हरि अधिकारी 
एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष बाबुराम भट्टराईले केही दिनअघि ‘आइन्दा आफू कुनै पनि प्रकारको कार्यकारी पदमा नबस्‍ने’ भन्ने घोषणा गरेर चियाको कपमा ज्वारभाटा पैदा गर्ने जुन प्रयत्‍न गरेका थिए, त्यसको तरंग केही मत्थर भएको छ। उनको घोषणालाई लिएर पक्ष र विपक्षमा केही हजार शब्द पनि खर्च गरिएका हुन्।

भट्टराईले स्कुल-कलेजका प्रमाणपत्रवाला शिक्षाका क्षेत्रमा आर्जन गरेको विशिष्टताबाट अभिभूत भएका एकथरीले उनको पदत्यागको बेमौसमी धुनलाई महान् त्याग, अरूले पनि पछ्याउनुपर्ने घोषणा, उदाहरणीय कदम जस्ता शब्दावलीबाट प्रशंसा गरेका थिए भने उनको पछिल्लो सार्वजनिक जीवनको फजिती र उनको व्यक्तित्वमा देखिएको अन्योल, द्विविधा, हठ र पत्नी एवं परिजनबाट दमित कार्यशैलीका आधारमा विश्लेषण गर्नेहरूले उनले गर्छु भनेको त्यागलाई खासै चर्चा गर्नुनपर्ने विषय भनेर पन्छाइदिएका थिए। र, उनीहरू धेरै हदसम्म ठीक थिए किनभने बाबुरामको ‘त्याग’ का पछाडि कुनै नीति, सिद्धान्त, धर्म र उद्देश्य छैन।
कुनै पनि व्यक्ति निजी जीवनको सानो दायराबाट निस्केर सार्वजनिक जीवनका फराकिलो मैदानमा प्रवेश गर्छ भने उसले आफू किन नयाँ भूमिका निर्वाह गर्न जाँदैछु भन्ने धेरथोर मन्थन गरेकै हुनुपर्छ। मुलुक परतन्त्रको साङ्लोमा बेरिएको बेलामा अथवा कुनै पनि रूपाकारको तानाशाहीले जनताका नैसर्गिक स्वतन्त्रता, भावना र आकांक्षामाथि प्रहार गरिरहेको बेलामा सार्वजनिक जीवन वा राजनीतिमा लाग्‍नेहरूले एउटा उद्देश्य, एउटा गन्तव्य र एउटा लक्ष्य प्राप्‍त गर्छन्। यस्तो दुवै परिस्थिति विद्यमान नभएको बेलामा पनि राजनीतिमा लाग्‍न चाहनेमध्ये असल मानिसले मौजुदा अवस्थामा राजनीतिका माध्यमबाट समाजको सकारात्मक परिवर्तनका लागि आफूले गर्नसक्‍नेसम्मको योगदान गर्ने कोसिस गर्छन् भने खराबहरूले चाहिँ राजनीतिलाई आफ्नो निहित स्वार्थ पूरा गर्ने एउटा उपकरणको रूपमा मात्र उपयोग गर्न खोजिरहेका हुन्छन्।
राजनीतिक रूपले बिल्कुलै अज्ञानी वा अल्पशिक्षित, आफ्ना अधिकार र कर्तव्यको बारेमा पनि कुनै ज्ञान नभएका र आलोचनात्मक विश्लेषणको क्षमताको अभावका कारण सम्भाव्य र असम्भाव्यको विचारै नगरी ठूलाठूला नाराका पछाडि दगुर्ने जनता बहुसंख्यामा भएको मुलुकमा राजनीतिमा लागेका खराब मानिसहरूले निमुखा र अकिञ्‍चन जनताको मुक्तिका नाममा तिनै जनताको जीवनमा कहिल्यै नफाट्ने दुर्दशाको कालो बादल फैलाइरहेका हुन्छन्। भट्टराईको पार्टी एमाओवादीले सञ्‍चालन गरेको जनयुद्ध त्यस्तै एउटा गरिब नेपालीविरोधी हिंसात्मक आन्दोलन थियो, जुन सर्वहारा नेपालीको मुक्तिका नाममा लडिएको भए पनि त्यसको अन्तिम परिणति भने गरिबको सर्वाधिक क्षति गर्ने नै हुन पुग्यो। जनयुद्धमा मारिनेमध्ये पनि अधिकांश गरिब जनताका छोरा थिए चाहे ती लडाकु हुन्, चाहे सरकारी फौजका जवान।
