Latest News

0

 शक्तिकेन्द्रको हस्तक्षेप र आर्थिक प्रलोभनले काम गरेन भने सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) कोषराज वन्त यही साउन महिनाभित्रै निलम्बनमा पर्ने भएका छन्। चार वर्षे कार्यकालका लागि एक वर्षअघि आईजीपी बनेका वन्त विकास बजेट भ्रष्टाचारका कारण निलम्बनमा पर्न लागेका हुन्।
यसअघि तामेलीमा राखिएको उनको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तदारुकताका साथ अगाडि बढाएको स्रोतले बतायो। अकूत सम्पत्ति आर्जन गर्ने करिब डेढ सय कर्मचारीमाथि अनुसन्धान गर्ने क्रममा आईजीपी वन्त पनि छानबिनको दायरामा परेका हुन्। मंसिर ४ गते निर्वाचनको मिति घोषणा भइसकेका कारण सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै आईजीपी वन्तको फाइललाई प्राथमिकताका साथ अघि बढाइएको अख्तियार स्रोतले जनाएको छ। ‘आईजीपी वन्तको फाइल पनि अरु कर्मचारीहरूको फाइलसरह अघि बढाइएको थियो। तर यसो गर्दा समय लम्बिने भयो, चुनावको मुखमा सुरक्षा निकायका प्रमुखमाथिको छानबिन प्रक्रिया लम्ब्याउँदा राम्रो हुन्न भन्ने सुझाव मन्त्रिपरिषद्का अध्यक्षज्यूले दिनुभयो, त्यसैले साउन महिनाभित्रै अनुसन्धान सक्ने गरी काम अगाडि बढाइएको छ,’  अख्तियार स्रोतले भन्यो।
अख्तियारले छानबिन गरी विशेष अदालतमा अभियोग पत्र दर्ज गराएपछि वन्त महानिरीक्षकबाट स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ। नयाँ आईजीपीलाई कम्तीमा तीन महिना चुनावी सुरक्षाको तयारी गर्ने मौका दिनुपर्ने भएकाले आईजीपी वन्तविरुद्ध साउनभित्रै मुद्दा दर्ज गरिसक्ने गरी अनुसन्धान थालिएको हो। डेढ वर्षअघि उनीविरुद्ध परेको उजुरीलाई आधार बनाएर आयोगले छानबिन प्रक्रिया थालेको हो। त्यतिबेला आयोगका सचिव भगवती काफ्लेले लेनदेनका आधारमा वन्तको फाइल तामेलीमा राखेको पत्ता लागेपछि अहिले फेरि छानबिनको प्रक्रिया अगाडि बढाइएको आयोग स्रोतले बतायो।
२०६७ सालमा उनले काठमाडौं जिल्ला अदालतमा पेस गरेको सम्पत्ति वितरण र उनको अहिलेको सम्पत्तिमा २० गुणाको अन्तर रहेको तथ्य फेला परिसकेको दाबी अख्तियार स्रोतको छ। विधवा भाउजु टीका वन्तले २०६७ मंसिरमा अंश मुद्दा दायर गरेपछि तत्कालीन एआईजीपी वन्तले आफ्नो परिवारको सम्पत्ति विवरण अदालतमा पेस गरेका थिए। उनले तीन वर्षअघि पेस गरेको सम्पत्ति विवरणभन्दा अहिले उनको सम्पत्ति २० गुणाले वृद्धि भएको देखिएको छ। ‘जागिरको अवधिभित्र उनी शान्ति मिसनअन्तर्गत विदेश पनि गएका छैनन्, उनलाई ठूलो धनराशिको पुरस्कार र चिा पनि परेको छैन, उनको आफ्नै कुनै बन्द व्यापार र व्यवसाय पनि छैन उही शुद्ध मासिक २४ हजार पाँच सय रुपैयाँ तलब हो। तर सम्पत्ति भने २० गुणा बढेको देखियो,’ छानबिनमा संलग्न अख्तियारका एक कर्मचारीले भने। उनका अनुसार तीन वर्षको यो अवधिमा वन्तको सम्पत्ति करोडौं बढेको देखिएको छ। टाढाका इष्टमित्र र व्यवसायीका नाममा लुकाएको सम्पत्तिबारे छानबिन हुन बाँकी नै छ।
