0

एकै झापडमा बाघले मेरो आँखा लग्योः भदाई थारु

मेरो नाम भदाइ थारु हो। म धोधरी गाविस वडा न ९ खाता बर्दियामा बस्छु। २०६० सालमा बाघको आक्रमणबाट मैले आखा गुमाउन पुगे। यो घटना पुस २२ गते दिउँसो १ बजेको हो। म गौरी महिला सामुदायिक बनको अध्यक्ष पदमा कार्यरत थिए। त्यो दिन उपभोक्तालाई खरखरियाको लागि पुर्जि खुलेको थियो। अध्यक्षको हैसियतले खरखडियाको निरीक्षण गर्न  सामुदायिक बनको नेतृत्व गर्दै गएको थिए। मेरो आफ्नो पदीय जिम्मेवारी पनि थियो त्यो। उपभोक्ताहरुलाई कतिसम्म खरखडिया काट्न दिने भन्ने हामीले तय गर्नुपर्थ्यो । सोही क्रममा म उपभोक्ताहरुको नेतृत्व गर्दै अग्रभागमा रहेर निरीक्षणमा जाँदै थिए। करिव दुई सय उपभोक्ताको नेतृत्व गर्दै गएको थिए म। जंगल जाँदा केहि हल्ला पनि भएकै थियो। सोहि ठाउँमा सुकेको खरखडीयामा वाघ लुकेर बसेको रहेछ। खरखडियामा रहेको बाघ भने आत्तिएछ सायद।
 खर पन्छाउँदै म अगाडी जाँदै थिए। लुकेर बसेको बाघले मलाई एक्कासि आक्रमण गर्यो। बाघले आफु घेरामा परेको मशहुस गर्यो होला सायद एक्कासी सम्हालिने मौका समेत दिएन। यस्तो जोडदार प्रहार गर्योकी मेरो आखाँमा मैले केहि थाहा नै पाइन। त्यसपछि मलाई तल पारेर बाघले यसरी थिच्योकी अब यो बाघले मलाई मार्यो  होला भन्ने लाग्यो। मलाई हलचल गर्न दिएको थिएन बाघले। आँखा त दुखेकै थियो। मैले अब योसँग मर्नु भन्दा यसबाट कसरी उम्कने भन्ने सोचे। मलाई झम्टेर थिचिरहेको बाघबाट उम्कन जोडदार प्रयास गरे। मैले पछाडीबाट दाहिने कुहिनोले बाघलाई जोडदार प्रहार गरे। सायद मेरो प्रहार पनि दह्रै पर्योमकी के हो बाघले त मलाई चटक्कै छाडेर भाग्यो। एक्कासी आक्रमणमा परेको मैले एकातिर बाघलाई जीते भने अर्कोतिर आफ्नै ज्यान पनि बचाएँ भन्ने लाग्यो। तर म धेरै समय त्यहाँ टिक्न सकिन। त्यो पाटे बाघिनीबाट आफूलाई बचाएर खरखडीया काटिरहेको ठाउँमा पुग्दा धेरै उपभोक्ता त बाघले मलाई आक्रमण गरेको देखेर भागिसकेछन। केहि भने मलाई बचाउन भनेर आउँदै पनि रहेछन्।
बाघबाट उम्केपछि घासँमा लड्दै पड्दै फाँटमा पुगे। मलाई बचाउ बचाउ भने। रगतको धारा आखाबाट पुरै चुहिरहेको थियो। मलाई देखेर उपभोक्ताहरु पनि भाग्न थाले। अब यो मरिहाल्छ। यसलाई बाघले आक्रमण गर्यो। मान्छेको रगतको स्वाद पाएको बाघले अब हामीलाई पनि आक्रमण गर्छ भन्ने भएर उनीहरु भागेका रहेछन्। यसलाई घाइते बनाएको बाघले हामीलाई पनि आक्रमण गर्छ भनेर सबैम हाहाकार र भागाभाग मात्र । मलाई बचाउन आएकाहरुले भने अलि पर रहेको बाघलाई भगाए। मलाई त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाने प्रवन्ध पनि मिलाए। उनीहरुले मलाई बोकेर रोडमा ल्याए। पछि उनीहरुले नेपालगञ्ज फोन गरेर एम्बुलेन्स बोलाएछन्। नेपालगञ्जबाट एम्बुलेन्स आयो। त्यहाँबाट भेरी अस्पतालमा पुगेर चेकजाँच गराए। तर डाक्टरले यो आँखाको केस भएकोले फत्तेलाल आँखा अस्पताल नेपालगञ्जमा पठाए। भोलिपल्ट मेरो अप्रेशन भयो। मेरो आखा सुकिसकेको थियो। एउटै नशा मात्र थियो। आँखाको अप्रेशन भइसकेपछि डेढ दुई महिना हस्पिटलमा बसे।

