यी हुन् स्थापितलार्इ गड्यौला पाल्न सिकाउने आमै
कुरो सुन्दा कतिपयलाई अचम्म लाग्न सक्छ । तर, अचम्म नमाने हुन्छ, तपाईले आफ्नो भान्छामा तरकारी काट्दा आउने फोहोर र कसिंगर घरभित्रै पालेका गड्यौलालाई खान दिनुभयो भने ती मेहनती गड्यौलाहरुले सो फोहोरलाई दुर्गन्धरहित मलमा परिणत गरिदिन्छन् । र, तपाईले आफ्नो घरमा रोपेको फूल, तरकारी वा बालीनालीका लागि पैसा खर्च गरेर मल किनिरहनैपर्दैन ।
गड्यौला डाक्टर
काठमाडौँको भोटाहिटीमा हुर्केर विज्ञान विषयमा स्नातकोत्तर गरी त्रिभुवन विश्वविद्यालयमा ३७ प्राध्यापन गरेकी डा. आनन्दशोभा ताम्राकारलाई नेपालको ‘गड्यौलाविद’ भन्दा फरक पर्दैन । सन् १९९५ सालतिर विषादि विरुद्धको कार्यक्रममा अमेरिका जाँदा उहाँले गड्यौला मल -भर्मी कम्पोष्ट) को महत्वबारे पहिलोचेाटि थाहा पाउनुभएको हो । सन् १९९६ मा दिल्ली जादाँ गड्यौला मल बनाउने प्रविधि सिकेको र त्यहाँबाट नेपालमा गड्यौलाका फूलहरु ल्याएको ताम्राकार बताउनुहुन्छ ।
काठमाडौंका विभिन्न डम्पिङ् साइडबाट गड्यौला ल्याएर अनुसन्धान गर्नुका साथै विज्ञान विषयको प्रोफेसरका रुपमा उहाँले नेपालमा गड्यौला मलको संभावना र त्यसको महत्वका विषयमा ९७ जना विद्यार्थीलाई शोधकार्य गर्न लगाइसक्नुभएको छ ।
मैले गड्यौला केशव स्थापितलाई जिम्मा लगाएँ : ताम्राकार
काठमाडौँको फोहोर व्यवस्थापन गर्ने सरल र महत्वपूर्ण उपायका रुपमा ताम्राकारले जाइकासँग मिलेर गड्यौला मल बनाउने प्रविधिलाई प्रमाणित गर्नुभएको छ । केशव स्थापित काठमाडौंको मेयर भएका बेला टेकुमा थुपारिएको फोहोरमा कसरी गड्यौला मल बनाउन सकिन्छ भनेर प्रमाणित गरेपछि केही समय सो फोहोरबाटै गड्यौला मल बनाउने काम गरेको तर महानगरपालिकाले सबै काम आफै गर्छु भनेपछि स्थापितलाई जिम्मा लगाएर छाडेको उहाँ बताउनुहुन्छ । तर, आफूले छाडेको १ वर्ष पनि नपुग्दै गड्यौला मल बनाउने काम महानगरपालिकाले बन्द गरेको ताम्राकारको गुनासो छ ।
काठमाडौँमा उत्पादन हुने करिब ८० प्रतिशत फोहोर जैविक भएका कारण यसलाई व्यवस्थापन गरी गड्यौला मल बनाउने उद्योग चलाउन सके नेपालका लागि आवश्यक कम्पोष्ट मलको आपूर्ती सजिलै गर्न सकिने ताम्राकारको दाबी छ । आफ्नो घरपरिवारले पहेलो सुनको कारोबार गर्दै आएको तर आफुले कालो सुन (गड्यौले मल) को महत्वको विषयमा प्रचार प्रसार गदै आएको ताम्राकार बताउनुहुन्छ । सन् २००७ युएनडीपी र सौराह क्षेत्रका स्थानीय सामुदायिक संस्थाहरुको सहयोगमा चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको अर्धपाचन लिदीलाई प्रयोग गरी गाड्यौला मल बनाउने प्रविधि सिकाएको र त्यो प्रविधिको प्रयोग अहिलेसम्म पनि निकुञ्जमा भैरहेको उहाँले बताउनुभयो ।
विश्वमा पाइने गौड्यालाहरु मध्ये ६ प्रकारका गड्यौलाले मात्रै जैविक फोहोर खाएर मल बनाउन सक्ने ताम्राकार बताउनुहुन्छ । नेपालमा ३ प्रकारका गड्यौलाहरु मल बनाउन प्रयोग भैरहेको उहाँले जानकारी दिनुभयो । ती जातका गड्यौलाहरुमा आइसिनिया, ल्याम्पिटो र युडि्रलस रहेका छन् । आइसिनिया विश्वभर पाइने र यसलाई काठमाडौँको फोहोर व्यवस्थापनका लागि प्रयोग गर्ने हो भने उपत्यकालाई सफा र स्वच्छ बनाउनुका साथै राम्रो आर्थिक उपार्जन पनि हुने उहाँको बुझाइ छ ।
गड्यौला पाल्ने तरिका
काठको बाकस, प्लाष्टिकका भाँडाहरु, पुरानो लुगा धुने बाटा, बाँसको टोकरी आदिमा गड्यौला पाल्न सकिन्छ । यस्ता भाँडाहरुमा गड्यौलाई बस्न सजिलोका लागि काठको धुलो, सुकेका पातहरु, कागज, पत्रिका, पराल, छ्वाली, जुटको बोरा आदि राख्नुपर्दछ । साथै त्यसमा सुकेको गोबर वा अन्य कुहिने फोहोरलाई पानीमा भिजाएर १ इन्च जति बाक्लो तयार पारिएको बिछ्यौना जस्तो बनाएर राख्नुपर्छ । यसरी फोहोर राखिसकेपछि आवश्यकता अनुसार भाडामा गड्यौला हाल्नुपर्छ ।
एक वर्गमीटर क्षेत्रफलमा २ हजारसम्म गड्यौला पाल्न सकिन्छ । यसरी राखिएको भाँडोमा सामान्यतया २ देखि ३ दिनमा फोहोर थप्दै जानुपर्दछ । प्रत्येक पटक फोहोर थप्दा कपडा वा जुटको बोरा भिजाएर ओसिलो बनाइ छोप्नुपर्छ । तरकारी काट्दा उत्पन्न फोहोर दिनहुँ भाँडामा हाल्दै जाँदा त्यहाँभित्र रहेका गड्यौलाले खाएर दिनहुँ घटाउँदै जान्छन् । यसरी खानेकुरा थपिएन भने भोकाएका गड्यौलाहरु भाँडाबाट बाहिर निस्कन सक्छन् । यो क्रम शुरु भएको २/३ महिनामा मल निकाल्नयोग्य हुन्छ । एकातिर मल पनि उत्पादन हुन्छ, अर्कातिर गड्यौलाको संख्या पनि अत्यधिक बढ्ने हुनाले थप अन्य भाँडामा पनि मल उत्पादन गर्न सजिलो हुन्छ ।
मल निकाल्नका लागि भाँडालाई जमीनमा घोप्ट्याई १० देखि २० मिनेटसम्म उज्यालोमा छोडनुपर्दछ । यसरी घोप्ट्याऐको मलमा माथिबाट गड्यौला तल पिँधतिर सर्दै गएपछि माथिको मल प्रयोग गर्न सकिन्छ र त्यहाँ सहेका गड्यौलालाई छानेर पुनः अन्य भाँडाहरुमा थप गड्यौला मल बनाउन सकिन्छ ।
Post a Comment