दाहालद्वारा एकल नेतृत्व प्रस्ताव
एमाओवादी उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ एकअर्काविरुद्व आरोपप्रत्यारोपमा उत्रिएपछि अध्यक्ष पुष्पकमल दाहालले आफ्नो एकल नेतृत्वमा पार्टीलाई संविधानसभा निर्वाचनमा लैजान प्रस्ताव गरेका छन्। ललितपुरको इमाडोलस्थित खन्ना गार्मेन्टमा शुक्रबार सुरु भएको विस्तारित बैठकमा भट्टराई र श्रेष्ठका भिन्नाभिन्नै अभिव्यक्ति आएपछि दाहालले उक्त प्रस्ताव राखेका हुन्।
उद्घाटनसत्रमा भट्टराईले श्रेष्ठप्रति लक्षित गर्दै ऐंजेरुको संज्ञा दिएका थिए भने श्रेष्ठले भट्टराईलाई संकेत गर्दै आत्मकेन्द्रितको संज्ञा दिएका थिए। भट्टराई पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो विघटन गर्ने पक्षमा छन् भने श्रेष्ठ विपक्षमा छन्।
‘बाबुरामजीलाई वरिष्ठ नेता बनाउन विधान संशोधन गर्नुपर्थ्यो। महाधिवेशनले बनाएको विधान विस्तारित बैठकबाट संशोधन गर्नु राम्रो हुँदैनथ्यो। बरु विधानमा रहेका पदमा नराख्न सकिन्छ। त्यही भएर अध्यक्षले एकल नेतृत्वमा चुनावी अभियानमा जाने प्रस्ताव ल्याएर जटिलतालाई सहजतापूर्वक निकास दिन खोज्नुभएको छ’, एक वरिष्ठ नेताले भने। ती नेताका अनुसार अध्यक्ष दाहालको एकल नेतृत्वमा चुनाव अभियान सञ्चालन गर्ने र निर्वाचनपछि विशेष संगठनात्मक राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव बैठकमा पेस भएको छ। अध्यक्ष दाहालको प्रस्तावप्रति उपाध्यक्ष श्रेष्ठले पदाधिकारी बैठकमा असहमति जनाएका छन्।
तत्कालका लागि पद विभाजन नगर्ने र कार्य विभाजन गर्ने ६ बुँदे प्रस्ताव १६ वटा समूहमा छलफलपछि विस्तारित बैठकबाट पारित भए महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भट्टराई र श्रेष्ठ तथा महासचिवमा निर्वाचित पोस्टबहादुर बोगटी पनि केन्द्रीय सदस्यमा सीमित रहनेछन्। राज्य समितिका १३ वटा, सल्लाहकारको एउटा, जनवर्गीय संगठनको एउटा, अन्तर्राष्ट्रिय ब्युरो, सूचनासञ्चार ब्युरो, युवा परिचालन ब्युरो र केन्द्रीय कार्यालय ब्युरोको एउटाएउटा गरी १६ वटा समूह बनाइएको छ।
दाहालको प्रस्तावमा उपाध्यक्ष पदबाट भट्टराईले दिएको राजीनामा विधि, प्रक्रिया र तत्कालीन राजनीतिक परिस्थिति अनुकूल नरहेको उल्लेख छ। प्रस्तावमा उल्लेख छ, ‘समय सन्दर्भसँग बिल्कुल मेल खाएन। विस्तारित बैठक पदत्याग घोषणा अस्वीकार गर्छ।’
प्रस्तावको छैटौं बुँदामा १२ बुँदे समझदारीका पक्षधर मिलेर अघि बढ्नुपर्ने उल्लेख छ।
गत असार १३ गतेको केन्द्रीय समिति बैठकमा दाहालले पेस गरेको सांगठनिक प्रस्ताव पारित नहुने अवस्था आएपछि भट्टराईले उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए।
विस्तारित बैठकको उद्घाटनसत्रमा भट्टराईले भने, ‘शान्तिपूर्ण प्रक्रिया र विभिन्न प्रकृतिका एकता प्रक्रियाबाट गुज्रंदै अगाडि बढेपछि हामीमा अशुद्धि र संसदीय रोग फैलिएका छन्, विभिन्न प्रकारका विसंगति, झारपात र ऐंजेरु उम्रिएका छन्। त्यसलाई निराकरण गर्न पनि बैठक केन्द्रित हुनेछ।’ भट्टराईले अध्यक्ष दाहालको नेतृत्वमा पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताए। उनले भने, ‘मेरो पद त्याग समस्या नभएर समाधान हो। हामीले त्याग गरी जनताको विश्वास जितेर पार्टीलाई एकताबद्ध बनाउनुको विकल्प छैन।’
श्रेष्ठले भनेका थिए, ‘आन्तरिक पार्टी जीवनमा जस्तोसुकै समस्या उत्पन्न भए पनि हामी एकताबद्ध हुन्छौं, हुनुपर्छ। तर आत्मकेन्द्रित भएर सोच्ने प्रवृत्तिबाट भने हामी मुक्त हुन सक्नुपर्छ।’ अध्यक्ष दाहालले १२ बुँदे समझदारीका सहयात्रीलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै संविधानसभाको दोस्रो निर्वाचनमा एक जुट भएर अघि बढ्न अपिल गरे। ‘संघीय लोकतान्त्रिक गणतन्त्रको अजेन्डाले जित्दा हामीले जितेको हुन्छ। नेपाली जनता र हाम्रो पार्टीको लक्ष्य एउटै हो’, उनले भने, ‘संविधानसभा निर्वाचनको विपक्षमा षड्यन्त्र र व्यवधान भइरहेमा आन्दोलन हुनेछ।’
Post a Comment