0


बचाउनै गाह्रो भो रेशमका प्यारेलाइन
रेशम कीराको प्योरलाइन उत्पादन गर्न काभ्रेको खोपासीमा खुलेको देशको एकमात्र केन्द्र आर्थिक संकटमा परेको छ । केही वर्ष अघिसम्म जापान र कोरियाबाट रेशम किराको फुल ल्याएर किरा निकाल्नुपर्थ्यो । अहिले भने जापान, कोरिया, लाओस, भारत, पाकिस्तान र बंगलादेशबाट ल्याइएका प्योरलाइनबाट नेपालमै रेशम किराको फुल र किरा उत्पादन हुँदै आएको छ ।

तर, मित्रराष्ट्रले सहयोग दिन छाडेको र सरकारले पनि वर्षेनी वजेट कटौती गर्दै लगेकाले प्योरलाइन वचाउन नै समस्या पर्न थालेको शाखाका कर्मचारीहरु बताउँछन् । प्योरलाइनलाई आवश्यकता अनुसारको तापक्रममा राखेर जोगाउन दाताले दिएका ५ वटा कोल्ड रुममध्ये ३ वटा बिग्रिएका छन् । बाँकी दुईवटा पनि जेनतेनमात्र चल्दै आएका छन् । जाइकाले दिएको इन्क्युबेटरसमेत बिग्रेको छ । सुसुप्त अवस्थाका किरालाई तोकिएको तापक्रममा नराखिए गुणस्तरीय किरा निकाल्न नसकिने प्राविधिकहरु बताउँछन् । शाखामा रहेका उपकरणहरुको मर्मत र फेरबदल नहुँदा मट्टीतेल हिटर बालेर तापक्रम बढाउनुपरेको छ । भएका ६ वटा विन्डो एयरकन्डिसनर पनि बिग्रिएका छन् । जर्मप्लाज्म वैंकका लागि जाइका र कोइकाले दिंदै आएको प्राविधिक सहयोग, उपकरणमा दिंइदै आएको अनुदानमात्र होइन, सरकारी वजेट समेत वर्षेनी कटौंती हुँदै गएको छ । जसका कारण रेशम किराको फुलमा बल्ल आत्मनिर्भर बनेको नेपालले फेरि विदेशीकै मुख ताक्नु पर्ने अवस्था नआउला भन्न सकिंदैन । यसैबीच कृषि विकास मन्त्रालयले रेशम खेती विकास शाखामा रहेको कोल्डरुम मर्मतका लागि ६ लाख रुपैयाँ उपलव्ध गराएको छ । सो रकमबाट केही दिनभित्र कोल्डरुम मर्मत गरिने शाखा प्रमुख सोमप्रसाद घिमिरेले बताउनुभयो ।

Post a Comment

 
Top