करिब दुई महिनापछि म घर फर्के। घर फर्किसकेपछि थाहा भयो मसँगै खरखडिया फाड्ने दिन अनुगमन गर्न गएको साथीलाई पनि मलाई बाघले झम्टिदा बाघको पछाडीको खुट्टाले उसलाई पनि लागेको रहेछ। त्यसक्रममा उ पनि पछारिएको रहेछ। त्यसयता त उ अगुल्टोले हानेको कुकुर विजुलीदेखि तर्सन्छ भने झै तर्सिदोरहेछ। सधै रातिराति बाघ जस्तो हुहुहु गर्नदो रहेछ। उ बिरामी पनि थियो। अनि गाउँका अरु साथीहरुले पनि उसलाई जिस्काउने गर्थे। धेरै दिन भएको थियो भेट नभएको। काकाको नाता पर्ने उसँग कुरा गरे। उसले पनि विरामी भएको सुनायो। रातिराति सपनाम बाघसँग लडाइ गरेको मात्रै देख्छु भनेर सुनायो। पछि झारफुक गरेर उसलाई निको तुल्याइयो। उ सञ्चो भयो।
मेरो चाँहि अप्रेसन भएको आँखाको घाउँ सञ्चो भए पनि भित्रभित्रै मासु पलाउँदै रहेछ। भित्र घाउँ निको भएको थिएन। त्यसपछि फेरी डब्लुडब्लुएफसँग सम्पर्क गरे। मेरो प्लाष्टिक सर्जरी टिचिङ अस्पताल काठमाडौंमा भयो। त्यसपछि देख्न नसक्ने भएपनि आँखा पूर्ण रुपमा सञ्चो भयो। तर तीन वर्षसम्म मेरो आँखा कामै लागेन। धेरै कुरा गर्दाखेरी पोल्ने, सुनिने, धेरै दुख्ने गर्थ्यो तर अहिले सत्र्चो छ तर गर्मी भयो भने अलिअलि दुख्ने गर्छ। मलाई चिसोमा बस्न मन लाग्छ। शीतलमा चाहिन्छ मलाई तर गर्मी हुने वर्दियामा शितल पाउनै गाह्रो।

भदाई थारु कुराकानीको क्रममा। तस्विर सौजन्यः पल्लवी ढकाल, हरियो वन कार्यक्रम।
बाघले तेरो आँखा लग्यो। बाघदेखि रीस खुब उठ्छ होला भनेर कतिले सोध्ने गर्छन मलाई। सबैलाई मेरो जवाफ हुने गर्छ ‘अहँ उठ्दैन।’ मैले अहिले त्यो पाटे बाघलाई देखेको छैन। बरु चितुवालाई देखेको छु। हाम्रो सामुदायिक बन र आसपास तीन वटा पाटे बाघ छ। एउटा ठूलो बुढो बाघ छ। त्यो सबभन्दा ठूलो छ। दुई वटा चाहि भर्खरैको जवान छ। सँगै हिडेको पनि देख्छु। उनीहरु समूहमा आएर हिडछन। बुढो बाघ समूहमा आएर चितल मारेर खान्छ। केहि समय अघी वस्तीको एक स्थानियको एउटा ठुलो राँगा मारिदियो। त्यो राँगा कम्तिमा पनि ३० हजारको थियो। अहिले मलाई धेरै अनुभव भयो। बाघको बारेमा। मेरो अनुभवमा बाघ भनेको शान्तसँग बस्ने जनावर हो। उ लुकेर बस्छ। उसलाई आफुलाई घेरेको जस्तो भान भए मात्रै आक्रमण गर्छ। मलाई पनि त्यस्तै भएर आक्रमण गरेको हो। जम्काभेटले मात्रै म माथि बाघले त्यस्तो आक्रमण गरेको हो। हामी मुढभेडको