लागुपदार्थबाट केटा केटीहरुलाई टाढा राख्न अभिभावक आँफै सचेत हुन जरुरि
बढ्दो लागु औषध दुर्व्यसनबाट युवा पुस्तालाई बचाउन सबै भन्दा बढि अभिभावक सचेत हुनु पर्ने कुरा चितवनको रत्ननगरमा आयोजित एक कार्यक्रममा सहभागिले बताएका छन्।
अन्तरास्ट्रिय युवा दिवसको अवसरमा लियो क्लब अफ रत्ननगरले आयोजना गरेको युवा, कुलत र समाधान बिषयक अन्तरक्रियात्मक गोष्ठीमा सहभागि सरोकारवालाले किशोरावस्थामा पुगेका आफ्ना सन्तानको आनीबानी निगरानी राख्नु पर्नेमा समेत जोड दिएका थिए।
कार्यक्रममा सम्बोधन गर्दै रत्न-नगर नगरपालिकाका नगर प्रमुख नारायण बनले पुर्बी चितवन लागु औषधको ट्रान्जिट क्षेत्र बन्न पुगेकोमा दुख व्यक्त गर्दै भावी दिनमा यसबाट हुन सक्ने क्षति ख्यालमा राखेर त्यसबाट बचाउन सबै मिलेर अघाडी बढ्नु पर्ने कुरामा जोड दिनु भयो । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी उपरीक्षक नकुल पोखरेलले चितवनमा गएको आर्थिक वर्षमा ३८ ओटा लागु औषधका मुद्दा दर्ता भएको र त्यसमा ६४ जना पक्राउ परेको तथ्यांक प्रस्तुत गर्दै प्रहरीले गरिरहेको प्रयासमा सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाले नगरपालिकाले यसका सरोकारवाला संस्था सँगको सहकार्यमा लागूऔषध दुर्व्यसन न्युनिकरणका लागि पहल गरिरहेको र आगामी दिनहरुमा पनि यो कार्यलाइ जारी राख्ने प्रतिबद्दता व्यक्त गर्नु भयो । शैक्षिक संस्थाका तर्फबाट आफ्ना विचार राख्दै पन्चकन्या उच्च मा.बि. जयमंगलाका प्राध्यापक मेघनाथ दुवाडीले बिद्यालयको पठन पाठन शुरु हुने समय अघि , खाजा खाने समय र कक्षा छुटेपछि विद्यार्थीहरु कहाँ जान्छन् के गर्छन भन्ने कुराको ख्याल राख्न अत्यन्त जरुरि रहने कुरा औलाउनु भयो । कम्पाउण्डको व्यवस्था नभएका बिद्यालयमा यस्ता समस्या बढी भएको उहाँको दावी थियो । लियो क्लब अफ रत्ननगरकि अदक्ष्य लुसी जोशीको अध्यक्षतामा भएको कार्य-क्रममा संस्थागत बिद्यालय अभिभावक संघका अध्यक्ष राजेन्द्र न्यौपाने , लियो क्लबका क्षेत्रीय संयोजक सुजन अधिकारी, न्यु सेन्चुरी क्लबका अध्यक्ष सुर्यमान तामाङ्ग लगाएतले बोल्नु भएको थियो ।

Post a Comment