0

सित्तैमा सीम तर मोबाइल प्रतिबन्धित

मोबाइल कम्पनीको प्लस टुलाई चुनौति

ntcकेही समय अघि दुई वटा समाचार एकपछि अर्को गरेर आए ।
पहिलो समाचार : नेपाल टेलिकमले एसएलसी दिएर बसेका विद्यार्थीलाई सित्तैमा सीम दिने ।
दोस्रो समाचार : सिटिभी मोबाइलले एसएलसी पास भएकालाई ५० प्रतिशत छुटमा मोबाइल दिने ।
दुवै समाचार बजारमा देखिएको अस्वस्थ प्रतिश्पर्धाको चरमरुप थियो । यो ग्राहकको सुविधाको लागि ल्याइएको होइन, प्रतिश्पर्धीलाई उछिन्न मात्र हो । तर दुवै समाचारले प्लस टुलाई भने चुनौति दिए ।
अधिकांश प्लस टुमा मोबाइल प्रतिबन्ध छ । बालबालिकाको भविष्यको जिम्मेवारी लिएको निकायले मोबाइल प्रतिबन्ध लगाइरहेको बेला नेपाल टेलिकमले सित्तैमा सीम बाँडेर कुन जिम्मेवारी पुरा गर्न लागेको हो ?
विद्यालय र कलेजले मोबाइल प्रतिबन्ध लगाउनुको खास अर्थ छ । यो प्रतिबन्ध कुनै पनि मोबाइल सेवा प्रदायक कम्पनीको ब्यापारमा चुनौति दिन गरिएको काम होइन । जब किशोर अवस्थाका विद्यार्थीको पढाईमा मोबाइलले बाधा गरेको महसुस भयो तब प्राय कलेजले यसमा प्रतिबन्ध लगाए । न त अभिभावकले यसको विरोध गरे, न त विद्यार्थी संगठनले मोबाइल बोक्न दिन नै माग गरे । यो तहका विद्यार्थीलाई घरमा समेत मोबाइल ब्यक्तिगत रुपमा राख्न नदिन कतिपय प्राध्यापकहरुले अनुरोध गरेका छन् ।
तर नेपाल टेलिकमको चुनौति के का लागि ? खालि ब्यापार बढाउन मात्र यस्तो अफर आएको छ । यो स्किममा सामाजिक उत्तरदायित्वलाई कम्पनीले रद्दीको टोकरीमा हालेको छ । एनसेलसँगको प्रतिश्पर्धाले उसले यो अफर ल्याएको छर्लङ्ग छ ।
जब एनसेलले आफ्ना ग्राहक एक करोड पुगेको घोषणा गर्‍यो टेलिकमले सामाजिक उत्तरदायित्व नै विर्सियो । उसले कुनै पनि हालतमा एनसेलका ग्राहक संख्याभन्दा आफ्ना ग्राहक संख्या बढाउन यस्तो उट्पट्याङ काम गरेको हो । उसले आबेदन फारममा एसएलसीको प्रवेशपत्रको फोटोकपी राख्नु पर्ने ब्यवस्था गरेको थियो ।
यो योजनामा विद्यार्थीले पैसा नै तिर्न नपर्ने भने होइन । उसले दुई सय पर्ने सीमलाई सय रुपैयाँमा नै दिने योजना ल्याएको हो । जसमा सय बराबरकै टक टाइम हुन्छ ।
उट्पट्याङकै लागि अर्को मोबाइल कम्पनी अघि सर्‍यो । मोबाइल कम्पनी  सिटिभीले एसएलसी पास भएकालाई ५० प्रतिशत छुटमा सेट दिने घोषणा गरेको छ । टेलिकमको अफर सिटिभीको अफर संयोग मात्र हुनसक्छ । तर यो कलेज र अभिभावक दुवैलाई चुनौतिको विषय भएको छ ।
सिटिभी ब्राण्डेड मोबाइल बिक्री तथा ६० मिनेटको केयर सर्भिस चलाएर ख्याति कमाएको कम्पनी हो । उसले ब्लाकबेरी, कलर्स र ग्यालेक्सीका एक एक मोडलमा यस्तो छुटको घोषणा गरेको छ । उसले पास गर्नेहरुका लागि भने पनि एसएलसी दिएको प्रबेशपत्र मात्र ल्याए पनि सेट दिने जनाएको छ । साथै एसएलसी पास गर्नेका लागि सित्तैमा मोबाइल मर्मत गर्ने समेत सो कम्पनीले जनाएको छ ।

Post a Comment

 
Top