भुटानी शरणार्थी : लोभलाग्दा ग्राहक
गोपाल गड्तौला
साउन २७ –
झापा दमकको बेलडाँगी बजार । एकाविहानैदेखि यहाँको व्यस्तता सुरु हुन्छ ।
फलफूल, माछामासु र सागपातका पसलसँगै होटल र गल्ला किराना पनि विहानै खुल्छन् । बजारमा रहेका विभिन्न पसलको लहरमा छ, बेलडाँगी–३ शरणार्थी शिविरका सुवास विश्वको कम्प्युटर इन्ष्टिच्युट ।
कम्प्युटर सिक्न आउनेहरुको चहलपहल विहानैदेखि सुरु हुन्छ । कम्प्युटर सिक्न आउनेहरुको हुलमा हुनुहुन्छ, २१ वार्षे भिमकुमारी शिबा । उहाँ कम्प्युटरको कखरामै इमेल गर्न र इन्टरनेट चलाउन चहानुहुन्छ । भन्नुहुन्छ ‘पुनर्वास भएर विभिन्न आठ मूलुक पुगेका आफन्त र साथीभाइको सञ्चो बिसञ्चो थाहा पाउन इमेल इन्टरनेटमा अभ्यस्त हुनै पर्दोरहेछ ।’
भुटानी शरणार्थी घर फिर्ति सम्भव नभएपछि उनीहरुको जीवन थप बर्बाद हुनबाट रोक्न भन्दै विभिन्न आठ पश्चिमा मुलुकले शरणार्थीलाई आफ्नै देश लैजाने काम शुरु गरे । पाँच वर्षअघि सुरु भएको तेश्रो देश पुनर्वासमा सहभागी भएर ८१ हजार धेरै भुटानी शरणार्थी बिभिन्न देश पुगिसकेका छन् ।
उनीहरुले झापा र मोरङमा रहेका शरणार्थी शिवीरमा रहेका आफन्तलाई केही रकम पठाउन थालेसँगै भुटानी शरणार्थीको क्रयशक्ति ह्वात्तै बढाएको छ । यसलाई पुष्टि गर्न, शरणार्थी शिवीर आसपासमा बर्गेल्ती खुलेका मनि ट्रान्सफरहरु काफी छन् ।
बेलडाँगी एक शरणार्थी शिवीरमा मनि ट्रान्सफरको काउण्टर खोलेका सन्तोष अधिकारीको काउण्टरबाट दैनिक सरदर चारलाख रुपँैया नगद भिकिन्छ । रेकर्ड अनुसार सबै पैसा अमेरिका र युरोपबाट शिवीरका शरणार्थीका लागि आएको हो । अधिकारी भन्नुहुन्छ–‘चाडबाडमा आउने पैसाको अंक दोब्बरसम्म बढ्छ ।’
हेर्दाहेर्दै फेरियो जीवन
कुनैबेला सहायत सँस्थाले दिने सहयोगको भरमा पाउने रासन भन्दा बाहेक खानु भनेको हम्मेहम्मेको अवस्था थियो । निश्चित रासन, पढाई, स्वास्थ्य उपचार जस्ता आधारभूत सहयोग पाएपनि लुगाफाटो र मिठोमसिनो खान्की जुटाउनु भनेको शरणार्थीलाई आकाशकै फल थियो ।
हिजोआज कुरो बदलियो ! पुनर्वास भएका आफन्तले पठाउने आर्थिक सहयोगले शिवीरका होचा र साँघुरा छाप्राहरुको रुपरंग फेरिएको छ । टेबलमा ल्यापटप, गोजीमा मोवाईल र मिठोमसिनो खान मन लाग्दा झट्टै बजार पस्ने आदत, भुटानी शरणार्थी शिवीरमा छर्लङै देखिन्छ ।