स्थितमा भएको जस्तो उसले सोच्यो। नत्र मलाई खाने भए त्यही खान्थ्यो। त्यसैले म सोही समयदेखि नै बाघ संरक्षणमा लागेको छु। जंगलमा निरीक्षण गर्न जाँदा कहिलेकाही खरखर गर्यो भने मलाई फेरी बाघले झम्टिन लाग्यो की क्या हो भनेर मेरो मुटुको ढुकढुकी बढ्छ। डर लाग्छ। तर २/३ जना गएपछि डर लाग्दैन। तर एक्लै कहिले कहिले जानै पर्यो भने म लठ्ठी लिएर जान्छु। वास्तवमा भन्नु पर्दा बाघको लागि अहिले यो क्षेत्र एकदमै राम्रो छ। केहीदिन अघिमात्रै बाहिरबाट पत्रकारहरु आउनु भएको थियो। ३ वटा बाघ हिडेको ठाउँ मैले देखाए। र क्यामरा टेपिङमा यो शुरुमै पर्यो।
अहिले हातीको बथान त बाह्रै मास हुन्छ। १६/१७ वटा हाती त जहिले पनि हिडिराख्या हुन्छ। पहिले पहिले चितवन निकुञ्जले गैडा छोडेको बेला गैडा देख्थ्यौ। तर अहिले त बाह्रैमास  गैडा हाती। किनकी यो खाता जैविक मार्गमा अहिले चरिचरण बनेको छ। अहिले हामीले यो क्षेत्रलाई नै सुरक्षित गरिदिएका छौ। घासे मैदानको लागि भनेर चरिचरण बन्द गरेपछि त्यसको असर जंगली जनावरमा परेको छैन। तर मान्छेलाई घटना गराएको छैन अझैसम्म। अब जंगलमा चाप भयो भने फेरी गराउन पनि सक्छ भन्ने आशंका छ।
मलाई मेरो जन्म कहिले भयो खासै थाहा छैन। बाघले आक्रमण गर्दा यस्तै लक्का जवान थिए। मेरो जन्म मिति २०२२ सालतिर हो भन्छन। किनकी मेरो जन्म मिति बुवाआमाले राख्नु भएन। १० वर्ष अगाडी बाघले आक्रमण गर्दा ३८ वर्षको थिए। अहिले ४८ बर्षको भए होला।
वन्यजन्तुको मायाप्रिती गाँस्न बनजंगल
वन्यजन्तु पनि मान्छे जस्तै माया प्रेमको भोका हुन्छन। उनीहरु पनि मायाँ साट्न चाहन्छन्। मायाप्रेम गर्ने अवसर र ठाउँ पाएनन् भने उनीहरु पनि विक्षिप्त हुन्छन् । त्यसैले उनीहरुको लागि वातावरण बनाइदिनुपर्छ। उनीहरुलाई मायाप्रिति गर्ने र विवाह गर्ने अवसर दिनुपर्छ। वास्तवमा भन्नु पर्दा मानिहरुले जसरी आफनो माया प्रिती गास्न उनीहरुसँग सञ्चारका साधनहरु न त मोबाइल फोन छ। न त रेष्टुरेण्ट नै छ। जंगली जनावरको मायाप्रिती गास्ने ठाउँ भनेपनि फोन भने पनि त्यही हरियाली राम्रो जंगल नै हो। जंगल राम्रो भयो भने उनीहरुको आउने जाने माया प्रिती गास्ने पनि त्यही हुन्छ। यो खाता जैविक मार्ग बर्दिया बीचको जंगल सामुदायिक अन्तर्गत पर्छ। हामीले यसलाई संरक्षण गर्नमा जुटेका छौ। यदि यो संरक्षण नभइदिएको भए उनीहरुको माया प्रिती पनि हुने थिएन। अहिले उनीहरुलाई अलि राम्रो वातावरण मिलेको छ। उनीहरुको पनि आफ्नै संस्कार छ। हामी मानिसहरु जस्तै विवाह गर्ने समय हुन्छ। उनीहरुको पनि रमाउने समय आउछ। हामी मानिसहरुको माघ, फागुन, वैशाखमा विवाह भए जस्तै उनीहरुको पनि विवाह गर्ने सिजन हुन्छ। उनीहरुको विशेष गरी कार्तिक देखि माघ, फागुन सम्म चाहि विवाहको समय हो। चराहरुको वसन्त ऋतुमा विवाह हुने गर्छ। चैत वैशाख तिर उनीहरु फुल पार्ने र रमाउने महिना हो।
