राजाको सानो गल्तीले दरबार जल्यो
एकादेशका राजा बाटोमा हिँड्दै गर्दा एक ठाउँमा मह खान बसे। असावधानीले गर्दा राजाको प्यालाबाट एक थोपा मह चुहिएर भुइँमा खस्यो। राजा त राजमहलतर्फ लागे। तर त्यो महलाई चाट्न झिंगा भन्किन थाले। झिंगाको गोलो देखेर छेपारोलाई लोभ लाग्यो र ऊ झिंगालाई खान जाइलाग्यो। छेपारोलाई देखेर बिरालो लोभियो। छेपारो मार्न बिरालो तम्सियो। बिरालोलाई देखेर दुई–तीनवटा कुकुर बिरालो मार्न दौडिए। बाठो बिरालो कुकुरहरू देख्नासाथ टाप कस्यो। कुकुरहरू आपसमा झगडा गरेर घाइते भए। कुकुरहरूको झगडा देखेर मालिकहरू जम्मा भएर आ–आफ्ना कुकुरको समर्थन गर्दै एकापसमा दोष देखाउन थाले। कुकुर मालिकहरूको झगडा दुई समूहमा विभाजित भयो। सारा सहरमा बबाल मच्चियो, हूलदंगा गर्नेहरूले आगजनी एवं लुटपाट गरे। सहर दन्दनी बल्न थाल्यो। सरकारी खजानासमेत लुटियो। सहरभरि उठेको भीडले राजदरबारमा समेत आगो लगाइदियो। राजाले यति ठूलो उपद्रोको कारण सोधे। मन्त्रीहरूले जाँच र छानबिन गरेर राजालाई प्रतिवेदन दिए। प्रतिवेदनअनुसार राजाले सानो गल्ती गरेर महको थोपा भुइँमा खसाउँदा यति ठूलो दंगा मच्चियो। धेरै ठूलो नोक्सानीपछि राजाले पनि महसुस गरे कि सानो गल्तीले गर्दा मानिसको लागि कति ठूलो संकट उत्पन्न हुँदोरहेछ भन्ने कुरा।
Post a Comment