भत्केको मन टाल्ने कि ? : झमक घिमिरे
यति बेला यो पंक्तिकारलाई स्वयं मान्छेसँग प्रश्न गर्न मन लागेको छ- के तिमी मान्छे हौ कुन अर्थमा ? हो, आजको सभ्य, सुसंस्कृत समय र समाजमा पनि मान्छेलाई मान्छेले किन अन्याय, अत्याचार गर्छ ? आफूभन्दा अरूलाई मान्छे ठान्दैन ? यो समयको मान्छेमा संवेदना, माया भन्ने चीज किन हराउँदै छ ? यी यस्ता प्रश्नहरू कैयौं उठ्ने गरेका छन् । मानसपटलमा तर जवाफ खोई ? शून्य । अहँ, कतैबाट मिलेको छैन । मिलोस् पनि कसरी ? यहाँ आफूलाई सुसंस्कृत भनिएका मान्छेहरूको निरंकुश प्रवृत्तिको विरुद्ध बोलिदिने कसले ? त्यो हिम्मत गर्ने कसले ? यहाँ प्रजातन्त्र, गणतन्त्र र स्वतन्त्रता आएको धेरै भइसकेको छ । तर चेलीहरूको अस्मिता खुलेआम लुटिन्छन्, बालिकाहरू आफ्नै अभिभावक, अर्थात् संरक्षकबाट बलात्कृत भएका घटनाहरू बारम्बार भइरहेका छन् ।
आधुनिक समय रे । आफ्नै बाबुले छोरीलाई लुटिरहेको छ । आफ्नै दाजुभाइले दिदीबहिनीहरूलाई लुटिरहेका छन् । कस्तो संवेदनहीन बन्दै छ मान्छे ? उसको मनमा एकरत्ति संवेदना छैन । माया ममता छैन । ऊ आफू खुसी भए भयो । अरू खुसी हुनु पर्दैन । यहाँनेर यस पंक्तिकारलाई बूढापाकाले भनेको एउटा उखान याद आउँछ- आफैं मरेमात्र स्वर्ग देखिन्छ । कति गजबको कुरा । मान्छेलाई सबै सुख शयल आफैंले भोगे त्यसको स्वाद थाहा हुन्छ । मान्छे मान्छे रहेन ऊभित्र राक्षसी प्रवृत्ति छ । आफ्नै बाबु, दाजुभाइलाई पनि विश्वास के गर्नु ? तिनै अहिले भक्षकको स्वरूपमा बदलिएका छन् । आमा जाति पनि यस्तो अपराधी कर्मबाट अछुतो छैनन.् । उनीहरू पनि यस्ता अनेक अपराधी कर्ममा मुछिएका छन् ।
नेपालको अहिलेका मान्छेको मनोविज्ञान पढ्दा लाग्छ प्रत्येक मान्छेलाई प्रत्येक मान्छेसँग डर-त्रास छ । किनभने अहिलेको मानिसको मानसिकता यति विक्षिप्तता भइसक्यो कि जसले जे जस्तो अपराध कर्म पनि गर्न सक्छ । मान्छेको मन यसरी किन टुटेको होला ? मान्छे मान्छेप्रति हिंस्रक किन बन्दै छ होला ? के मान्छेसँग मानवता मरिसक्यो ? यदि छ भने संसार किन यस्तो संवेदनहीन खाडलमा भासिँदै छ ? मान्छेलाई मान्छेले किन सताइरहेको छ ? यो संसारको सबैभन्दा सुन्दर पक्ष भनेको मान्छेको सिर्जना । तर अहिले यही सिर्जना किन कुरूप बन्दै छ ? संसारका मान्छेको अस्तित्व नहुने हो भने संसार यति सुन्दर हुन्थ्यो होला र ?
अहिले त्यही बुद्धिमान मान्छे आफैंभित्र संकीर्णता र अविवेकको ऐंजेरु हुर्काएर आफैंमा सीमित बन्दै छ । आफ्नोभन्दा अरूको चिन्तन छैन उसलाई आफू मात्र बाँचे भयो । मान्छे अलिकति समय अरूको लागि पनि बाँच । जिन्दगीमा खालि आफ्नै व्यक्तिगत चिन्तामा नडुब । केही यो संसारको लागि पनि सोच । भोलिका लागि पनि सोच । ताकि तिम्रो चिन्तन अरूका लागि पनि काम लागोस् । तिमी बाँचेको यो समयका लागि उपयोगी होस् । यो युगको लागि सान्दर्भिक होस् । यहाँ बाँच्न त सबैले उही जिन्दगी बाँचिरहेका छन् । यहाँसम्म कि पशुपन्छीले पनि यही जिन्दगी बाँचिरहेका छन् । तिनले पनि आपसमा एक अर्काका लागि माया, ममता बाँडेर बाँचिरहेका छन् भने हामी त मान्छे । जोभित्र अथाह बुद्धि ज्ञान छ, त्यसलाई उपभोग गर्न किन खोजिरहेका छौं ?
हामी साँच्चै बुद्धू बन्दै गइरहेका छौ । आफ्नो बुद्धिको समेत सही ठाउँमा उपयोग गर्न जान्दैनौं भने हामी मान्छे हौं ? कि मांसपिण्ड मात्र हौं ? मान्छेसँग अलिकति भावनात्मक कुरा हुनुपर्छ, मान्छेको हृदय कोमल हुनुपर्छ जहाँ आत्मीयता होस्, माया ममता होस्, अर्थात् मान्छेसँग मान्छेको मन होस् । त्यस्तो समाजको परिकल्पना गरेको छ युगले, समयले अथवा मान्छेको मनले । तर यो समयमा त्यस कुराको परिकल्पना गर्नु अभिशाप भइरहेको छ । यहाँ आफ्ना बाबुआमाले आफ्ना सन्तानलाई विनाश गरिरहेका छन् । सन्तानले आफ्ना अभिभावकको विनाश गरिरहेका छन् । यहाँ बालिका आफ्नै बाबु, काका, दाजुभाइबाट बलात्कृत हुन्छे, आफ्नै बाबु, काका, दाजुभाइ आफ्नै सन्तानबाट मारिइरहेका हुन्छन् । यस्ता विक्षिप्त घटनाहरू दिन प्रतिदिन भइरहेका छन् । त्यसले मान्छेको मन मस्तिष्कमा नराम्रोसँग प्रभावित पारिरहेको छ । मान्छेसँग भएको संवेग, आवेग, संवेदनात्मक कुरा भत्किरहेको छ । यसलाई भत्काउनतिर लाग्नुभन्दा त्यो विक्षिप्त भएर टुटेको मन जोड्नु मान्छेको कर्तव्य हो ।
Post a Comment