0

 सुकुम्बासी, दलित, विपन्न परिवारले बगर
देबनारा
सुख्खा मौसममा बालुवा उड्ने र वर्षायाममा बाढीको भेल बग्ने कमला नदीको बगरमा यस वर्ष सुकुम्बासी, दलित, विपन्न वर्गले ६ करोडको तरभुजा र तरकारी उत्पादन गरेको छ ।भोक्राहा, चिकना र भेडियाका सुकुम्बासी, दलित, विपन्न परिवारले बगरमा गरेको खेतीबाट उक्त मूल्य बराबरको तरभुजा र तरकारी उब्जाएर बिक्री गरेको हो । भोक्राहाका १ सय २४, चिकनाका २ सय २४ र भेडियाका १ सय ७ गरी कुल ४ सय ५५ सुकुम्बासी, दलित, विपन्न परिवारले बगर खेती गरेको जिल्ला उद्यमी समूह संघ सिरहाले जनाएको छ ।

जिल्ला उद्यमी संघ सिरहाका कार्यक्रम संयोजक जितेन्द्र मोरबैताले भने, 'कमला नदीको १ सय १३ बिघा बगरमा सुकुम्बासी, दलित, विपन्न परिवारले तरभुजा र तरकारी खेती गरेका थिए ।' बगर खेतीले उक्त तीनवटै गाविसका सुकुम्बासी, दलित, विपन्न परिवारको जीवनस्तरमा परिवर्तन आएको छ । 'उक्त गाविसहरूका सुकुम्बासी, दलित, विपन्न परिवार वैदेशिक रोजगारीमा जान छोडेका छन्,' चिकनाका पूर्व गाविस अध्यक्ष मुसहरु यादवले भने, 'वैदेशिक रोजगारबाट फर्केर आउनेहरू पनि बगर खेतीमा लागेका छन् ।'बगर खेती गर्ने भोक्राहा-५ का मैनिया कापर वैदेशिक रोजगारीमा तीन वर्ष साउदी अरेबियामा बिताएर घर फर्केपछि बगर खेतीमा लागेका हुन् । कापरले भने, 'साउदीमा मासिक १० हजार नेपाली रुपैयाँ बचत हुन थियो तर बगर खेतीबाट यस वर्ष नौ महिनामा एक लाख ६० हजार मूल्य बराबरको तरभुजा बिक्री गरें ।' यस वर्ष १० कठ्ठा बगरमा तरभुजा खेती गरेको उनले भने ।बगर खेतीमा भएको आम्दानीले दुई कोठा इँटाको घर र चर्पी निर्माण गरेको उनले भने ।यस्तै चिकनाका रामसुफल सदायले एक बिघा बगरमा लगाएको तरभुजा र फर्सी बिक्री गरेर दुई लाख ३० हजार आम्दानी भएको बताए । उनले बगर खेतीबाट भएको आम्दानीले वर्ष दिन पुग्ने अन्न खरिद गरेर राखेको बताए । उनले बगर खेतीको आम्दानीले आफूहरूलाई सुकुम्बासीबाट जमिनदार बनाएको बताए । बगर खेतीले नै अहिले तीन छोरा र एक छोरीलाई स्थानीय निजी विद्यालयमा पढाइरहेको उनले भने ।स्थानीय भोक्राहा-१ का लगनदेवीसिंह दनुबारनीले बगर खेतीमा भएको आम्दानीले यहाँका सुकुम्बासी, दलित, विपन्नको झुप्रो घर जस्ताको घरमा परिणत हुँदै गएको बताए । 

Post a Comment

 
Top