Latest News

0

बाढीपीडितलाई मुक्तकको वर्षा

५ साउन, । ‘अचानक बाढी आएर गयो, जायजेथा सबै बगाएर गयो, दिन लागेपछि यस्तै हुने रैछ, नखाएको रिन लगाएर गयो……..’ कवि एवं मुक्तककार रमेश पौडेलको पंक्ति । असारको पहिलो हप्ता आएको वर्षा र बाढीले पीडित सुदूरपश्चिमका बासिन्दाको सहयोगका लागि काठमाडौंमा भव्य मुक्तक वाचन कार्यक्रममा सहभागी हुन उहाँले यसरी निम्तो गर्नुभएको हो । बाढी पीडितको सहयोगार्थ नेपाल मुक्तक प्रतिष्ठानले आज शनिबार काठमाडौंको कमलादी स्थित सी. डब्ल्यू. पार्टी प्यालेसमा ‘मुक्तक माहौल’ कार्यक्रम गर्न लागेको छ ।
कार्यक्रममा कृष्णप्रसाद पराजुली, रत्नशमशेर थापा, चेतन कार्की, यादव खरेल, सरुभक्त, बूँद राना, राजेन्द्र थापा, तीर्थ श्रेष्ठ, रामकाजी कोने, प्रकट पंगेनी शिव लगायतका ३ दर्जन कलाकारले समसामयिक चोटिला मुक्तक सुनाउने प्रतिष्ठानका महासचिव समेत रहेका कवि पौडेलले जानकारी दिनुभयो ।
झण्डै ३०० जना साहित्य पारखी अतिथिहरुको उपस्थिति रहने सो माहौलमा प्रवेश शुल्क रु.१००/-, २००/- र ३००/- राखिएको छ । कार्यक्रमबाट उठेको सहयोग रकम प्रतिष्ठानका तर्फबाट नेपाल सरकारको बाढी पीडित रहत कोषमा एकमुष्ठ प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
मुक्तक माहोलमा प्रस्तुत हुने केही मुक्तककारका मुक्तक यस्ता छन्ः
सोच्नु नै गल्ती कि म यहाँ पश्चाताप गर्छु
म खुलमखुला कोरा कागजमा सहीछाप गर्छु
झुक्किएर धर्म हुन गए कुनि मलाई थाहा छैन
जानेर त यो ठाउँमा खाली म पाप गर्छु……….
-रत्नशमशेर थापा
नगरी नहुने काम बिर्सिदिन्छ
नपुगी नहुने ठाम बिर्सिदिन्छ
यतिसम्म बेहोस भएको छ चेतन
कहिलेकाहीं आफ्नै नाम बिर्सिदिन्छ…….
- चेतन कार्की
उ यसरी आयो फूर्ति देखायो
केही छैन भन्दै सूर्ति देखायो
साक्षात भगवान भेटें भन्थ्यो
जावो धातुको मूर्ति देखायो…..
-किरण दर्पण
साह्रै चोथाले तिमी बोलेरै खायौ
हत्केलामा मुटु दिएँ, पोलेरै खायौ
दिएँ खाली भएर सबथोक थिएँ
रगत पनि सर्बत झैं घोलेरै खायौ
- रमेश पौडेल
गरीबका वस्तीमा क्रान्ति पठाइदिन्छु
भ्रष्ट सामान्तीका अनुहार जलाइदिन्छु
तिमीले मलाई के सम्झेका छौ महासय
म मुक्तक लेखेरै सरकार ढलाइदिन्छु
-बादल घिमिरे

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top