शरणार्थीको खानपान, उठबस र प्रबिधिमाथिको निर्भरता ह्वात्तै बढाउने तत्व भनेको उनीहरुको आर्थिक हैसियतमा भएको बढोत्तरि नै हो । शरणार्थी बनेको दुई दशक पछिसम्ममा धेरै भुटानी शरणार्थीले शिवीर आसपासको क्षेत्रमा आर्थिक गतिबिधिमा हात हालेका छन् ।
आफू बसेको शिबिर आसपासको आर्थिक कारोबारमा शरणार्थीको प्रभाव बढ्दै गएको छ ।
बेलडाँगी १ शरणार्थी शिवीरका रणबिर राईले नजिकैको बजारमा होटल खोल्नुभएको छ । माछामासु र पेय पाइने उहाँको होटलका प्रायः ग्राहक भुटानी शरणार्थी नै हुन ।
राजमान गुरुङ भुटानी समाजमा निक्कै चिनिएको नाम हो । ९ बर्षसम्म उहाँले टिमाई शरणार्थी शिवीरलाई सचिवको रुपमा नेतृत्व दिनुभयो । उहाँका छोराछोरी, दाजुभाइ, दिदीबहिनी सबैजना पुनर्वास भईसकेका छन् ।
हिजो आज उहाँको बसाई शिवीरमा छैन, झापा दमक १४ मा डेरामा बस्नुहुन्छ । इन्टरनेट जडान गरिएको ल्यापटप, मोबाइल, टिभी, खाना पकाउने ग्यास जस्ता भौतिक सुविधाले भरिएको कोठामा भेटिनुभएका गुरुङको परिबारको महिनामा हुने लगभग ३० हजार रुपैंयाको खर्च अमेरिकाबाटै धानिँदै आएको छ ।
भुटानी शरणार्थीको सपना र संसार बद्लिएको छ । महिलालाई गरगहनाको रुची र चाह बढनु पनि शरणार्थी शिवीरमा देखिएको अर्को उत्पातको परिवर्तन हो । नाककानमा अचाक्ली महँगो पहेंलो धातु पहिरिएर निस्किने महिला शरणार्थी शिबिरमा बढ्दा छन् ।
बढ्दो कारोबार
झापा र मोरङ क्षेत्रको आर्थिक गतिबिधिमा, त्यहि क्षेत्रमा रहेका भुटानी शरणार्थीको प्रवेश भइरहेको छ । उनीहरुले शरणार्थी शिवीर आसपासमा चलाएका होटल, पसल वा अरुले चलाएका त्यस्ता पसलहरुमा ग्राहकको रुपमा शरणार्थीको ओइरो दुवैले यसलाई पुष्टि गर्छन् ।
झापा दमक उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष शंकर बस्नेत पुनर्वास भएका भुटानी शरणार्थीले तिनका आफन्तलाई गर्ने सहयोगले पश्चिम झापाको आर्थिक कारोबार करिबकरिब धानिदिएको निधोमा पुग्नुभएको छ । भन्नुहुन्छ–‘यहाँको बजारका लागि शरणार्थी लोभलाग्दा ग्राहक बनेका छन् ।’
आफ्नै भूमि फर्कन पाउनु अथवा पुनर्वासमा तेश्रो देश जानु ! यो भुटानी शरणार्थी मुद्धामा ब्यापक बहसको विषय हो । त्यसमाथि परिवारका कोही सदस्य शिवीरमै त कोही पुनर्वासमा तेश्रो देश ! यो परिवार विखण्डनको अर्को दुखद् चित्र हो ।
तैपनि पुनर्वास भएका आफन्तले गर्ने आर्थिक भरथेगले शरणार्थीको खानपान, लबाइ खबाई, बसाउठ, चालचलन धेरै कुरामा परिवर्तन ल्याएको छ । अनि यसले झापा, मोरङ क्षेत्रको बजारमा आर्थिक गतिविधि पनि बढाएको छ ।
Post a Comment