0

सर्प पनि सत्ता उन्मादले फाँफाँ र फुँफुँ !

अहिले गर्मी र वर्षाको सिजन । खेतबारी, पाखापखेरा, बाटोघाटो र खोलानालामा सर्प भेटिन्छन् ।

कुनै सर्प विषालु हुन्छन्, कुनै हुँदैनन् । कुनैले देख्ने बित्तिकै मान्छेलाई आक्रमण गर्छन्, कुनैले केही गर्दैनन् । सर्प हानिकारक पनि हो, उपयोगी पनि ।
आइतबार नागपञ्चमी भएकाले अहिले झन् नाग अर्थात सर्पको सम्झना गर्ने बेला हो । नाग अर्थात सर्पको पूजा गर्ने संघारमा हामीले सर्पसँग जोडिएका केही रमाइला उखान संकलन गरेका छौं । एउटा प्रचलित उखान सत्ता राजनीतिसँग पनि जोडिएको छ ।
त्यो हो–‘सर्प भुईंमा छउन्जेल मात्र सिलिङमिलिङ गर्छ, शिवजीका गलामा चढेपछि सत्ता उन्मादले फाँ फाँ र फुँ फुँ गर्न थाल्छ ।’

सर्पसँग जोडिएका अरु उखान यस्ता छन् :

सर्पका सय गुन भएपनि डस्ने एउटै बैगुनले कसैले मन पराउँदैन
सर्पको काँचुली मान्छेले देख्छ, मान्छेको काँचुली सर्पले देख्छ
सर्पको खुट्टा, सर्पले देख्छ
सर्पको घर र शिकार एकै ठाउँ
सर्पको जिभ्रो, उमेर अनुसार
सर्पको जिभ्रो वर्षैपिच्छे थपिन्छ
सर्पको टाउकोमा विष पनि हुन्छ, मणि पनि हुन्छ
सर्पको दुलो, मुसाको घर
सर्पको विष सर्पलाई लाग्दैन
सर्पको र दुष्टको टेढोमेढो चाला
सर्प देखे खोकिलामा हात, माछा देखे दुलामा हात
सर्प पनि मरोस्, लट्ठी पनि नभाँचियोस्
सर्प पाली अजिंगर
सर्प भागिसक्यो, काँचुली पिटेर के काम
सर्प भागेपछि गोहो ठटाउने
सर्पमा विख र मान्छेमा इख भएन भने काम लाग्दैन
सर्पलाई दूध खुवाई विखैविख
सर्पलाई दूध खुवाएर आफ्नो हुँदैन, भालुलाई पुरान सुनाएर काम दिँदैन
सर्पलाई दूध खुवाएर पाले पनि त्यसले पाल्नेलाई म्वाई खाँदैन, डस्छ
सर्पलाई दूध र मूर्खलाई अर्ति काम लाग्दैन
सर्पलाई न लट्ठी बनाउन हुन्छ, न डोरी बनाउन हुन्छ
सर्पलाई म्वाई खानु, बाघलाई अँगालो हाल्नु
सर्पलाई बिच्छीको डर, बिच्छीलाई भ्यागुताको डर, भ्यागुतालाई सर्पको डर
सर्पले डसेको छ र त डोरी देख्दा पनि डर लाग्छ
सर्पले कहिल्यै सिधा बाटो हिँड्दैन
सर्पले छेपारो भेटे जस्तोः खाए मर्छ, नखाए आँखा बन्द हुन्छन्
सर्पले बेरिराखे पनि श्रीखण्ड विषालु हुँदैन
सर्पले मात्रै सर्पको खुट्टा देख्छ
सर्प सर्प नै हुन्छ
सर्प सोझो हिँड्दैन, मूर्ख राम्रो बुझ्दैन

Post a Comment

 
Top