अत्तालिँदै भूतले भने–नाइटुपाध्यको दुहाई..
मिलन तिमिल्सिना - चरिमारेटार स्कूल पढ्न जाँदा साथीहरुले भन्थे–डम्बरे चौतारो र ऋषिपानी खोलामा भूतले तर्साउँछ ।
साथीहरुको कुरा सुन्दा डर लागेपनि तर्साउने भूत कस्तो हुन्छ होला भन्ने सधैं खुल्दुली लाग्थ्यो । तर जिन्दगीमा अहिलेसम्म भूत देख्न पाएको छैन । भूतले तर्साएको पनि छैन । अस्ति घरबाट बा आउँदा पो थाहा भयो, हामी तिमिल्सिनाहरुलाई भूतले केही गर्दैन रे ।
चरिमारेटारको त्यही बाटोमा दिनको दुईपटक ओहोरदोहोर गर्ने मेरो बाले ऊबेला हजुरआमाले भनेको कथा मलाई सम्झाउनुभयो । दिनभरीको घरायसी काम सकी बेलुका खाना पकाई खुवाईसकेपछि मेरी बुढी हजुरआमाले बेलाबेला कथा सुनाउनुहुन्थ्यो । एकदिन उहाँले आफ्नै पुर्ख्यौलीबारेको कथा सुनाउनुभएको मलाई झट्ट याद आयो । कथाको शीर्षक थियो–‘नाइटुपाध्यको दुहाई ।’
मेरी बुढी हजुरआमा(हजुरबाको आमा) को समेत ११ औं पुस्ताका हाम्रा अग्रज नाइटुपाध्य नलाङ बलदेवीस्थानमा संयुक्त परिवारमा बस्दै आउनुभएको रहेछ । कामको बाँडफाँडको क्रममा उहाँ त्यहाँ भन्दा केही तलको बेंसीगोठ कुडुल्ले भन्ने ठाउँमा गाईवस्तु चराउने र बेलुकी त्यहीँ गोठमा बस्ने गर्नु हुँदोरहेछ ।
बेंसीगोठ भएको ठाउँमा पाखोबारी र साना सुर्का रहेछन् । कुडुल्ले पारीपट्टि बिरालीखोप र खड्करेपाखामा भूतका परिवार बस्ने गर्दा रहेछन् । तिनीहरुसँग हाम्रो अग्रजको रातिराति संगत भै मित्रता कायम भएछ र नाइटुपाध्यले भनेको ति भूतहरुले मान्नेरहेछन् । त्यसैले कुडुल्लेको सुर्काबारीलाई ठूला ठूला खेतको गरा बनाउन ति भूतहरुलाई अह्राउनुभएछ र घरबाट सधैं खाजा स्वरुप चामल लैजानु हुँदोरहेछ ।
खेत र कूलो निर्माण समाप्त भएको खुशीयालीमा एकदिन उहाँले १ मुरी चामल र एउटा खसी घरबाट ल्याइदिनुभएछ । भूतहरुले राति चामल र खसीको मासु पकाएर खान ठिक पारेछन् । घरबाट एकमुरी चामल र खसी रातिराति काम गर्नेलाई खाजा स्वरुप खुवाउने भन्ने कुराले घरकी एकजना बुहारीलाई जान्ने मन लागेछ । खेत खन्ने मान्छे कस्ता र कति रहेछन् हेर्नुपर्यो भनि उनी राति कुडुल्ले खेतभन्दा माथि पाखाको एउटा रुखमा बसेर हेरी रहिछन् । त्यो कुरा नाइटुपाध्यलाई थाहा भएन ।
भूतहरुले नाइटुपाध्यको भाइबुहारी त्यहाँ आएको थाहा पाइसकेका थिए । भूतहरुले खाना खान स्वीकृत मागे । ‘हामीहरुले यहाँ भएका आसपासका सबै चिज खाऔं त’ उनीहरुले भने । नाइटुपाध्येले खाओ भन्दा त रुखबाट आफ्नै भाइबुहारी तल लडिन् र मरिन् । त्यो सबै भूतहरुको खेल थियो । यस घटनाबारे नाइटुपाध्यले तत्काल कुनै प्रतिकृया जनाएनन् । केवल मौका पर्खिएर तिनीहरुसँगको मित्रता कायमै राखिरहनुभयो ।
मंसिर/पुस महिनामा सबै गाईवस्तु बारीमा बाँधेपछि उहाँले आफू सुत्ने छाप्रो हालेको ठाउँमा सुकेको काठ ल्याई आगो बालेर शरीरमा तेल लगाउँदै गर्दा ती भूतहरु पनि आएछन् । उनीहरुले पनि आफ्नो शरीरमा तेल लगाउन मागेछन् । नाइटुपाध्यले आज होइन, भोलि भन्नुभएछ ।
बुहारी मारिएको घटनाको बदला लिने मौका यही हो भनी उहाँले भोलिपल्ट राति पनि आगो बालेर तेल लगाउन थाल्नुभएछ । भूतहरु आएर तेल माग्दा सल्लाको खोटो दिनुभएछ । सबै भूतहरुले सल्लाको खोटोलाई तेल भन्ने ठानी जीउभरी दलेछन् । नाइटुपाध्येले शरीरमा तेल लगाईसकेपछि बलिरहेको अगुल्टो शरीरको वरिपरी घुमाउनुभएछ । किन यसो गरेको भनेर भूतहरुले सोध्दा उहाँले सबै ठाउँमा तेल लागेको कि लागेन भनेर हेर्न यसो गरेको भन्नुभएछ ।
त्यसपछि सबै भूतहरुले पनि सल्लाको खोटो शरीरमा दलिसकेपछि सबैतिर लागे/नलागेको थाहा पाउन भन्दै बलिरहेको अगुल्टो शरीरको वरिपरी घुमाएछन् । सल्लाको खोटोमा आगो छिटो सल्कने हुँदा भूतहरुको शरीरमा उतिखेरै आगो बल्न थालेछ । त्यसपछि उनीहरु अत्तालिएर चिच्याउँदै नजिकैको खड्करे रह(पोखरी)मा ‘नाइटुपाध्यको दुहाई’ भन्दै फाल हानेछन् ।
कथा सुनाएपछि मेरी बुढी हजुआमाले भन्नुभयो ‘नाइटुपाध्य नाम गरेका हाम्रा पुर्खाले भूतलाई तर्साएका हुनाले हामी तिमिल्सिनाहरुलाई भूत, पिचाश भन्ने कहिल्यै लाग्दैन अर्थात भूत पिचाश लागेर बिरामी भईंदैन ।’
हजुरआमाको कथा सुनेको धैरै वर्षपछि म कुडुल्ले खेतमा जाँदा वरपर खेतको फाँट, फाँटको बीचमा ठूला गरा र चौतारो सहित खाली ठाउँ देखें । त्यो चौतारा भएको ठाउँमा थकाई मार्ने, खाजा खाने र रोपाईं हेर्ने गरिन्थ्यो ।
हजुरआमाले कथामा भनेजस्तो हाम्रा पुर्खाले भूतसँग गरेको दौंतरीबारे त पत्तो पाउन सकिएन । तर एउटा कुरा चाहिँ के सत्य हो भने अहिले पनि त्यो खेत तिमिल्सिनाहरुकै नाममा छ ।
Post a Comment