भट्टराईको पदत्यागको प्रसंगमा यो विषय किन उठाउनुपर्‍यो भने राजनीतिमा उनको त्यागको कुरो उठ्दा उनले जिम्मेवारी बहन गर्दा आफूलाई कसरी प्रस्तुत गरेका थिए भन्ने खोज पड्ताल आवश्यक हुन आउँछ। भट्टराईले लिएको राजनीतिको बाटो सुरुदेखि गलत थियो। न लक्ष्यको सुस्पष्ट चित्र थियो यिनको दिमागमा न गरिब, दीनदु:खी र अज्ञानी जनसमूहप्रति संवेदनशीलता। मार्क्सवादी अर्थ राजनीतिको कोरा सैद्धान्तिक व्याख्या गर्न त यिनी जान्दथे तर त्यसले पार गरेर आएको इतिहासको यात्रा सिकाउने पाठप्रति यिनी सधैं निरपेक्ष रहिरहे। यिनको पार्टीले जनयुद्धको एघारौं वर्षमा आएर खाएको राजनीतिक पुल्टुङबाजी हेर्दा प्रस्ट देखिन्छ- वास्तवमा यो र यिनका नेता पुष्पकमल दाहाल प्रचण्ड जनयुद्धप्रति नै पनि इमानदार थिएनन्। जनयुद्ध सुरु गर्दा यिनीहरूले गरेको घोषणा एकदमै नक्कली थियो।
बाबुरामको पार्टीका निम्ति १७ हजार युवा नेपालीको जीवनको मोल केही पनि थिएन। हिन्दुस्तानका नेताहरूको आदेशमा जनयुद्धलाई स्थगन गरेर सतहमा देखा परी राजनीति गर्न थालेदेखि एमाओवादी नेताहरूको असली अनुहार र चरित्रको वास्तविकता उदांगो हुन थालेको थियो। दुनियाँलाई देखाउनुपर्दा त्यस पार्टीमा वैचारिक एकता, अनुशासन र केन्द्रीय नेतृत्वको सर्वोच्चताको बखान गरिए पनि त्यहाँ चरम् गुटबन्दी, सिद्धान्तहीनता र मुख्य-मुख्य नेताहरूबीच पार्टीमाथि कब्जा जमाउने अस्वस्थ होड सम्पूर्ण कुरूपताका साथ चलिरहेको थियो।
भट्टराईको हकमा थप एकदुई नकारात्मक पक्षसमेत चर्चा गर्नलायक देखिन्छ। पहिलो नम्बरमा यिनीसँग जोडिएको नकारात्मक कुरो हो- यिनको परनिर्भर राजनीति। यिनले गर्ने हरेक ठूलो निर्णय काठमाडौंमा नभएर अर्कै मुलुकको राजधानीमा हुने गर्छन् भनिन्छ। निमको रुखमा फलेको तीतेकरेलो भने झैं मुलुकको कार्यकारी प्रमुखको हैसियतले यिनले ठूलो अंक जोडिएका मामिलाहरूमा निर्णय लिँदा यिनकी दुलही हिसिला यमीको निर्देशन अकाट्य हुने गरेको यिनी प्रधानमन्त्री छँदाका बखतका केही मामिलाले छर्लंग पारिसकेका छन्। यी दुइटा दृष्टान्तले प्रस्ट पार्छन्, भट्टराई स्वतन्त्र हस्ती होइनन्। यिनको चरित्र छद्ममा आधारित छ।
गर्न हुने र नहुनेबीचको भेद मेट्न कोसिस गर्दै यिनले प्रधानमन्त्रीको हैसियतले गरेका केही विवादास्पद निर्णय नेपाली सार्वजनिक जीवनको इतिहासमा सधैंका लागि अंकित भइसकेका छन्। जति ठूलो डिग्री उति ठूलो भ्रष्टाचार भने झैं भएको छ यी विद्यावारिधिका हकमा। त्रिशूली ए तीन जलविद्युत् आयोजनाको बकम्फुसे क्षमता वृद्धिको निर्णय गर्न लगाएर भ्रष्टाचारको रकमका हिसाबले कीर्तिमान कायम गरेका भट्टराई विद्युत् प्राधिकरणको सञ्‍चालन समितिले नै त्यो भ्रष्टतामुखी निर्णय फिर्ता लिने भएपछि कमिसन रकम लिनु खानु गरिसकेका भए अप्ठ्यारोमा परेको हुनुपर्छ।