अहिले बाघ, हाती, गैडा, चराहरुको पिरती जोगाउन यो खाता करिडोरले भुमिका खेलिरहेको छ। पहिले त अलि कम थियो। तर अहिले जनचेतना भयो। मानिसहरुले उसको बारेमा बुझ्न थाले। बन्यजन्तु संरक्षण गर्दाखेरी केके असर पर्छ पर्दैन भनेर जनचेतना फैलाउन थालेका छन। पहिले त धेरै दुख दिए। गैडाले घरमै आएर मान्छे मारेको थियो। सरकारले कुनै पहल गरेन। हामीले अब यसलाई मार्नु पनि भएन। संरक्षण गर्नतिर लाग्नु पर्छ भनेर आफनो कला संस्कृतिलाई जोगाउन तिर लागेका छौ।
वास्तविक हामी हिन्दु थारु चौधरीको नाताले बाघलाई पनि देउता मान्छौ। सर्प पनि देउता मान्छौ। घोडा हाती लगायत सबैलाई देउता मान्छौ। हाम्रो पुर्खा, बडा पुर्खाले  भने अनुसार पहिला थारुको पनि राज्य थियो रे। पछि लडाइ हुदाँ ज्यान बचाउन जंगलमा जंगली जनावरको साहारा लिएको र उनीहरुलाई प्रार्थना गरेर बसेको हुनाले हामीले जंगली जनावरलाई नै देउता मान्छौ। किनकी विभिन्न देवी देवताहरुको बहान पनि जनावर नै छन। कोही बाघमा सवार छन भने कोही मयूर, कोहीको सर्प, कोही घोडा। मेरो घरमा घोडा देउता छ। म दशैमा घोडालाई पुज्ने गर्छु। हामी कुखुरा भाले केके पुज्छौ यो पनि हाम्रो संस्कृति भित्र पर्दछ। त्यसकारणले हामी जंगली जनावरको संरक्षण गर्नुपर्द्छ भनेर भन्छौ। हामी बाघलाई जगन्नथीबाबा मान्छौ। देवीदेउता समेत मान्छौ। हाम्रो अभियान अहिले सफल भइरहेकोछ भन्नु पर्छ। अहिले बाघ गैडाले पनि बच्चा पाएको छ। गैडाको बच्चाको न्वारन कार्यक्रम गर्‍यौ र उसको नाम शिबु राख्यौ। शिबु सामुदायिक बनमा जन्मिएको भएर यो नाम राखेका हौ। तर भाले हो की पोथी भनेर थाहा पाएनौ त्यही पनि शिबु नाम राख्यौ।
चश्मासँग जोडिएको जीवन
मेरो शरीर पहलवान जस्तो छ। मान्छेहरुले मलाई चश्मा लगाएर हिड्दा हलिउडको ह्यान्डसम जस्तो देखिनुहुन्छ पनि भन्छन। मलाई चश्मा लगाएर हिड्दा सबै छक्क पर्छन। सबैले क्या फैशन छ भन्छन। तर चश्मा खोलेर हेर्दा कैसन छ भन्छन्। लामो हाँसो(हाहाहाहाहा)। मेरो जीवन चश्मासँग जोडिएको छ। के गर्ने बाध्यतावश चश्मा लगाउनु परेको छ। एक पटक म डब्लुडब्लुएफको काममा धनगढीमा जादा मलाई बाटैमा सीमा सुरक्षा प्रहरीले रोकेर ‘तुम बहुत हिरो बनकर कहा जा रखा है?’  भनेर सोधपुछ समेत गरेका थिए। धेरै मान्छेले यो अपाङग छ भनेर थाहा पाउँदैनन्।
अर्को जन्ममा बाघ बन्ने इच्छा