अख्तियार स्रोतका अनुसार किस्ट मेडिकल कलेजमा मात्रै आईजीपी वन्तले श्रीमती रमा वन्त र माइली भाउजू जेनी वन्तका नाममा एक करोड ७० लाख र आफ्नो नाममा एक करोड ५० लाख रुपैयाँ बराबरको सेयर राखेको पाइएको छ। यसैगरी, मोदी हाइड्रोमा भाउजू जेनी र भाउजूका नातेदारका नाममा तीन करोड रुपैयाँको सेयर खरिद गरेको तथ्य फेला परेको छ। तर भाउजूको आम्दानी र उनले तिरेको कर कतै फेला नपरेका कारण त्यो सम्पत्ति आईजीपी वन्तकै भएको अख्तियारको दाबी छ।
यसबाहेक राजधानी काठमाडौ, पोखरा, चितवन, पाल्पा र बुटवलमा गरी वन्त र उनका परिवारका नाममा अर्बौ रुपैयाँ मूल्य पर्ने घरजग्गा रहेको पाइएको छ। केही जग्गा भने तीन वर्षको यो अवधिमा बिक्री गरी ठेकेदार शकुन्तलाल हिराचनमार्फत अन्यत्रै लगानी गरिसकेको रहस्य छानबिनपछि खुलेको छ। श्रीमती रमा वन्तको नाममा काठमाडांै वडा नं. १५ मा रहेको कित्ता नं. १८६, १९१, १०९, १८५ र १७२ गरी साढे चार रोपनी र भाउजू जेनी वन्तको नाममा रहेको स्वयम्भूको तीन रोपनी जग्गा बिक्री गरेको छानबिन क्रममा देखिएको छ। किस्ट मेडिकल कलेज र मोदी हाइड्रोमा गरिएको ६ करोड रुपैयाँ लगानीको स्रोत देखाउन उनले स्वयम्भूको तीन रोपनी र हलचोकको साढे चार रोपनी जग्गा बिक्री गरेको हुनसक्ने बताइन्छ। तर उक्त जग्गाहरू बिक्री गर्नुभन्दा पहिले नै उनले किस्ट मेडिकल कलेज र मोदी हाइड्रोमा करिब ६ करोड रुपैयाँ लगानी गरेको देखिएको छ।
समाचार स्रोतका अनुसार उनी एआईजी हुँदासम्म शकुन्तलाल हिराचनको ठेकेदार कम्पनीमा इन्जिनियर वन्त कन्सल्ट्यान्टका रूपमा जागिरे थिए। बलम्बुमा सशस्त्र प्रहरी अस्पताल निर्माण सम्पन्न हुँदा नहुँदै उनी हिराचनका कर्मचारी रहेनन्, व्यावसायिक साझेदारसमेत हुन पुगे। १० करोड अनुमानित लागत स्टिमेटमा गोरखाको कन्ट्रक्सन कम्पनीलाई काम दिएकोमा त्यसलाई अयोग्य ठहरी गरी वन्तकै सक्रियतामा उक्त अस्पताल निर्माण सम्पन्न गर्न ३५ करोड रुपैयाँमा तत्कालीन ठेकेदार शकुन्तलाल हिराचनलाई दिएका थिए। यस काण्डमा भएको २५ करोड रुपैयाँ भ्रष्टाचारलाई अहिलेसम्म गुपचुप पारिएको थियो। उक्त अस्पताल भवन निर्माणको रेखदेखमा सशस्त्र प्रहरीका तर्फबाट इन्जिनियरसमेत रहेका वन्त खटिएका थिए।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top