यसबाहेक काठमाडौं उपत्यका खानेपानी लिमिटेडको उच्‍च पदको नियुक्तिमा जेठीसासू र जेठान प्रकरण, लोकमानसिंह कार्कीको नियुक्तिको यिनले गरेको प्रतिरक्षा, पत्रकार डेकेन्द्र थापा हत्या प्रकरणमा यिनको न्यायविरोधी अडान, ज्यानमारा अभियोग प्रमाणित भई अदालतले दण्ड सजाय तोकेको व्यक्ति बालकृष्ण ढुंगेललाई जोगाउन यिनले गरेको संरक्षण र अपकर्महरूको आलोकमा हेर्दा भन्न सकिन्छ- यी मानिस नेपाली समाजको हित र कल्याणमा योगदान गर्ने खालका होइनन्। यिनले पढेका किताब, जानेका कुरा लिएका उच्च शिक्षाका प्रमाणपत्रहरू नेपाली जनताका हकमा रत्तिभर पनि काम लाग्‍ने बन्न सकेका छैनन्। अहिले त इन्जिनियरिङ विधाको यिनको उच्‍चतम ज्ञानका बारेमा जानकारी राख्‍नेहरू यिनले राजनीतिमा नआएर आफूले सिकेका कुराको उच्‍च उपयोग गर्दै समाजमा सेवा पुर्‍याएको भए सबैतिरबाट स्याबासी पाएका हुन्थे भन्न थालेका छन्।
त्यसैले भन्न सकिन्छ- बाबुरामले सबै प्रकारका कार्यकारी जिम्मेवारीबाट सधैंका लागि टाढा रहने भनेर गरेको घोषणाबाट कसैले पनि हर्ष वा विष्मात मान्नुपर्ने केही छैन। बरु बाबुरामको घोषणामा आफूले आफैंलाई अतिरिक्त महत्त्व दिन खोजेको अहंकारको छनक पाउन सकिन्छ अथवा उनले यो घोषणा एमाओवादीको आन्तरिक द्वन्द्वको स्थितिमा आफ्नो कमजोर बन्दै गएको स्थान सुदृढ बनाउन गरेको प्रयत्न मात्र हो।
अथवा हुनसक्छ, बाबुराम भट्टराई आफ्नो झन्डै तीस वर्ष लामो राजनीतिक जीवनलाई आलोचनात्मक दृष्टिकोणले मूल्यांकन गरेपश्चात पछुतो मान्नुपर्ने अवस्थामा पुगेका छन् र प्रायश्चित्तका रूपमा पदको राजनीतिबाट सधैंका लागि टाढिने निर्णयमा पुगेका छन्। यसो हुनचाहिँ त्यति सजिलो छैन। पद र पैसाको चमकदमकका कारण यिनको आलोचनात्मक अन्तर्दृष्टि धमिलो भएको छ। यिनका वरिपरि यिनका ससुराली खलक, यिनको संरक्षणमा रहेका परजीवी चाप्‍लुस कार्यकर्ताहरू र कर्मचारीतन्त्रमा रहेका भ्रष्ट तत्त्वहरू छन्, जसले यिनको नभएको महानताको बखान लगातार गर्दै यिनलाई भड्खालोतिर धकेलिरहेका छन् हर्दम। तिनीहरूको जालो तोड्न सजिलो छैन।
यिनलाई बडो यत्‍नपूर्वक स्याहारेर सुसारेर एमाओवादीको शीर्ष नेतृत्व पंक्तिमा स्थापित गराउने बाह्‍य शक्ति पनि सम्भवत: चाहँदैन, यिनी यति छिट्टै राष्ट्रिय राजनीतिको केन्द्रीय मञ्‍चबाट नेपथ्यमा धकेलियून्।
नाम लिनुपर्दैन त्यो शक्तिलाई सबैले चिनेका छन्। त्यसका लागि भट्टराई जस्तो प्रस्ट देखिने योग्यता र पृष्ठभूमिमा दह्रो पार्टीसँग जोडिएको राजनीतिक जीवन भएको अर्को कुनै नेता छैन आजको नेपालमा आफ्नो हितमा काम गर्न तयार हुने। त्यसैकारणले पनि भट्टराईको पदत्यागको घोषणा चियाको रूपमा उठेको आँधी जस्तै फासफुस हुन सक्छ भन्ने अनुमान धेरैले गरेका छन्।
प्रचण्डले बाबुरामलाई पार्टीको वरिष्ठ नेताको हैसियत प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनु र भट्टराईले त्यसलाई स्वीकार गर्ने संकेत गर्नुले त्यतैतिर इंकित गर्छन्। यस्तो लाग्छ- भट्टराई चाहेर पनि राजनीतिबाट भाग्‍न सक्दैनन्। हो, यस देशमा कुनै बेला जनादेश प्राप्‍त दह्रो सरकार अस्तित्वमा आयो र त्यसले त्रिशूली ए तीन जस्ता मामिलामाथि ठोस छानबिन गरेर कारबाही चलायो भनेचाहिँ बाबुरामजी कानुनत: राजनीति गरिरहन अयोग्य हुन सक्छन्। त्यतिबेला यिनले सन्न्यास घोषणा गरिरहनै पर्दैन।