अहिले संरक्षणको क्षेत्रमा मैले पुर्‍याएको योगदानको नेपाल भित्र मात्रै होइन अन्तराष्ट्रिय रुपमा व्यापक चर्चा छ भन्ने मैले पनि सुनेको छु। हलिउडका नायक नायिकादेखि विभिन्न ख्यातीप्राप्त व्यक्तिहरुले मेरो कार्यको प्रशंसा गरेका छन्। बेलायतकी एक डकुमेन्ट्री निर्माता थिइन मेनसी पाइल। उनी एकदमै म तिर हेरेर मुस्कुराउने। उनीले मस्की मार्ने मलाई। उ अंग्रेजीमा बोल्ने। म नबुझ्ने। उ मुसुमुसु हास्ने। तर मलाई लाज लाग्ने। उनी २०६३/६४ सालमा बाघको बारेमा डकुमेन्ट्री खिच्न आएकी थिइन।  उनले बाघले आक्रमण गरेको घटना भएको ठाउँमै लगेर कसरी आक्रमण गर्यो, कसरी हान्नु भयो, कसरी बच्नुभयो, भनेर सबै गर्न लगाइन। अनि एक घण्टा पछि अन्तर्वार्ता लिइन। अन्तर्वार्तामा पनि मुसुमुसु हास्ने र आखा पनि झम्मझम मार्ने। अब मलाई लाज लाग्ने कहिले नबोलेको कहिले नदेखेको गोरी मान्छे। म त मख्ख परिहाले। साथीहरुले मलाई नलजाउन भनेपछि म उत्साहित भए। उनले अन्तिम प्रश्न सोधिन, तपाइको आँखा बाघले लग्यो। अब तपाइ अर्को जूनीमा के बन्ने इच्छा छ? मैले उत्तर दिए, ‘म अर्को जूनीमा बाघ बन्न पाउँ। बाघ बनेर यो जंगलको राजा बन्न पाउँ’ यो भन्दा उनी बहुत खुशी भइन। किनभने यो संसारमा धेरै प्रजातीको बाघ लोप भयो। तर यो बाघको संख्या बढ्यो भने राम्रो हुन्छ यो प्रकृतिलाई।
टाइटानिकका हिरोको चश्मा
तीन वर्ष अगाडी अमेरिकाको एक चर्चित हिरो नेपाल आएका थिए। मलाई थाहै थिएन की अमेरिकाको चर्चित हिरो आउँछ भनेर। त्यो पनि टाइटनिक फिल्मको हिरो। रुमालमा देखेको थिए। डुङगामा एउटा केटी र केटा बसिरहेको। मलाई कसैले भनेको थिएन हिरो आउदैछन् भनेर। उनि गाउँमा आइसकेपछि मात्रै थाहा पाए की एउटा चर्चित हिरो आउँदैछन् अमेरिकाको। उनी मधुवन गाउँको बायो ग्याँस र सुधारिएको चुलो लगायतका कुरा उद्घाट्न गर्न आएका थिए। अर्को दिन भयो भेट हाम्रो। उनि जंगलको बाघ हेर्न बहुतै इच्छुक। उनले मलाई बाघसँग लडेको घटना थाहा पाएको र फोटो पनि देखेको भनेर जिज्ञासा राखे। मैले पनि बाघ संरक्षण गर्दा जंगलमा मुडभेट भएको भनेर बताएँ। उनले पनि सोधेकी बाघले तपाइको आँखा लगिदियो अब तपाइ बाघलाई मार्नुहुन्छ की के गर्नु हुन्छ? मैले पनि उनलाई त्यही उतर दिए। बाघलाई मार्नुको साट्टो उसको संरक्षणमा लाग्छु। उसको पनि बाँच्ने अधिकार छ। उसलई पनि प्रकृतिले बाँच्ने अधिकार दिएको छ। उसको बासस्थान अझै सुरक्षित बनाउँछु भन्दा उनले मलाई पिठ्यूमा धाप मार्दै स्यावास दिनुभयो र भन्नुभयो, ‘बाघ नेपालको मात्रै नभएर विश्वकै सम्पदा हो। यसलाई सबैले संरक्षण गर्नुपर्छ।’ उहाँले मलाई बाघसँग लड्ने र उसैको संरक्षण गर्ने तपाइ बडो बफादार हुनुहुन्छ भनेर मलाई आफूले लगाउनु भएको चश्मा फुकालेर मलाइ लगाइदिनुभयो। पहिलो पटक मलाई यसरी आफ्नो चश्मा फुकालेर दिने व्यक्ति उनि नै हुन टाइटानिकका हिरो लियोनार्दो डिकाप्रियो।

Post a Comment

 
Top