उनका लागि अप्रिय मात्र थिएन, विरोधीहरुलाई काखी बजाएर रमाउने आधार पनि थियो ।
प्रचण्ड जन्मभूमि नेपालको समृद्धिकै लागि सशस्त्र युद्धमा होमिएका नेता हुन् भन्नेमा कुनै शंका छैन । यस भावनाको सराहना गर्नैपर्छ, तर जुन विधि अवलम्बन गरियो त्यसले उनलाई पीडापूर्ण जीवन बाँच्च विवश बनाइरहेको छ । सत्ता बन्दुकको नालबाट त जन्मियो तर त्यसले पारिवारिक अशान्ति पनि सिर्जना ग¥यो । सशस्त्र हिंसाले एकीकृत नेकपा माओवादीलाई सरकारको नेतृत्वमा त पु¥यायो तर त्रास र अशान्तिमा जीवन बाँच्न बाध्य बनायो । दर्शक–श्रोता हेर्दै बोल्ने शैलीले चर्चा र ताली त मजाले दिंदो रहेछ तर दीर्घकालिक शान्ति खोस्दोरहेछ । ‘एल्लोपेथिक’ औषधिले रोग तत्काल बिसेक पारेपनि ‘साइड इफेक्ट’ देखाउने गरेजस्तै प्रचण्ड त्यसको शिकार बनेका छन् ।
गौतम बुद्धको दर्शन पछ्याउने र महात्मा गान्धीको प्रयोगलाई नियाल्ने हो भने प्रचण्डको नियतिमा अशान्ति, अस्थिरता र पीडा स्वाभाविक छ । विदेशी कूटनीतिक जमातमा गएर लोकतन्त्र र मानवअधिकारका अन्तर्राष्ट्रिय मापदण्डमा अडिग रहेको सावित गर्नुपर्ने, आफ्ना कार्यकर्ता र पूर्व लडाकुतिर फर्केर सर्वहारा वर्गको अधिनायकत्वका लागि हामी जति पनि रगत बगाउन तयार छौं भन्नुपर्ने, विस्तारवाद र साम्राज्यबादलाई गाली गर्दै सत्ताको सोपान रच्नुपर्ने र यथार्थमा उनीहरुकै हात समाएर शासन जोगाउनुपर्ने बाध्यताका कारण प्रचण्ड बर्खे बाढीको मझधारमा छन् । यस बेला फलामको गोलीजस्तै कठोर छाती भएको मानिस पनि विचलित हुन्छ । प्रचण्ड त आँसु झारेरै रुँदैआएका व्यक्ति हुन् । उनमा पीडा हुनु स्वाभाविक हो ।
पारिवारिक पीडाको कुरा गर्दा प्रकाश पुत्रमा मात्र सीमिति हुन मिल्दैन, नाति प्रसिद्ध दाहालसम्म पनि पुग्नुपर्छ । पछिल्लो समय सोसल मिडियादेखि अखबारसम्म छापिएका एक तीन–चार वर्षे बालकको अवस्थालाई पनि नियाल्नुपर्छ । प्रकाशकी माइली श्रीमती स्याङ्जाकी सिर्जना त्रिपाठी जो कानुनी दृष्टिले अरु दिदी–बहिनीभन्दा बढी सबल छिन्, उनीबाट जन्मिएका प्रसिद्ध अहिले मिडियामा छाएका छन् । बाबु र हजुरबाहरुका कारण बालअधिकारबाट समेत उनी वञ्चित हुनपुगेका छन् । सचित्र प्रचार–प्रसारमा आउने र दुनियाका अनौठा टिप्पणीहरुको शिकार हुने बालकमा पर्ने मानसिक आघातलाई कसैले ध्यान दिनसकेको देखिंदैन । सौतामाथि रमाउँदै जाने सिर्जना मात्र यस सन्दर्भमा दोषमुक्त छिन् भन्नसकिन्न, त्यसमाथि ‘यही छोराका लागि टेन्सन सहेर बाँच्न बाध्य छु’ भन्ने र छोराको तस्वीरसहित फेसबुकमा ‘स्टेटस’ बनाउने उनले आमाको ‘स्टेटस’ पनि गुमाएकी छन् । आकर्षक छोराकी आमा सिर्जनालाई छोडेर कान्छी श्रीमती बिना मगरको आधार शिविरमा ओर्लिसकेका प्रकाशको त के कुरा गर्ने ?
अहिले प्रचण्ड नाति प्रसिद्धलाई काखमा लिने उपायको खोजीमा छन् । बाहिर जानकारीमा आएअनुसार उनले ‘मेरो नाति मलाई देऊ, सट्टामा ७५ लाख रुपियाँ लेऊ’ भनेर बुहारी सिर्जनालाई प्रस्ताब पठाएको चर्चामा छ । यदि यस प्रस्ताबमा आधिकारिकता छ भने यसलाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको असफल प्रस्ताबसँग दाँज्नुपर्ने हुन्छ । देउवाले सत्रस्त्र विद्रोहमा लागेका प्रचण्डको टाउकाको मोल ५० लाख तोके र नराम्रोसँग पराजित भए । नेपालीहरु निर्धन छन्, त्यो यथार्थ हो– तर पैसाका लागि जीवन लिने–दिने व्यापार गर्दैनन् । यदि त्यसो गरेका भए प्रचण्डको हत्या गरेर उहिल्यै पैसा कमाइसक्ने थिए । त्यसैले नेपालमा जतिसुकै रक्तरञ्जित युद्ध भएपनि आत्मघाती आक्रमण भने भएको छैन । किनभने नेपालीमा त्यस प्रकारको संस्कार छैन । यद्यपि प्रचण्डको पछिल्लो प्रस्तावमा रगतको दुर्गन्ध देखिंदैन, मायाको सुगन्ध नै देखिन्छ तर पनि माया पैसामा किन्ने धृष्टता भने गरिएको छ । बालकका लागि बाल्यकाल आमाकै काख सर्वाधिक प्यारो हुन्छ, त्यसैले कानुनले पनि प्रसिद्धलाई सिर्जनासँगै रहने आधार बनाइदिएको छ ।
यसरी हेर्दा प्रचण्ड अन्तर्राष्ट्रिय, राष्ट्रिय र पारिवारिक सबै प्रकारको पीडामा छन् । उनैमाथि मुलुकले राजनीतिक निकासका लागि ठूलो आस पनि लगाएर बसेको छ । उनी शारीरिक र मानसिक रुपमा जति तन्दुरुस्त भए उति मुलुकको हितमा हुनेछ । त्यसैले उनका अनुयायी, समर्थक र समीक्षक सबैले उनी पीडामुक्त हुनसकून् भनेर कामना गर्नु आवश्यक छ ।
Post a Comment