0

नक्कली विमा उठाउने ठगहरुको बिगबिगी


५ असार,  । नक्कली घटना बनाएर वीमाका लागि दाबी गर्नेहरुका विरुद्ध नेपाल प्रहरीले सर्तकता अपनाउन मातहतका कार्यालयमा निर्देशन गरेको छ । तर, प्रहरीले सतर्कता अपनाए पनि नक्कली काम गर्नेहरुले डाक्टरहरुको साथ भने अझैसम्म पाइरहेका छन् ।
वीमा समितिको दाबीअनुसार भीरबाट लडेको वा आत्महत्या गरेको मानिसलाई पनि गाडीले किचेको भन्दै वीमा दाबी गर्ने गरिएको र प्रहरी तथा डाक्टरहरुबाट झूठो सिफारिस आउने गरेको पाइएपछि फर्जी वीमा रोक्न सक्रियता देखाइएको हो ।interaction7
वीमा समितिले एक वर्षअघि यस्तो मापदण्ड बनाएर प्रहरीकहाँ पठाएको थियो । नभएका घटनाको प्रहरी रिपोर्ट आउने क्रम बढेपछि बीमा कम्पनीहरुले बीमा समितिमा गुनासो गरेका थिए । प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयमा बीमा प्रयोजनको लागि रिपोर्ट तयार गर्न परिपत्र गरेको छ ।
गलत रिपोर्ट तयार गरेर नाजायज वीमा दाबीलाई रोक्न वीमा समितिले जारी गरेको मापदण्ड प्रहरीले पालना गरेपछि नक्कली घटनामा कमी आएको समितिको दाबी छ । अहिले नक्कली घटनाको दाबी गर्ने क्रम निकै घटेको बीमा समितिका निर्देशक श्रीमान कार्कीले जानकारी दिनुभयो । ‘प्रहरीबाट सहयोग पाएको कारण पहिलेको अवस्थामा धेरै सुधार आएको प्रतिक्रिया बीमा कम्पनीबाट प्राप्त भएको छ’, उहाँले भन्नुभयो ।
भीरबाट लडेकोलाई ‘गाडीले किचेको’ दाबी
गाडीभित्रको यात्री दुर्घटनामा मरेमा एक लाखको बीमा हुन्छ भने पैदल यात्री मरेमा ५ लाखको बीमा हुन्छ । समाचारमा गाडीको ठक्करले मृत्यु भनेर आउने तर सम्बन्धित प्रहरी कार्यालयबाट गाडीभित्रको यात्री मरेको रिपोर्ट आएको कारण बीमा कम्पनी थप ५ लाख रुपैयाँका दरले भुक्तानी गर्न बाध्य हुन्छन् ।
सञ्चार माध्यममा एउटा नम्बरको मोटर साइकलको ठक्करले मानिसको मृत्य भएको खबर आउँछ । तर, सो मृतकको बीमा दाबी गर्न प्रहरीबाट अर्कै नम्बरको मोटरसाइकलले ठक्कर दिएको रिपोर्ट आउने गर्छ । तेस्रो पक्ष बीमा नगरेको मोटरसाइलकले मानिसलाई ठक्कर दिएमा बीमा गरेको मोटरसाइकल दुर्घटना भएको गलत विवरण बनाउने गरिन्छ ।
गाउँमा कसैले आत्महत्या गर्‍यो, भीरबाट लड्यो, रुखबाट खस्यो वा अन्य कुनै दुर्घटनाबाट घाइते वा मृत्यु भयो भने त्यसको क्षतिसमेत बीमा कम्पनीलाई भराउने गरिएको समितिको गुनासो छ । प्रहरी निरीक्षकले त्यस्ता व्यक्तिलाई बीमा गरेको कुनै मोटरले ठक्कर दिएको भनेर रिपोर्ट लेखिदिने गरेको आरोप समितिको छ ।
त्यसैगरी, चोरी नभएको पसल वा मोटरसाइकल चोरी भएको रिपोर्ट आउने तथा थोरै सामान चोरी भए पनि धेरै सामान चोरी भएको रिपोर्ट बीमा कम्पनीमा प्रहरीको हस्ताक्षरसहित आउने गर्दछ । वास्तविक क्षति कम भए पनि अधिकतम दाबी पाउने गरी क्षति भएको रिपोर्ट तयार गरिन्छ ।
प्रहरीबाटै आउँथ्यो नक्कली सिफारिस
प्रहरी निरीक्षकले प्रमाणित गरेको पत्रलाई बीमा कम्पनीले दुर्घटनाको प्रमाणको रुपमा मान्नुपर्ने कानुनी व्यवस्था रहेको छ । प्रहरी निरीक्षकले लेटरप्याडमा एक पेजको पत्र लेखिदिएबापत बीमा दाबी गर्न पाइने व्यवस्थाको व्यापाक दुरुपयोग भएको थियो । प्रहरीले व्यक्तिगत लाभको लागि जथाभावी सिफारिश लेखिदिने प्रचलन थियो । साथै गैरप्रहरी ठगहरुले समेत नक्कली चिठी बनाउन सहज थियो ।
प्रहरीले निर्देशिका परिपत्र गरेपछि प्रहरी निरीक्षकले सत्य घटनाको मात्र रिपोर्ट लेख्ने क्रम बढेको छ । मापदण्डमा प्रहरीले प्रमाण नपुगी रिपोर्ट लेखेको छड्के जाँच गर्ने व्यवस्था गरिएको छ । गलत रिपोर्ट लेखिदिएको पछि खुल्ने र विभागीय सजाए भोग्नुपर्ने भएपछि प्रहरीले जोखिम लिन छोडेका छन् ।
डाक्टरले अझै टेरेनन्
अस्पतालबाट आउने फर्जी रिपोर्टले पनि बीमा कम्पनी उत्तिकै पीडित छन् । एमबीबीएस डाक्टरले प्रमाणित गरेपछि बीमा कम्पनीले दुर्घटना, रोग र उपचार खर्चलाई आधिकारिक मान्नुपर्ने व्यवस्था रहेको छ । जुनसुकै अस्पतालबाट जोसुकै डाक्टरको हस्ताक्षरमा यस्ता रिपोर्ट आउने क्रम बढेपछि बीमा समितिले डाक्टरहरुलाई परिपत्र गर्न आग्रह गर्दै मापदण्ड बनाएर गत साल मेडिकल बोर्डमा पेश गरेको थियो ।
डाक्टरहरुको अनुगमन र नियमन गर्ने निकाय मेडिकल बोर्डले बीमा समितिको आग्रहलाई मानेन । अरु निकायले सिफारिश गरेको डाक्टरको आचारसंहिता र मापदण्ड आफूलाई मान्य नहुने बोर्डको जवाफ छ । डाक्टरले फर्जी रिपोर्ट नलेख्ने दाबीसमेत बोर्डका अधिकारी गर्छन् । यसले गर्दा डाक्टरको नामबाट हुने ठगीमा कुनै कमी नआएको बीमा कम्पनीहरु बताउँछन् ।

Post a Comment

 
Top